शास्त्रीय मान्यता र लोकपरम्पराको संगम मानसी लोकपर्व गौरा

470
Shares

डडेलधुरा । प्राचीन मानसखण्डको भौगोलिक इतिहास पौराणिककालीन मानिन्छ । मानसरोवरदेखि आधुनिक नेपालको गण्डक, कर्णाली, सेती, महाकाली र छिमेकी मुलुक भारतको उत्तराखण्ड, कुमाउ, गढवाल क्षेत्रको अधिकांश हिमाली र पहाडी भूभाग मानसखण्डमा पर्दछन् । प्राचीन मानसखण्डका बस्तीहरुमा हाल गौरापर्वको चहलपहल शुरु भएको छ । गौरा एकादशी व्रतदेखि आरम्भ हुने मानसी लोकपर्व गौरा आगमनको पूर्वसन्ध्यामा यहाँ एउटा अनौठो सांस्कृतिक हलचल शुरु हुन्छ । घर पोतेर सफा र चिटिक्क पारिन्छ । आँगन र बाटाघाटाहरु सफा गरी मीठो–मसिनो खाना, गच्छेअनुसार कपडाको जोहो गरिन्छ । परदेशिएकाहरु गौरा मनाउन घर फर्किन्छन् ।

गौरा पञ्चमीको दिन पञ्च अन्न भिजाइन्छ । महिलाहरू बिरुडा धुन्छन् । साउँ, धान, तिल, कुर्जो अपामार्ग, बलजस्ता पञ्च वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाएर अमूर्तभरणी सप्तमीको दिन गौरा भित्र्याइन्छ । अष्टमीको दिन गौरा मातालाई लिन महेश्वर आउने विश्वासका साथ महिलाहरू गौरा–महेश्वरलाई शिरमा राखेर खेलाउँछन् । मंगल गान, सगुन र फागसँगै अठ्यावाली गुन्जिन्छ । अठ्यावाली मनाएसँगै व्रतालु महिलाहरुले दुब्धागो लगाउँछन् । बिरुडाले घरका सदस्यको टाउको पूजा गरिन्छ ।

गौरा लोकपर्वका बेला देउडाको घेरोमा गाउँ बस्तीहरु रमाउँछन् ।गौरा शास्त्रीय गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिसँग सम्बन्धित तर सुदूरपश्चिमको स्थानीय लोकसंस्कृति, कृषिजीवन र मौखिक साहित्यले विशिष्ट रूप दिएको धार्मिक लोकपर्व हो । गौरी–पार्वतीको प्राचीन धार्मिक आख्यानलाई यहाँको समाजले आफ्नो कृषि, परिवार, नारीजीवन, भाषा र लोकविश्वाससँग जोडेर ‘गौरा’मा रूपान्तरण गरेको अनुमान गर्न सकिन्छ ।

हिन्दु धार्मिक परम्परामा गौरी पार्वतीको प्रमुख नाममध्ये एक हो । पार्वती शिवकी अर्धाङ्गिनी, हिमालयकी पुत्री र शक्ति–तत्वकी प्रतीकका रूपमा पौराणिक साहित्यमा स्थापित छन् । त्यसैले ‘गौरा’ शब्दलाई ‘गौरी’सँग जोड्ने धार्मिक–भाषिक आधार बलियो देखिन्छ । गौरी पूजन प्राचीन हिन्दु परम्परा हो । तर मानसी लोकपर्व गौराको सम्पूर्ण विधि गौरी उपासनाको हुबहु शास्त्रीय संस्करण हो भन्न सकिँदैन । गौरा बुझ्न यही भिन्नता पहिलोपटक स्वीकार गर्नुपर्छ ।

गौरापर्वलाई ‘वैदिक पर्व’ भनेर चिनाउने दाबी धेरै ठाउँमा सुनिन्छ । तर मूल वैदिक संहितामा मानसी गौरा लोकपर्वको पञ्चमीमा बिरुडा भिजाउने, सप्तमीमा गौरा भित्र्याउने, अष्टमीमा अठ्यावाली फाग गाउने र देउडा, चैत, धमारी खेल्ने सम्पूर्ण विधान एउटै पर्वका रूपमा भेटिँदैन । यसको अर्थ गौरा हिन्दु धर्मबाहिरको पर्व हो भन्ने होइन । यसको अर्थ केवल यति हो– मानसी लोकपर्व गौरालाई प्रत्यक्ष वैदिक वा पौराणिक पर्व भनेर प्रमाणित गर्नुभन्दा यसको धार्मिक जरा उत्तरवैदिक, पौराणिक र व्रत परम्परासम्म खोज्नु बढी वैज्ञानिक हुन्छ ।

