डिजिटल युगको तीव्र विकाससँगै आजको शिक्षा क्षेत्रले अभूतपूर्व रूपान्तरण र गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर सूचना र प्रविधिको सहज पहुँचले ज्ञानका नयाँ ढोकाहरू खोलेको छ भने अर्कातिर यसैको अनियन्त्रित प्रयोगले बालबालिकाको ध्यान, एकाग्रता र सिक्ने चाहनामा ठूलो धक्का पु¥याएको छ । आजकल अधिकांश विद्यार्थीको ध्यान पढाइमा भन्दा मोबाइलका छोटा, मनोरञ्जनपूर्ण र व्यङ्ग्यपूर्ण रिल तथा भिडियोहरूमा अल्झिएको छ । प्रविधिको यो ‘डोपामाइन’ भरिएको संसारसँग प्रतिस्पर्धा गर्दै कक्षाकोठामा परम्परागत तरिकाले पढाउनु शिक्षकहरूका लागि फलामको चिउरा चपाउनुसरह भएको छ ।
मनोरञ्जनको रसमा भुलिएका विद्यार्थीका लागि ज्ञानवर्धक र जीवनोपयोगी भए तापनि कक्षाकोठाको सिकाइ ‘रसवरी खाएको जिब्रोमा चिनीविनाको चिया’ जस्तै खल्लो र निरस लाग्नु स्वाभाविक जस्तै बनेको छ । प्रसिद्ध शिक्षाविद् तथा दार्शनिक जोन डिबेले भनेका थिए– ‘यदि हामीले आजका बालबालिकालाई हिजोको तरिकाले पढायौं भने, हामीले उनीहरूको भोलिको भविष्य खोस्दै छौँ ।’ तर आधुनिक सन्दर्भमा शिक्षकले शिक्षण शैली बदल्ने प्रयास गर्दा पनि सिकारु स्वयंमा सिक्ने इच्छाशक्ति र मानसिक तयारीको अभाव देखिनु झनै चिन्ताजनक विषय बनेको छ ।
शिक्षाशास्त्र र मनोविज्ञानको अकाट्य नियम हो– सिकाइका लागि प्रथमतः सिक्ने व्यक्ति नै तयार हुनुपर्छ । खाना खानुअघि भोक लाग्नुपर्छ, पानी खानुअघि तिर्खा लाग्नुपर्छ । यदि पेट भरिएको छ वा भोक नै छैन भने अगाडि जतिसुकै मीठो र पोषिलो व्यञ्जन राखे पनि त्यसको कुनै मूल्य हुँदैन । ठीक त्यसै गरी, दिने व्यक्ति (शिक्षक) जतिसुकै तयार भएर, नवीन शिक्षण विधि अपनाएर, शैक्षिक सामग्री र पाठयोजना बनाएर कक्षामा प्रवेश गरे पनि लिने व्यक्ति सिकारु अर्थात् विद्यार्थी स्वयं मानसिक रूपमा सिक्न तयार छैन भने सिकाइको सम्पूर्ण प्रयास निरर्थक र निष्फल बन्छ । मनोवैज्ञानिक एडवर्ड थर्नडाइकको ‘तत्परताको नियम’ले पनि स्पष्ट पार्छ कि जब सिकारु सिक्नका लागि शारीरिक र मानसिक रूपमा तयार हुन्छ, तब मात्र सिकाइ प्रभावकारी र स्थायी हुन्छ । महान् युनानी दार्शनिक प्लुटार्कको प्रसिद्ध भनाइ छ– ‘विद्यार्थीको दिमाग भर्नुपर्ने कुनै भाँडो होइन, यो त बाल्नुपर्ने एउटा आगो हो ।’ तर आजका कक्षाकोठामा त्यो अध्ययनको आगो बाल्ने इन्धन अर्थात् उत्सुकता नै निभिसकेको आभास हुन्छ ।
