काठमाडौं ।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड राष्ट्रिय कर दिवस २०८३ को अवसरमा राष्ट्रियस्तरको सम्मानबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा कम्पनी सम्मानित भएको हो।
“कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले विभिन्न १९ विधामा प्रदान गरेको सम्मानअन्तर्गत इम्पेरियल सेक्युरिटिजलाई उक्त सम्मान प्रदान गरिएको हो।
मंगलबार आयोजित विशेष समारोहमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए।
वि.सं. २०६८ भदौ १५ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको इम्पेरियल सेक्युरिटिजले स्थापनाकालदेखि नै लगानीकर्तालाई विश्वसनीय तथा गुणस्तरीय धितोपत्र कारोबार सेवा प्रदान गर्दै आएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र र नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरी आफ्नो सेवा सञ्चालन गर्दै आएको हो।
हाल कम्पनीले पूर्ण सेवा धितोपत्र दलाल सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा तथा मार्जिन कारोबार सुविधालगायतका सेवा प्रदान गरिरहेको छ। काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालयका अतिरिक्त भक्तपुरको सूर्यविनायक, धादिङबेंसी, पोखरा, नेपालगञ्ज र वीरेन्द्रनगरमा शाखा कार्यालय सञ्चालन गरी कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ। साथै, अनलाइन कारोबार प्रणालीमार्फत देश तथा विदेशमा रहेका लगानीकर्तालाई समेत सेवा प्रदान गर्दै आएको छ।

दोस्रो बजारको कारोबारलाई थप चलायमान बनाउने र लगानीकर्ताको क्रयशक्ति बढाउने उद्देश्यले कम्पनीले मार्जिन कारोबार सुविधाअन्तर्गतको ब्याजदर तथा सेवा शुल्कसमेत घटाएको जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम एक महिनादेखि अधिकतम १२ महिनासम्मका लागि वार्षिक ६.९५ देखि ७.९५ प्रतिशतसम्मको ब्याजदरमा मार्जिन कारोबार कर्जा सुविधा प्राप्त गर्न सक्छन्।
कम्पनीले प्राप्त गरेको सम्मानलाई व्यावसायिक निष्ठा, वित्तीय अनुशासन, पारदर्शिता र जिम्मेवार व्यावसायिक अभ्यासको प्रतिफलका रूपमा लिएको छ। धितोपत्र दलाल व्यवसायअन्तर्गत राष्ट्रियस्तरको यस्तो सम्मान प्राप्त हुनु कम्पनीका लागि विशेष उपलब्धि भएको पनि कम्पनीले जनाएको छ।
यस उपलब्धिका लागि कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय, लेखापरीक्षक, कानुनी सल्लाहकार तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ।
सम्मानबाट थप उत्साहित भएको कम्पनीले आगामी दिनमा सुशासित व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै लगानीकर्ताकेन्द्रित, पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै नेपालको पूँजीबजारको विकास, विस्तार र सुदृढीकरणमा निरन्तर योगदान पुर्याउने जनाएको छ।











प्रतिक्रिया