अमेरिका।
अमेरिकी राज्य टेनेसीमा मृत्युदण्डको सजाय सुनाइएकी एक महिलालाई मृत्युदण्ड कार्यान्वयनका क्रममा दुई पटक घातक सुई लगाइए पनि उनको मुटुको धड्कन नरोकिएपछि प्रक्रिया रोकिएको छ।
क्रिस्टा पाइकलाई मृत्युदण्ड दिन पेन्टोबार्बिटल औषधिको दुई सिरिन्ज प्रयोग गरिएको थियो। तर, त्यसपछि पनि उनको मुटु धड्किरहेको र श्वासप्रश्वास भइरहेको पाइएपछि उनका वकिलहरूले तत्काल मृत्युदण्ड रोक्न र उनलाई आवश्यक चिकित्सा उपचार उपलब्ध गराउन माग गर्दै निवेदन दिएका थिए।
वकिलहरूले अदालतमा दायर गरेको निवेदनमा पाइक बेहोस अवस्थामा रहे पनि उनको मुटु धड्किरहेको र श्वास फेर्दा घुर्ने जस्तो आवाज सुनिएको उल्लेख गरिएको छ।
पाइकका एक वकिलले बीबीसीलाई दिएको जानकारीअनुसार ५० वर्षीया पाइकलाई अहिले अस्पताल लगेर उपचार भइरहेको छ।
कुन घटनामा सुनाइएको थियो मृत्युदण्ड?
सन् १९९६ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या गरेको अभियोगमा क्रिस्टा पाइकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। उक्त घटना हुँदा पाइक १८ वर्षकी थिइन्।
अभियोजन पक्षका अनुसार पाइक र उनका तत्कालीन प्रेमी टेडेरिल शिपले स्लेमरमाथि कुटपिट र यातना दिएपछि उनको हत्या गरेका थिए। उनीहरू तीनै जना समस्याग्रस्त किशोरकिशोरीका लागि सञ्चालन गरिएको रोजगार तालिम शिविरमा भेटिएका थिए।
स्लेमरकी आमा मार्टिनेजले छोरीको हत्यामा संलग्न पाइकलाई सुनाइएको सजाय कार्यान्वयन हुनुपर्ने बताएकी छन्। उनले आफ्नी छोरीले भोगेको पीडा र ज्यान जोगाउन भाग्न खोजेको अवस्थाबारे सोच्दा आफूलाई घटनाको पीडा झनै महसुस हुने बताएकी छन्।











प्रतिक्रिया