मानिसको चाहना थालीमा मीठो चामलको भात, मकै वा कोदोको ढिंँडो र अन्य स्वादिष्ट परिकारमा हुन्छ । स्याउ वा अनारको दानामा हुन्छ । तर ती व्यञ्जन परिकार वा फलफूल हाम्रा हातमा वा थालीमा पर्नुभन्दा पहिले किसानले खेतबारीमा कति दुःख, पसिना र मिहिनेत लगानी गर्नुपरेको हुन्छ भन्ने कुरा बिर्सन मिल्दैन । विडम्बना ! आजकलका विद्यार्थीहरूचाहिँ फसलको मिहिनेत नगरी सीधै तयारी खानेकुरा मात्र खान खोज्छन् । उनीहरू एकैचोटि परीक्षामा आउने ‘अङ्कदायी’ कुरा मात्र छोटकरीमा सिक्न चाहन्छन्, तर त्यो ज्ञानसम्म पुग्नका लागि आधारभूत कुराहरू सिक्ने धैर्य र अनुशासन उनीहरूमा पटक्कै छैन ।
उदाहरणका लागि, कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकभरिका १७ वटा पाठबाट परीक्षामा जम्मा २ अङ्कको शब्दार्थ सोधिन्छ । अब त्यो २ अङ्कका लागि सिंगो किताबका शब्दार्थ याद गर्न धेरै मिहिनेत गर्नुपर्ने भएपछि अधिकांश विद्यार्थी कुनै पनि शब्दार्थ याद गर्ने प्रयास नै गर्दैनन्, बरु परीक्षामा ‘अन्दाजी हान्ने’ सर्टकट बाटो रोज्छन् । विषयको गहिराइ, शब्दभण्डारको विकास र ज्ञानको व्यापकताभन्दा पनि ‘केवल २ अङ्क त हो नि’ भन्ने सोचले उनीहरूमा सिक्ने मूल ध्येय नै मरेर गएको छ । यस्तो ‘सर्टकट’ र उपभोगवादी मानसिकता भएका विद्यार्थीलाई ज्ञानको वास्तविक मूल्य कसरी बुझाउने भन्ने समस्याको ठूलो पीडा आज शिक्षकहरूले भोग्नुपरिरहेको छ ।
तीक्ष्ण क्षमता भएका, सिक्न तयार र जागरूक विद्यार्थी हुँदा त सिकाइ सहज र आनन्ददायी भैहाल्छ । तर, एउटा कक्षाकोठामा विभिन्न सामाजिक, आर्थिक र पारिवारिक पृष्ठभूमिबाट आएका फरक–फरक रुचि र प्रवृत्तिका बालबालिका हुन्छन् । पढ्नमा पटक्कै रुचि नभएका र ज्ञानको भोक हराएका विद्यार्थीलाई विशेष लक्ष्य गरेर उनीहरूलाई सिकाइप्रति आकर्षित गर्ने, उनीहरूमा अध्ययनको भोक जगाउने र अरूसरह दक्ष बनाउने दायित्व शिक्षककै हो । तथापि, प्रविधिको डिजिटल लत र सर्टकट मानसिकताले घेरिएको वर्तमान परिवेशमा यो दायित्व पूरा गर्नु शिक्षकका लागि असीमित चुनौती र गाह्रो काम बनेको छ ।
बालबालिकाको सिकाइ र व्यक्तित्व निर्माणमा पहिलो र सबैभन्दा प्रभावशाली पाठशाला उसको परिवार नै हो । तर पछिल्लो समय व्यस्तताका कारण पारिवारिक दायित्वमा आएको ह्रासले शिक्षण सिकाइलाई झनै जटिल बनाएको छ । शिक्षकले विद्यालयमा केही घण्टा मात्र विद्यार्थीलाई हेर्न सक्छ, बाँकी समय ऊ परिवारकै संरक्षण र निगरानीमा हुन्छ । यो अवस्थामा जब घरमा अनुशासन, सकारात्मक वातावरण र निगरानी हुँदैन, त्यसको प्रत्यक्ष नकारात्मक असर कक्षाकोठामा देखिन्छ ।
यस विषयमा एउटा व्यावहारिक र मार्मिक उदाहरण हेरौँ । एकजना शिक्षकले कक्षामा अत्यधिक अल्छ्याइँ गर्ने र गृहकार्य नगर्ने विद्यार्थीका अभिभावकलाई फोन गरेर गुनासो गर्दा उताबाट जवाफ आउँछ– ‘हो, हाम्रो बाबु घरमा पनि अल्छे नै छ । अल्छे मात्रै होइन, धेरै रिसाहा पनि छ है ! धेरै गाली नगर्नू, तपाईंलाई नै कुट्ला !’ यो जवाफ केवल एउटा अभिभावकको भनाइ मात्र होइन, आजको समाजको गम्भीर शैक्षिक र संस्कारगत विचलनको प्रतीक हो ।
