यती एयरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा


काठमाडौं ।

नेपालको आन्तरिक हवाई सेवामा यती एयरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ।

कम्पनीका अनुसार २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र समग्र यात्रु अनुभवलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नु नेपाली यात्रुमाझ कम्पनीप्रतिको निरन्तर विश्वासको महत्वपूर्ण सूचक भएको यतीको दाबी छ।

नेपालको आन्तरिक हवाई बजार सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायतका चुनौतीबीच अघि बढिरहेको छ। यस्तो अवस्थामा एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनुलाई कम्पनीले महत्वपूर्ण व्यावसायिक उपलब्धिका रूपमा लिएको छ।

यतीका अनुसार यात्रु संख्या मात्र नभई सेवा विश्वसनीयता, सञ्चालन दक्षता र यात्रु अनुभवलाई पनि कम्पनीले आफ्नो व्यवसायको महत्वपूर्ण आधार मान्दै आएको छ।

यात्रु अनुभवमा सुधारमा जोड

हवाई सेवामा प्रतिस्पर्धा बढ्दै जाँदा यात्रुका लागि भाडादरका साथै टिकट बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन र समग्र यात्रु अनुभव महत्वपूर्ण बन्दै गएको कम्पनीको भनाइ छ।

यही पक्षलाई ध्यानमा राख्दै यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउँदै आएको जनाएको छ। यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई समेत थप प्रभावकारी बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको बताइएको छ।

सुरक्षालाई प्राथमिकता

यती एअरलाइन्सले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको मुख्य आधारका रूपमा राख्दै आएको जनाएको छ। कम्पनीका अनुसार सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार हुँदै आएको छ।

सुरक्षित उडानसँगै यात्रुलाई भरपर्दो र सहज सेवा प्रदान गर्नु दीर्घकालीन प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ।

पर्यटन र आर्थिक गतिविधिमा हवाई सेवाको योगदान

नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनका लागि महत्वपूर्ण माध्यम रहँदै आएको छ।

यती एयरलाइन्सले विभिन्न प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ। हवाई सेवाको पहुँचले यात्रुको समय बचत गर्नुका साथै पर्यटन तथा स्थानीय व्यवसायलाई समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ।

आगामी दिनमा सेवा सुधारलाई निरन्तरता

२८औँ वार्षिकोत्सवसँगै यती एअरलाइन्सले आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।

कम्पनीले २८ वर्षको अनुभव र लाखौँ यात्रुको विश्वासलाई आधार बनाउँदै आगामी दिनमा सुरक्षित, भरपर्दो, सहज तथा यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।