प्रकृतिले बेलाबेलामा दिएको संकेतलाई विश्लेषण गर्ने हो भने विनाशको संकेत हो कि भन्ने लाग्नु स्वाभाविक नै हो । नेपाललगायत विश्वमा आएका विपत्ति– २०७२ सालको महाभूकम्प, २०७६।७७ सालको कोरोना महामारी, परिकल्पना नगरिएको गतसालको जेन्जी आन्दोलन र अहिले गत भदौ १० गते नेपालले भोगेको विनाशकारी प्रकोपको विश्लेषणले विनाशको मार्गनिर्देश गरिरहेको आभास हुन्छ । विश्वमा भएको विध्वंसकारी वातावरण र त्यसले निम्त्याएको आर्थिक मन्दीबाट उँभो नलाग्दै विपत्ति थपिँदै गएका छन् । यसको जवाफ आध्यात्मिक एवं भौतिक दुवै दृष्टिकोणले खोज्न जरुरी छ ।
अर्थशास्त्रीय सिद्धान्तबमोजिम शुभारम्भ भएको उन्नति विकासका कारण उच्च सफलतापश्चात् पुन तल झर्ने प्रक्रिया हुन्छ । बालक जन्मन्छ अनि क्रमशः वयष्क, युवा, वृद्ध भई आखिर मृत्यवरण गर्छ । यसरी नै प्राकृतिक रुपमा सृष्टि भएका वस्तु वा मानिसद्वारा निर्मित भौतिक वस्तुसमेत चरम विकसित भएपछि विनाशतिर उन्मुख हुन्छ । यसको अन्त्यपछि पुनः विकास शुभारम्भ हुन्छ । यस चक्रलाई कसैले पनि आजसम्म नकारेर सम्भव छैन । प्रकृतिको नियम विपरीत हामीले केही गर्न सक्दैनौँ तर प्रकृतिलाई बुझेर सोही बमोजिम व्यवस्थापन र सचेतना अपनायौँ भने विपत् टर्न सक्छ ।
विभिन्न कालखण्डमा गरिएको प्रकृति विपरीत कर्मले निम्त्याएको परिणाम विनाश बन्न सक्छ । किन कसरी भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो । तथापि यथार्थ सत्य स्वीकार्न हामी सबै बाध्य छौंं । हामीले बनाएका सामाजिक, धार्मिक र परिबन्धित नीति–नियमभन्दा प्रकृतिको नियम फरक छ । हामीले बनाएका अप्राकृतिक आविष्कार र त्यसले निम्त्याएको प्रतिकार अदृश्यमा प्रतिस्पर्धी रहेको जो–कोहीले महसुस गर्न नसक्नु स्वाभाविक हुन्छ । यस्ता विषयमा विभिन्न समयमा हामीले चिन्तन गर्न आवश्यक छ । विषय विशेषज्ञहरुबीच आवश्यक छलफल गराई समस्या र समाधानका वैकल्पिक उपायहरु पत्ता लगाएर समयमै समाधानका लागि कार्यान्वयन गर्नुपर्छ । अनि केही हदसम्म विपत् रोकिन सक्छ ।
भोटेकोशीमा आउने बाढीका विषयमा चीनसँगका प्राकृतिक, भौगोलिक अवस्था र त्यसको सम्बन्धका प्रभावका बारेमा हामीले समयमा नै आवश्यक अनुगमन गरेर दूरदृष्टि राख्ने कार्य गरेको भए यति धेरै क्षति भोग्न नपर्ने हुनसक्थ्यो । नेपालसँग जोडिएका अन्य देशका सिमानासंँगको भौगोलिक अवस्था र तिनले भविष्यमा पार्ने प्रभावका बारेमा विश्लेपण गरी अगाडि नै व्यवस्थित गरिनु जरुरी छ । सीमित स्रोत र साधनका कारण यस विषयमा गहिरो अध्ययन एवं विश्लेषण गर्न अप्ठ्यारो भएको हुनसक्छ ।
तथापि अहिले विपत् आएपछिको धनजनको क्षतिभन्दा कम लागतमा उक्त व्यवस्थापन गर्न सकिन्थ्यो । एकले अर्कोलाई सहयोग गर्ने बानी हामीमा न्यून भएको पाइन्छ । यो त सरकारले गरिदिनुप¥यो नि भनेर बस्दा आजको विपत्तिमा हामीले आफन्त र धन सबै गुमाएका छौं । प्रमुख दायित्व सरकारको भए पनि सहायक दायित्व हामी सबै नागरिकको पनि हो । आफ्नो आँगनअगाडिको फोहोर पनि सरकारले बढार्छ भनेर लथालिंग छोडी सडक जाम गर्ने हाम्रो बानीले असभ्य संस्कार निम्त्याएको हो भन्ने मनन गर्नुपर्छ । आफ्नो जिम्मेवारी जानेर समयमा नै गर्ने हो भने कार्यान्वयन पक्ष सबल बन्छ । त्यसका लागि सबैमा सकारात्मक भावना चाहिन्छ ।