आफ्नो बच्चाको नकारात्मक व्यवहार र अनुशासनहीनतालाई सच्याउनुको साटो उल्टै शिक्षकलाई नै धम्कीपूर्ण भाषामा सचेत गराउने पारिवारिक वातावरणबाट आएका विद्यार्थीलाई शिक्षकले कसरी र कुन मनोबलका साथ सिकाउन सक्ला ? चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका थिए– ‘यदि तिम्रो योजना एक वर्षको छ भने धान रोप, दश वर्षको छ भने रुख रोप र यदि सय वर्षको योजना छ भने मानिसलाई शिक्षित बनाऊ ।’ तर शिक्षित बनाउने यो दूरगामी अभियानमा जब पहिलो पाठशाला (परिवार) नै आफ्नो जिम्मेवारीबाट पन्सिन्छ, तब शिक्षाको जग कसरी बलियो हुनसक्छ ?
सिक्नका लागि कक्षामा गरिने शिक्षण सिकाइ क्रियाकलापमा सिकारु स्वयं सक्रिय रूपले सहभागी हुनुपर्छ । ब्राजिलियन शिक्षाविद् पाउलो फ्रेरेले आफ्नो चर्चित पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’ मा शिक्षणलाई केवल ‘बैंकिङ प्रणाली’ (जहाँ शिक्षकले ज्ञान जम्मा गर्छ र विद्यार्थीले लिन्छ) नभई द्विमुखी र अन्तक्र्रियात्मक प्रक्रिया हुनुपर्नेमा जोड दिएका छन् । तर आजकल कक्षाकोठामा सुनाएको कुरा वास्तै नगर्ने, बोर्डमा लेखेको कुरा नसारेर उदासीन रहने विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ ।
विद्यार्थीको यस्तो उदासीनता र अशिष्ट व्यवहारले शिक्षकमा मानसिक तनाव र निराशा उत्पन्न गराउँछ । विद्यालय पोशाक नलगाईकन आएको विद्यार्थीलाई किन यसरी आएको भनेर सोध्दा आफूलाई स्कुल ड्रेसको कपडा नै मन नपरेको कुरा गर्नु वा बोर्डमा लेखेको नसारेपछि ‘किन नसारेको ?’ भन्दा विद्यार्थीले ठाडै ‘मैले सारे पनि नसारे पनि तपाईंलाई के खाँचो !’ भन्दै गैरजिम्मेवार जवाफ दिनु आजका कतिपय विद्यार्थीका प्रवृत्ति हुन् । यस्ता घटनाहरूले आजका विद्यार्थीमा शिक्षकप्रतिको आदर, श्रद्धा र दायित्वबोध कतिसम्म ह्रास भएको छ भन्ने देखाउँछ ।
सिक्नका लागि थोरै डर, धेरै चासो, आवश्यक अनुशासन र राम्रो संस्कार अपरिहार्य हुन्छ । सबै अवस्थामा खुसी नै बनाएर, सीमाहीन स्वतन्त्रता दिएर मात्र सिकाइ सफल हुन सक्दैन । अनुशासनविनाको स्वतन्त्रताले स्वच्छन्दता र अराजकता जन्माउँछ । आजकल विद्यार्थीलाई अलि ठूलो स्वरले सम्झाउन वा गल्ती औंल्याउन पनि नसकिने अवस्था सिर्जना भएको छ । उनीहरूलाई अनुशासित बनाउन गरिएका यस्तै साना–साना कुरामा पनि तुरुन्तै प्रतिक्रियास्वरूप रिसाउने, किताब–कापी नै च्यात्ने, कलम भाँच्ने वा अनुशासनहीन व्यवहार देखाउने प्रवृत्ति बढेको छ ।
