नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि उपसभापतिमा उम्मेदवारी दिने


काठमाडौं ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रले विधान संशोधन गर्दै पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाएपछि उपसभापतिका आकांक्षीहरू थपिएका छन्।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ६७ बाट बढेर २ सय ९७ सदस्यीय भएको छ भने उपसभापतिको संख्या २ बाट बढाएर ४ पुर्‍याइएको छ।

यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारलगायतले उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। वर्तमान उपसभापति पुष्पा भुसालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएकी छन्। प्रवक्ता देवराज चालिसे र चन्द्र भण्डारीले पनि उपसभापतिमा दाबी गरेका छन्।