यो शीर्षकले प्राङ्गारिक कृषि प्रणालीलाई कृषि–पारिस्थितिकी माटोको सूक्ष्म जैविक पुनर्बहाली र प्राकृतिक चिकित्साशास्त्रको ‘आहार नै औषधि’ भन्ने वैज्ञानिक सिद्धान्तसँग जोड्दै प्राज्ञिक ज्ञान र जनस्वास्थ्य चेतनाको अन्तरसम्बन्धलाई स्थापित गर्छ । साथै, यसले रासायनिक निर्भरता घटाएर जैविक विविधताको संरक्षण र हरित अर्थतन्त्रमार्फत दिगो समृद्धि हासिल गर्ने चक्रीय कृषि प्रणालीको वैज्ञानिक कार्यढाँचालाई प्रतिविम्बित गर्छ ।
कृषि केवल माटोमा बीउ रोपेर अन्न उत्पादन गर्ने विशुद्ध प्राविधिक कार्य मात्र नभएर यो त समाजको जीवनशैली, स्वास्थ्य परम्परा, पर्यावरणीय चक्र र उपभोग संस्कृतिको एक सघन ऐक्यबद्धता हो । विगत केही दशकदेखि हरित क्रान्तिका नाममा भित्रिएका अत्यधिक रासायनिक मल, कीटनाशक विषादी र विकासका गलत अभ्यासहरूले माटोको प्राङ्गारिक शक्तिलाई ध्वस्त पारेका छन् भने मानव शरीरलाई विभिन्न प्रकारका जटिल र दीर्घरोगहरूको क्रीडास्थल बनाएका छन् ।
यस विषम परिस्थितिमा नवलपुरको देवचुली नगरपालिकालाई रासायनिक मुक्त प्राङ्गारिक नगरका रूपमा रूपान्तरण गर्नु केवल प्राविधिक कार्यक्रम मात्र होइन, यो त सम्पूर्ण देवचुलीवासीको समग्रमा देशकै स्वास्थ्य, पर्यावरण र सामाजिक–आर्थिक चेतनाको पुनरुत्थान गर्ने बृहत् व्यावहारिक र बौद्धिक आन्दोलन हो । पुस्तौँदेखि जरा गाडेर बसेको रासायनिक निर्भरताबाट प्राङ्गारिक खेती प्रणालीतर्फ फर्कनु सजिलो हुन्न । यसमा मानिसको सोच्ने शैली, मनोवृत्ति, जोखिम मोल्ने क्षमता र दैनिक जीवनशैलीमै सकारात्मक रूपान्तरण आउनुपर्छ ।
देवचुलीमा जैविक कृषि अभियानको शुरुआत कुनै काल्पनिक सिद्धान्तमा आधारित नभएर यसै माटोमा स्थापित र सफलतापूर्वक सञ्चालित सामुदायिक प्राकृतिक चिकित्सालयको सबल, व्यावहारिक र प्रयोगात्मक धरातलमा अडिएको छ । प्राकृतिक चिकित्सा र जीवनशैली चिकित्साको आधारभूत मर्म नै आहार नै औषधि हो भन्ने दार्शनिक मान्यतामा आधारित हुन्छ । जबसम्म भान्सामा भित्रिने खाद्यान्न, सागसब्जी, फलफूल र दुग्धजन्य पदार्थहरू रासायनिक विषादी र कृत्रिम हर्मोनबाट पूर्णतः मुक्त हुँदैनन्, तबसम्म मानिसलाई पूर्ण निरोगी बनाउन सम्भव हुँदैन ।
सामुदायिक प्राकृतिक चिकित्सालयले विगत लामो समयदेखि हजारौँ बिरामीहरूलाई विनाऔषधि केवल प्राकृतिक सात्त्विक आहार, जलचिकित्सा, योग र सन्तुलित जीवनशैलीका माध्यमबाट पुनर्जन्म दिएर प्राङ्गारिक खेती र सात्त्विक भोजनको असाधारण शक्तिलाई प्रत्यक्ष रूपमा प्रमाणित गरिसकेको छ । हजारौंले औषधिको सेवनबाट मुक्ति पाएका छन् । तसर्थ, देवचुलीको जैविक कृषि अभियानको मुख्य पूर्वाधार र वैचारिक उत्प्रेरक यही चिकित्सालय हो, जसले कृषि र जनस्वास्थ्यलाई एउटै सूत्रमा बाँध्ने ऐतिहासिक दायित्व बोकेको छ ।