गृहकार्य नगरेको वा किताब नल्याएको कुरा सम्झाउँदा सकारात्मक प्रेरणा लिनुको साटो अर्को अनुशासनहीन विद्यार्थीको उदाहरण दिँदै ‘उसले पनि त गरेको÷ल्याएको छैन नि !’ भनी आफ्ना गल्तीको बचाउ गर्छन् । विडम्बना के छ भने, सकारात्मक उदाहरण र प्रक्रियागत मिहिनेतबाट प्रेरणा लिन कोही तयार छैनन्, तर परीक्षाको नतिजामा अङ्क भने सबैलाई उत्कृष्ट नै चाहिएको छ । गल्ती गर्दा न सम्झाउन पाइन्छ, न त अलि कडा रूपमा प्रस्तुत हुन नै । अनुशासन र संस्कार सिकाउन खोज्दा उल्टै दोष खेप्नुपर्ने र कानुनी वा सामाजिक झमेलामा पर्नुपर्ने डर शिक्षकहरूमा छाएको छ ।
समाज, राज्य र अभिभावक सबैलाई शिक्षाको नतिजा भने उत्कृष्ट चाहिएको छ । तर प्रश्न उठ्छ–अभिभावकको सहयोग र विद्यार्थीको सक्रियताविना हामी शिक्षकले जादुको छडी घुमाएर रातारात उत्कृष्ट नतिजा ल्याइदिन सक्छौं र ? जबसम्म अभिभावक, विद्यालय प्रशासन र समाजले शिक्षकलाई विद्यार्थी सच्याउने, अनुशासनमा राख्ने र आवश्यक मार्गदर्शन गर्ने नैतिक तथा व्यावहारिक स्वतन्त्रता दिँदैनन्, तबसम्म शिक्षाको गुणस्तर सुध्रिनै सक्दैन ।
यसका लागि अभिभावकहरूले बालबालिकाको ‘स्क्रीन टाइम’ नियन्त्रण गर्दै घरमा अध्ययनशील र अनुशासित वातावरण निर्माण गरिदिनुपर्छ । शिक्षक र अभिभावकबीच नियमित संवाद हुनुपर्छ, जहाँ बालबालिकाका कमजोरीलाई ढाकछोप गर्नुको साटो सँगै मिलेर सच्याउने प्रतिबद्धता रहोस् । साथै, शिक्षकहरूले पनि आधुनिक प्रविधिको सकारात्मक प्रयोग गर्दै सिकाइलाई थप रुचिपूर्ण, व्यावहारिक र अन्तक्र्रियात्मक बनाउन प्रयत्नशील रहनुपर्छ । विद्यालयहरूमा केवल अङ्क र प्राप्ताङ्कमुखी शिक्षाको सट्टा नैतिक शिक्षा, संस्कार, जीवनोपयोगी सीप र मनोपरामर्शको उचित प्रबन्ध हुन अपरिहार्य छ ।
शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो र विद्यार्थी यसका संवाहक हुन् । तर डिजिटल लत, सर्टकट मानसिकता, पारिवारिक उदासीनता र अनुशासनको अभावका कारण आजको शिक्षा क्षेत्र सङ्कटग्रस्त बन्दै गएको छ । अल्बर्ट आइन्स्टाइनको भनाइ छ– ‘शिक्षकको सर्वोच्च कला भनेको सृजनात्मक अभिव्यक्ति र ज्ञानमा आनन्द जगाउनु हो ।’ तर यो कला तब मात्र सफल हुन्छ जब सिकारुमा ज्ञान प्राप्तिको तिर्खा र प्रक्रियागत मिहिनेतप्रतिको निष्ठा हुन्छ । जादुको छडीको अपेक्षा गर्नुभन्दा विद्यार्थी, शिक्षक, अभिभावक र राज्य सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार बनी सहकार्य गर्नु नै आजको शैक्षिक सङ्कट समाधान गर्ने एकमात्र सही मार्ग हो ।











प्रतिक्रिया