उमा, शक्ति, प्रकृति र देवी–तत्वको विकासक्रम हुँदै पार्वती र गौरीको पौराणिक स्वरूप स्थापित भएको पाइन्छ । यसलाई गौराको प्रत्यक्ष जन्मकथा होइन, देवी–तत्वको दीर्घ धार्मिक विकासक्रमका रूपमा बुझ्नुपर्छ । शिव–पार्वतीको कथा मानसी लोकपर्व गौराको धार्मिक भावभूमिसँग सबैभन्दा गहिरोरूपमा जोडिन्छ । पार्वतीले शिवलाई पति प्राप्त गर्न कठोर तपस्या गरेको, शिवलाई प्रसन्न पारेको र अन्ततः शिवसँग विवाह गरेको कथा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यही कथा मानसी लोकपर्व गौरामा गाइने मांगल गीत अर्थात् फागमा लोकभाषामा प्रवेश गर्छ, तर निकै रोचक परिवर्तनसहित ।

हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएकी देवी पार्वती लोक फागमा गौरा हुन् । पुराणमा हिमालयकी छोरीका रुपमा वर्णन गरिएकी शक्तिस्वरुपा देवी पार्वती मानसी लोकपर्व गौरामा स्वर्गको इन्द्रासनबाट सीधै झर्छिन् ।

गौरापर्वको शास्त्रीय आधार खोज्दा नारदपुराणको गौरी व्रत विशेष महत्व राख्छ । नारदपुराणमा गौरीको पूजा, दुर्वाको प्रयोग, व्रत, जागरण तथा महिलाका विभिन्न मंगल कामनासँग सम्बन्धित विधान पाइन्छ । कन्याले योग्य पति प्राप्तिको कामना गर्ने र विवाहित महिलाले पति, सन्तान तथा सौभाग्यको मंगल कामना गर्ने धार्मिक संरचना त्यहाँ भेटिन्छ । यही संरचना सुदूरपश्चिमको गौरापर्वसँग अत्यन्त नजिक देखिन्छ । गौराको धार्मिक भावभूमि हिन्दु गौरी–उपासना परम्परासँग गहिरो सम्बन्धित छ । तर यसैबाट आजको गौरापर्वको प्रत्येक स्थानीय विधि धर्मशास्त्रमै थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन ।

गौरा अष्टमीलाई कतिपय परम्परामा दुर्वाष्टमीसँग जोडिन्छ । दुर्वा अर्थात् दुबो हिन्दु धार्मिक परम्परामा पवित्र वनस्पतिका रूपमा स्थापित छ । दुबो काटिए पनि फेरि पलाउँछ । यही कारणले लोकविश्वासमा यसको सम्बन्ध दीर्घायु, सन्तान, वंशवृद्धि र निरन्तरतासँग जोडिएको देखिन्छ । गौरापर्वमा दुबोको महत्वले शास्त्रीय र स्थानीय कृषि–जीवनबीचको सम्बन्ध पनि देखाउँछ । गौरासम्बन्धी आधुनिक नेपाली धार्मिक व्याख्याहरूमा हेमाद्रिको व्रतसम्बन्धी साहित्यलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रस्तुत गरिएको छ ।

गौरा अध्ययनमा स्कन्दपुराणको मानसखण्डको चर्चा बारम्बार हुन्छ । मानसखण्ड हिमालयको पश्चिमी भूभागसँग जोडिएको धार्मिक–सांस्कृतिक अवधारणा हो । कतिपय स्थानीय तथा आधुनिक लेखहरूले गौरापर्वको उत्पत्ति वा प्राचीनतालाई मानसखण्डसँग प्रत्यक्ष जोड्छन् । मानसखण्डीय धार्मिक भूगोल र शिव–पार्वती परम्पराको निरन्तरता गौरापूजन हो । यही धार्मिक संरचना स्थानीय भाषिक विकासबाट गौरा अष्टमी वा गौरा धार्मिक लोकपर्वका रूपमा स्थापित भएको हुनसक्ने बलियो सांस्कृतिक आधार देखिन्छ ।

गौरा लोकपर्वलाई केवल धार्मिक ग्रन्थबाट बुझ्न खोज्दा यसको आधा कथा मात्र भेटिन्छ । अर्को आधा कथा फागमा हुन्छ, जो यहाँका महिलाले पुस्तौँदेखि फागमार्फत गौरा, महेश्वर, विवाह, माइती, ससुराली, परिवार, दुःख, सुख र सामाजिक सम्बन्धका कथा बोकेर ल्याएका छन् । फाग लिखित दस्तावेज वा शास्त्र होइन । यो मौखिक लोक परम्पराबाट पुस्तान्तरण हुँदै आएको छ । फाग यहाँका नारीहरुको स्मृतिमा सुरक्षित रहँदै आएको पाइन्छ । यही कारणले गौराका फागको अनुसन्धान नगरी गौराको इतिहास पूरा हुँदैन ।

लोकपर्व गौरामा गाइने मांगल, सगुन र फागहरु गौरा संस्कृतिको सबैभन्दा महत्वपूर्ण लोकसाहित्यिक पक्ष हो । यसमा गौरा÷गौरीको जीवनकथा, परिवार, विवाह र महेश्वरसँगको सम्बन्धलाई गीतात्मक रूपमा प्रस्तुत गरिन्छ । धार्मिक शास्त्रमा उल्लिखित पात्र र कथालाई यहाँकोे लोकसमाजले आफ्नो भाषा र सामाजिक अनुभवमा पुनर्जीवन दिएको लोकमहाकाव्यका रुपमा फागलाई बुझ्न सकिन्छ ।
गौरा लोकपर्वमा हिन्दु आराध्यदेवी पार्वती विभिन्न स्थानीय नाम र सम्बोधनमा जीवित छिन् । लोली गौरा, गंगा गौरा, सञ्ज्या गोराजस्ता सम्बोधनले देवीलाई अत्यन्त आत्मीय बनाउँछन् ।

