राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने : गृहमन्त्री सुधन गुरुङ


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी कारबाही गरिने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने व्यक्तिले कुनै उन्मुक्ति नपाउने बताएका हुन्।

उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताए।

यसैबीच, संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।

गृहमन्त्री गुरुङले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै सूचनामा पहुँच हुनु त्यसको दुरुपयोग गर्ने अधिकार नभएको बताएका छन्।