असोज १६ देखि १८ गतेसम्म देशभर वर्षाको सम्भावना

0
Shares

काठमाडौं ।

असोज १६ गते बुलुकीदेखि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्राडा दीपक अर्यालले १६ गते रातीबाट देशभर वर्षा हुने सम्भावना रहेको  जानकारी दिनुभयो । 

 असोज ७ देखि ११ गतेजस्तो ठुलो पानी पर्दैन । तर देशभर वर्षा हुनेछ–उहाँले भन्नुभयो । सम्भवतः १६ गते रातीदेखि १८ गतेसम्म पानी पर्नेछ । पश्चिमी वायु सक्रिय भएर मौसम बदली हुन लागेको उहाँको भनाई छ । 

 उता जलतथा मौसम विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा १७ देखि भीषण बर्षा हुने र बाढी पहिरो जानसक्ने देखि  तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको थियो । विभागले जनाएको भीषण वर्षा भन्ने नहोला । तर मौसम परिवर्तन भई वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालको भनाई छ । 

 वर्षा लगत्तै यो वर्ष जाडोयाम प्रवेश हुनेछ । गतवर्षको तुलनामा यो वर्ष बढी जाडो हुने प्रक्षेपण मौसमविद्को छ । १८ गतेसम्म वर्षा हुन्छ, त्यसपछि मौसम बाहिरिएर जाडो बढ्न सक्छ । 

 यसैबीच विभागले सर्वसाधारणले असोज १७ गतेदेखि भीषण वर्षा हुँदैछ रे भनेर विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले मंगलबार जारी गरेको सूचनामा भनेको छ–‘नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न र नफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ ।  साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सन्जालमार्फत् अपडेट रहन विभागले अनुरोध समेत गरेको छ।