गौरीदेवीकी सौताका रुपमा उल्लेख गरिने सञ्ज्या गौरासम्बन्धी कथा यहाँका विभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक पाइन्छ । यदि एउटै पौराणिक ग्रन्थबाट कथा जस्ताको तस्तै आएको भए स्थानीय संस्करणहरूमा यति धेरै अन्तर नहुन सक्थ्यो । त्यसैले सञ्ज्या गौरासम्बन्धी कथालाई लोकस्मृति र मौखिक परम्पराको विकासका रूपमा थप अध्ययन गर्नु बढी उपयुक्त हुन्छ । सञ्ज्या गौराको आजको लोककथात्मक स्वरूपलाई वैदिक वा पौराणिक मूल पात्रका रूपमा प्रमाणित गर्ने आधार भने अत्यन्त कमजोर छ । त्यसैले सञ्ज्या गौरा लोकपरम्पराको विकासका रूपमा अध्ययन गर्नुपर्छ ।

गौरा लोकपर्वमा विवाहित महिलाले धारण गर्ने दुब्धागो पनि विशिष्ट सांस्कृतिक अभ्यास हो । यसलाई कतिपय ठाउँमा महिलाको ‘जनै’सँग तुलना गरिन्छ । तर शाब्दिक रूपमा वैदिक जनैसँग समान ठान्न मिल्दैन । यसलाई महिलाको गौरा–धार्मिक सहभागिता, सौभाग्य र सामाजिक पहिचानको प्रतीकका रूपमा बुझ्दा बढी उपयुक्त हुन्छ । गौराको उत्पत्तिबारे सबै लोक–पौराणिक स्रोत एउटै कथा भन्दैनन् । कतिपय प्रकाशित सामग्रीमा सहस्रार्जुन, भृगुवंशी ब्राह्मण र ब्राह्मणीहरूको उपासनासँग गौरापर्वको कथा जोडिएको पाइन्छ । यस कथामा ब्राह्मणीहरूको धार्मिक शक्ति, पुत्र प्राप्ति र त्यसपछि सहस्रार्जुनको क्षमायाचनासम्मका प्रसंग आउँछन् ।

धार्मिक शास्त्रमा एक कथा, लोकमा अर्को देखिए पनि यो विरोधाभास भने होइन । हिन्दु धार्मिक परम्परामा एउटै देवी वा देवताका अनेक आख्यान छन् । लोकसमाजले ती आख्यानलाई आफ्नो भूगोल र जीवनसँग जोड्दै पुनव्र्याख्या गरेको पाइन्छ । गौरा लोकपर्व धार्मिक शास्त्रको हुबहु प्रतिलिपि होइन, न शास्त्रविहीन लोकसृजना । यो दुवैको अन्तरसम्बन्धबाट विकसित भएको विशिष्ट, मौलिक, सांस्कृतिक संरचना हो । पुराणकी पार्वती जब मानसखण्डको आँगनमा आइन्, उनी केवल देवी रहिनन् । उनी छोरी–बुहारी बनिन्, दिदी–बहिनी बनिन्, पत्नी र आमा बनिन् । अन्ततः सम्पूर्ण मानसखण्डकी सामूहिक स्मृति बनिन् ।

प्राचीन हिन्दु देवी–उपासना परम्परालाई यहाँको लोकसमाजले आफ्नो भूगोल, कृषि, जनजीवन, भाषा, संस्कृति र सामुदायिक अनुभवअनुसार पुनः सृजना गरेर आजको गौरा लोकपर्व बनेको हो । गौरापर्व प्राचीन हिन्दु गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिमा विकसित भएको, तर मानसखण्डीय भूगोल, कृषि–जीवन, नारीसंस्कार, मौखिक साहित्य र सामुदायिक जीवनले आफ्नै स्वरूप दिएको विशिष्ट लोक धार्मिक पर्वका रुपमा विकसित भएको पाइन्छ ।

गौरा लोकपर्व धार्मिक शास्त्र र लोक संस्कृतिबीचको हजारौँ वर्ष लामो सांस्कृतिक संवादको जीवित परिणाम हो । यो धार्मिक शास्त्रहरु कसरी लोकजीवन बन्न सक्छन् भन्ने मानसखण्ड सभ्यताको रोचक कथा पनि हो । वेददेखि पुराणसम्म, हेमाद्रिदेखि मानसखण्डसम्म र फागदेखि अठ्यावालीसम्म– गौरापर्वको धार्मिक र लोक सांस्कृतिक सत्यको खोजी गर्न थप अध्ययन–अनुसन्धान आवश्यक छ ।