यसपालिको विपत्ति प्राकृतिक प्रकोप भए पनि छिमेकी मुलुकसँगको सहकार्य र सद्भावले यसबाट हुने क्षति न्यून गर्न सकिन्थ्यो । यस विषयमा दुई देशले अगाडि नै छलफल गरी हिमताल फुटेमा आउने समस्याको रोकथाम कसरी गर्ने भन्नेतिर किन लागिएन भन्ने प्रश्न उब्जनु स्वाभाविक हो । समयमै चिन्तन नगर्दाको परिणाम आज देशले भोगनुपरेको छ । यस्ता विषयमा समयमा नै सरकारलाई सल्लाह सुझाव नागरिकले दिन सक्ने व्यवस्था प्रजातान्त्रिक प्रणालीमा छैन र ? कि कसैको पनि चासोको विषय बनेन ।
पृथ्वीमा मात्र होइन, ब्रह्माण्डमा भएका सबै सृष्टि प्रकृतिभित्र पर्दछन् । अति गरे खति हुन्छ भन्ने उखान त सबैले सुन्नुभएको छ । हामीले जान–अन्जानमा गरेका कर्मले विनाश निम्त्याउन बल पुगेको हो । यस सत्यतालाई स्वीकारेर पुनः सत्कर्ममा लाग्ने हो भने प्राकृतिक विनाशलाई न्यूनीकरण गर्न सकिन्छ । सद्बुद्धि प्राप्त भयो भने सचेतनाले समयअगावै व्यवस्थापन गर्न सकिन्छ । हामीभित्रको रिसराग, वैरभाव मेटाएर सद्बुद्धि धारण गर्न नजान्दा विनाश निम्तिएको यथार्थलाई कमैले मनन गर्लान् । हामीले प्रकृतिविरुद्ध जानुहुँदैन, यदि गयो भने फेरि यस्तै विपत्ति निम्तिन सक्छ ।
मनुष्यलाई चेतनशील प्राणी भनी सर्वश्रेष्ठ स्थान दिइएको छ । तर मनुष्य विनाश उन्मुख बन्दै गयो । विश्वका थुप्रै देशमा शीतयुद्ध भइरहेको अवस्था छ । कतिपय देशमा एकले अर्कोलाई ध्वस्त पारेर आफ्नो कब्जामा गराउन युद्ध लडिरहेका छन् । मनुष्यले पशुवत् व्यवहार देखाउन लाग्यो । सबै प्राणी समान हुन् भन्ने यथार्थ सत्यलाई बिर्संदा वैरभाव उत्पन्न भएको छ । हामी मिलेर एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भाव नै मेटिँदा विनाश निम्तिएको छ । अहिले ग्लोबल वार्मिङको समस्या निम्तिनुमा मानिस नै दोषी छ । हिमपहिरो आएर विपत्ति आउनु ग्लोबर वार्मिङको प्रभाव पनि एक हो । मनुष्यमा आएको कुबुद्धि, अहमता र घमण्डले विनाश निम्त्याइरहेको छ भन्दा फरक पर्दैन ।
यसरी आइपर्ने विनाश रोक्न आफूले गरेको अपराध आफैँले स्वीकार गरी सुध्रनुपर्छ । सबैले लोभ, मोह, अहंकार, घमण्ड र अति कामवासनासमेत त्याग गर्नुपर्छ । सन्त महन्त हुँ भन्नेले नीतिगत आचरणको पालना गर्नुपर्छ । महाभारत, रामायणजस्ता प्राचीन कथाहरुमा पनि विनाश हुनुपुर्व अन्याय, अत्याचार र व्यभिचारले पराकाष्ठा नाघेको कुरा आउँछ । यसले युद्ध निम्त्याएको र युद्धपश्चात् सद्बुद्धि पलाएको हामी पाउँछौं । यी कथामा सुसंस्कार, सभ्यता, समानता र न्यायविना शान्ति नहुने चित्रण गरिएको पाइन्छ ।
पौराणिक कथाहरुमा व्यभिचारले विनाश निम्त्याएको र सुसंस्कारले विकास गरेको उल्लेख पाइन्छ । हुन त प्रकृति कसैको वशमा हुँदैन भनिन्छ तर मानव सत्कर्मले प्राकृतिक प्रकोप केही हदसम्म रोक्न सकिन्छ । त्यसैले प्रकृतिको नियम पालना गरेमा आउन सक्ने विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।











प्रतिक्रिया