मन्त्री यादवद्वारा सुनसरीका युवा तथा श्रमिकसँग भेटघाट


काठमाडौँ । 

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुनसरीका विभिन्न पालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्ने, श्रमिकको मनोबल उच्च बनाउने तथा स्थानीय स्तरमा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री यादवले युवा तथा श्रमिकसँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा असोज १४ देखि २० गतेसम्म आयोजना गरेको सीप तथा रोजगार मेला सम्पन्न भए पनि स्थानीय स्तरमा सीप विकास र रोजगारीसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाउने योजनाअनुरूप सीप तथा रोजगार मेला आयोजना गरिएको हो।

यसै क्रममा मन्त्री यादवले कोशी गाउँपालिका–७ अन्तर्गत हरिपुर तथा लौकही बजार क्षेत्र, वराहक्षेत्र नगरपालिकाको शिवगन्ज तथा मधुवन क्षेत्र, इनरुवा नगरपालिकाका विभिन्न क्षेत्र र रामधुनी नगरपालिका–१ स्थित मोहनपुर गाउँका युवाहरूसँग भेटघाट तथा छलफल गर्नुभएको हो।