यस जैविक कृषि अभियानलाई नगरको नीतिगत तह र किसानको खेतबारीसम्म जोड्न सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष र महाप्रबन्धकको भूमिका बहुआयामिक हुन्छ ।
अल्बर्ट बान्डुराको सामाजिक सिकाइ सिद्धान्त अनुसार मानिसले समाजका अनुकरणीय र सम्मानित व्यक्तित्वहरूको व्यवहार र विचारको अवलोकन गरेर मात्र आफ्ना पुराना धारणा बदल्छ । अध्यक्षले आफ्नो सामाजिक प्रतिष्ठा, नैतिक प्रभाव र वैचारिक स्पष्टताको प्रयोग गरी नगरपालिकाहरू, विश्वविद्यालयहरू र अनुसन्धान संस्थाहरूसँग उच्चस्तरीय समन्वय स्थापित गर्नुपर्छ । खासगरी सामुदायिक प्राकृतिक चिकित्सालय परिवारले नगर प्रमुख र जनप्रतिनिधिहरूलाई जैविक कृषिको महत्व बुझाउँदै यसलाई नगरको सर्वोच्च प्राथमिकतामा राख्न र नीतिगत स्वीकृति दिलाउन रणनीतिक नेतृत्व प्रदान गर्नुपर्छ ।
अर्कोतर्फ, चिकित्सालयका महाप्रबन्धक यस अभियानका व्यावहारिक सञ्चालक, प्राविधिक संयोजक र बजार सुरक्षाका मुख्य प्रबन्धक हुन् । व्यवहारवादी अर्थशास्त्रका अनुसार मानिसले नयाँ व्यवहार अपनाउन नमान्नुको मूल कारण सम्भावित आर्थिक नोक्सानीको डर हो । किसानहरूमा जैविक खेती गर्दा उत्पादन घट्ने वा उत्पादन भएको वस्तुले उचित बजार नपाउने भन्ने गम्भीर संशय हुन्छ । महाप्रबन्धकले चिकित्सालयको तर्फबाट पूर्व–निर्धारित खरिद ग्यारेन्टी प्रणाली लागू गरेर किसानको यो डरलाई पूर्ण रूपमा समाप्त पार्न सक्छन् ।
चिकित्सालयमा नियमित रूपमा उपचाररत सयौँ बिरामीहरू र कार्यरत कर्मचारीहरूका लागि आवश्यक पर्ने दैनिक सागसब्जी, खाद्यान्न र दुग्धजन्य पदार्थहरू स्थानीय जैविक किसानहरूबाटै न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने दीर्घकालीन व्यवस्था मिलाउँदा किसानमा व्यावहारिक सुरक्षाको अनुभूति हुन्छ । यसका साथै महाप्रबन्धकले चिकित्सालय परिसरमा प्राङ्गारिक मल उत्पादन, प्रयोगशाला परीक्षण र नमुना जैविक कृषिसम्बन्धी प्रत्यक्ष प्रयोगात्मक सिकाइ केन्द्रको व्यवस्थापन गर्नुपर्छ ।
जैविक कृषिमा मानवीय व्यवहार रूपान्तरण गर्न विभिन्न व्यवहारवादी सिद्धान्तहरूको एकीकृत प्रयोग आवश्यक हुन्छ । रोजर्सको नवप्रवर्तनको प्रसार सिद्धान्तअनुसार समाजमा कुनै पनि नयाँ विचार वा प्रविधिलाई शुरुमै सबैले स्वीकार गर्दैनन्, बरु शुरुमा केही सीमित विचारशील व्यक्तिहरूले यसलाई अपनाउँछन् र पछि मात्र आम जनताले यसको अनुकरण गर्छन् । यसै गरी अजजेनको नियोजित व्यवहारको सिद्धान्तले स्पष्ट पार्छ कि मानिसको व्यवहार उसको मनोवृत्ति, सामाजिक दबाब र आफ्नो क्षमताप्रतिको आत्मविश्वाशमा निर्भर हुन्छ ।
देवचुलीमा जैविक कृषि अभियान सञ्चालन गर्दा किसानहरूको मनोवृत्तिमा परिवर्तन ल्याउन, प्राङ्गारिक खेतीलाई सामाजिक प्रतिष्ठाको विषय बनाउन र प्राविधिक सहयोगमार्फत उनीहरूको आत्मविश्वास बढाउन ध्यान दिनुपर्छ । यसका लागि मानिसलाई प्रत्यक्ष बन्देज नलगाई सूक्ष्म तरिकाले सकारात्मक निर्णयतर्फ डो¥याउने थेलरको नज सिद्धान्तको प्रयोग गर्दै रासायनिक मलको अनुदान कटौती गर्ने र प्राङ्गारिक मल तथा बीउमा सहज पहुँच पु¥याउने नीति लिनुपर्छ ।
देवचुली र यसका आसपासका क्षेत्रमा जीवनको लामो समय अध्यापन, अनुसन्धान र सामाजिक सेवामा बिताएका सेवानिवृत्त विषयगत विज्ञहरू ठूलो संख्यामा बसोबास गर्छन् । यी अग्रजहरू समाजका निष्कलङ्क र अपार अनुभवले भरिएका ज्ञान बैंक हुन् । यी प्राज्ञिक व्यक्तित्वहरूलाई प्राज्ञिक परामर्श तथा अनुसन्धान परिषद्मा संगठित गरी उनीहरूको बौद्धिक पूँजीलाई कृषि रूपान्तरणमा परिचालन गर्न सकिन्छ । सेवानिवृत्त बौद्धिक समुदायले सिद्धान्त र व्यवहारलाई जोड्दै कलम र कोदालोको नयाँ संस्कृति विकास गर्न सक्छन् ।
उनीहरूले भाषण गर्ने होइन, किसानका खेतबारीमै पुगेर उनीहरूसँगै कोदालो चलाउँदै माटोको पीएच मान, प्राङ्गारिक पदार्थको अवस्था, रैथाने बीउको संरक्षण र प्राङ्गारिक खेतीको आर्थिक सम्भाव्यताबारे अनुसन्धान र प्राविधिक मार्गदर्शन गर्नुपर्छ । सेवानिवृत्त शिक्षकहरूको सञ्चार क्षमता र शिक्षण अनुभवलाई देवचुलीका विद्यालयहरूमा पढ्दै सिक्दै अभियान चलाउन र वडा–वडाका किसान समूहहरूलाई प्राङ्गारिक खेतीका सिद्धान्तबारे प्रशिक्षित गर्न प्रयोग गर्न सकिन्छ ।
जब समाजका सम्मानित शिक्षकहरू स्वयं जैविक कृषिको प्रवद्र्धनमा लाग्छन्, तब किसानहरूमा यस अभियानप्रति गहिरो जनविश्वास पैदा हुन्छ । प्राज्ञिक वर्गले अभियानको निष्पक्ष अनुगमन, गुणस्तर जाँच र सामाजिक परीक्षण गरी कार्यक्रमलाई राजनीतिक प्रभावबाट मुक्त राख्न संरक्षकको भूमिकासमेत निर्वाह गर्नुपर्छ । प्राज्ञिक वर्गको यो निःस्वार्थ बौद्धिक योगदानले देवचुलीको जैविक कृषि अभियानलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन बनाउन ठोस जग प्रदान गर्नेछ ।
कुनै पनि सार्वजनिक अभियानलाई वैधानिक अधिकार, बजेट र स्थायी संयन्त्रको समर्थनविना दीर्घकालीन बनाउन सकिँदैन । तसर्थ, देवचुलीका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू लगायतलाई यस अभियानको नीतिगत र वित्तीय चालकका रूपमा परिचालन गरिनुपर्छ । नगर प्रमुखको अध्यक्षतामा नगरसभाबाट जैविक कृषि प्रवद्र्धन दीर्घकालीन गुरुयोजना स्वीकृत गराई नगरपालिकाको कुल कृषि बजेटको कम्तीमा ४० प्रतिशत हिस्सा जैविक मल उत्पादन, गड्यौले मल खाडल निर्माण, रैथाने बीउ संरक्षण र प्राङ्गारिक प्रमाणीकरणमा विनियोजन गरिनुपर्छ । जनप्रतिनिधिहरूले आफ्ना वडाहरूमा रासायनिक विषादीको बिक्री–वितरणमा क्रमिक बन्देज लगाउने र प्रत्येक वडामा कम्तीमा एउटा पूर्ण जैविक कृषि क्लस्टर निर्माण गर्ने लक्ष्य तोकेर राजनीतिक नेतृत्व प्रदान गर्नुपर्छ ।
नगरपालिकाका प्रशासनिक कर्मचारीहरू र कृषि प्राविधिकहरू यस अभियानका प्रत्यक्ष कार्यान्वयनकर्ता हुन् । उनीहरूलाई परिचालन गर्न कर्मचारीहरूको आन्तरिक उत्प्रेरणा जगाउनुका साथै उनीहरूको मुख्य कार्यसम्पादन सूचकलाई जैविक कृषिका लक्ष्यहरूसँग जोडिनुपर्छ । कृषि प्राविधिकहरूलाई कागजी प्रतिवेदन लेखनमा मात्र सीमित नराखी खेतबारीमै पुगेर गड्यौले मल, जीवामृत, बीजामृत र निमास्त्रजस्ता जैविक मल र कीटनाशक बनाउन किसानलाई प्रत्यक्ष सहयोग गर्ने जिम्मेवारी दिइनुपर्छ । कर्मचारी संयन्त्रले रासायनिक विषादी र प्रतिबन्धित रसायनहरूको अवैध बिक्री रोक्न निरीक्षण संयन्त्रलाई सक्रिय बनाउनुपर्छ । जब प्रशासनिक संयन्त्र र प्राविधिकहरू किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा दिन्छन्, तब किसानमा प्राङ्गारिक खेती अपनाउने दृढ सङ्कल्प सिर्जना हुन्छ ।
स्थानीय संघसंस्था, कृषि सहकारी, आमा समूह र युवा क्लबहरूलाई अभियानको सामाजिक जगका रूपमा परिचालन गरिनुपर्छ । कृषि सहकारीहरूलाई जैविक उपजको संकलन, ग्रेडिङ, प्रशोधन र बजार व्यवस्थापनको जिम्मेवारी दिइनुपर्छ । आमा समूहहरूलाई घरको जैविक फोहोरबाट कम्पोस्ट मल बनाउन, कौसी तथा करेसाबारीमा जैविक तरकारी खेती गर्न र घरपरिवारको पोषण सुधारका लागि परिचालन गरिनुपर्छ । युवा क्लबहरूलाई जैविक कृषिलाई आधुनिक सूचना प्रविधि, ई–कमर्स र युवा उद्यमशीलतासँग जोड्न उत्प्रेरित गर्नुपर्छ । जब समाजका यी सम्पूर्ण सामुदायिक संरचनाहरू एउटै लक्ष्यका लागि क्रियाशील हुन्छन्, तब जैविक कृषि अभियानले एउटा विशाल सामाजिक जनआन्दोलनको रूप लिनेछ ।
अभियानलाई व्यवस्थित र नतिजामुखी बनाउन पाँच चरणको कार्यान्वयन कार्य प्रणाली अपनाइनेछ । पहिलो चरणमा प्राज्ञिक परिषद् र चिकित्सालयको प्राविधिक टोलीले सम्पूर्ण नगरको माटो परीक्षण गरी रासायनिक अवशेष र जैविक अवस्थाको पाश्र्वचित्र तयार पार्नेछन् । दोस्रो चरणमा कृषि प्राविधिक, अगुवा किसान र शिक्षकहरूलाई गड्यौले मल, जीवामृत, बीजामृत र निमास्त्रजस्ता जैविक मल र कीटनाशक बनाउन गहन प्राङ्गारिक कृषि तालिम दिइनेछ र वडा–वडामा कम्पोस्ट प्लान्टहरू स्थापना गरिनेछ ।
तेस्रो चरणमा प्राकृतिक चिकित्सालय वरपरका क्षेत्र र उपयुक्त वडाहरूलाई नमुना जैविक क्लस्टरका रूपमा विकास गरी रासायनिक मलमा पूर्ण रोक लगाइनेछ । चौथो चरणमा सहभागीमूलक प्रमाणीकरण प्रणालीमार्फत प्रमाणित उपजहरूलाई चिकित्सालयले आफैँ खरिद गर्नेछ र बजारको सम्भावना पनि खोज्नेछ । पाँचौँ चरणमा देवचुली अर्गानिक ब्रान्डिङसहित उपजहरूलाई बाह्य बजारमा पठाउने र प्राकृतिक चिकित्सालयसँग जोडेर स्वास्थ्य तथा कृषि पर्यटनको दिगो मोडल विकास गरिनेछ ।
संस्थागत सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा उच्चस्तरीय नगरस्तरीय जैविक कृषि निर्देशक समिति रहनेछ, जसले नीति र बजेट स्वीकृत गर्नेछ । सेवानिवृत्त बौद्धिक वर्गको संयोजकत्वमा प्राज्ञिक तथा विशेषज्ञ परामर्श परिषद् रहनेछ, जसले अनुसन्धान, तालिम र प्रमाणीकरणको काम गर्नेछ । यस्तै सामुदायिक प्राकृतिक चिकित्सालयका महाप्रबन्धकको संयोजकत्वमा चिकित्सालय–कृषि समन्वय एकाइ रहनेछ, जसले बजार व्यवस्थापन, खरिद सम्झौता र गुणस्तर परीक्षणको सञ्चालन गर्नेछ । यी तीनै निकायहरूको सुदृढ समन्वयले अभियानलाई संस्थागत र अनुशासित बनाउनेछ ।
रासायनिक खेतीबाट जैविक खेतीमा रूपान्तरण हुँदा शुरुका केही वर्ष उत्पादनमा सामान्य ह्रास आउन सक्ने जोखिमलाई सम्बोधन गर्न नगरस्तरीय जैविक कृषि जोखिम कोष स्थापना गरेर यस कोषबाट रूपान्तरण अवधिमा किसानलाई हुन सक्ने सम्भावित नोक्सानीको सोधभर्ना दिने व्यवस्था संघीय सरकारले जिम्मा लिनुपर्नेछ । यसका साथै रैथाने गाईपालन र कृषिलाई एकीकृत गरी प्राङ्गारिक गड्यौले मल, जीवामृत, बीजामृत र निमास्त्रजस्ता जैविक मल र कीटनाशक आपूर्ति सहज बनाइनेछ । उत्पादित जैविक उपजको गुणस्तरका आधारमा उपभोक्ताले उपयुक्त मूल्य दिने गरी प्रिमियम मूल्य निर्धारण गरिनेछ र स्थानीय पर्यटन तथा प्राकृतिक चिकित्सालयसँग जोडेर खपतको स्थायी सुनिश्चितता गरिनेछ ।
निष्कर्षमा भन्नुपर्दा देवचुली नगरपालिकालाई प्राङ्गारिक नगरका रूपमा रूपान्तरण गर्ने यो प्रस्तावना केवल प्राविधिक सुधारको विषय मात्र नभएर सामुदायिक प्राकृतिक चिकित्सालयको आहार नै औषधि भन्ने सर्वकालिक चेतनाको जगमा उभिएको ऐतिहासिक सामाजिक रूपान्तरणको अभियान हो । यस अभियानले समाजका सेवानिवृत्त प्राज्ञिक वर्गको अपार ज्ञान र निष्ठा, नगर प्रमुख र जनप्रतिनिधिहरूको राजनीतिक इच्छाशक्ति र बजेट, प्रशासनिक संयन्त्रको कार्यान्वयन दक्षता र स्थानीय चिकित्सालयको बजार ग्यारेन्टीलाई एउटै सूत्रमा बाँधेको छ । सिद्धान्त र व्यवहारको यो अनुपम सङ्गमलाई निष्पक्ष, पारदर्शी र निरन्तर रूपमा अघि बढाउन सकेमा देवचुली नगरपालिका देशकै पहिलो अनुकरणीय, समृद्ध, स्वावलम्बी र निरोगी जैविक तथा स्वास्थ्य पर्यटन नगरका रूपमा स्थापित हुनेछ ।
(लेखक ढकाल देशकै पहिलो प्राकृतिक चिकित्सा विज्ञान कलेज, रजहरका प्राचार्य हुनुहुन्छ ।)











प्रतिक्रिया