अमेरिकाको मध्यावधि चुनावमा भारी चुनौतीका बीच ट्रम्प

0
Shares

विश्वको सबैभन्दा पुरानो र विकसित लोकतान्त्रिक देश अमेरिकामा पनि अब मतदातालाई आकर्षित गर्न सोझै नगद अथवा सित्तैमा उपहार दिने राजनीतिले ठाउँ पाउन थालेको छ । राजनीतिक दलहरु र जननेताको लोकप्रियतामा अथवा तिनको सार्वजनिक छविमा यति बढी ह्रास आएको छ कि अब चुनाव जित्नका लागि नगद अथवा उपहार दिएर मतदातालाई आकर्षित गर्ने काम विश्वभरि नै सामान्य विषय हुन थालेको छ । चुनावमा मतदातालाई आफूतिर आकर्षित गर्न उपहार र नगदको प्रयोग गर्नेले चुनावपश्चात् भ्रष्टाचार गर्ने सम्भावनालाई खारेज गर्न सकिँदैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मतदातालाई आफूतिर आकर्षित गर्न घोषणा गरेका छन् ।

यदि नोभेम्बरमा हुने मध्यावधि चुनावमा उनको रिपब्लिकन पार्टीले सफलता हासिल गर्छ भने उनले प्रत्येक बालिग अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर भुक्तान गर्नेछन् । यो एउटा महँगो योजना हो, जसमा एक ट्रिलियन डलरभन्दा पनि बढी खर्च आउनेछ । रिपब्लिकन पार्टीलाई सम्भावित पराजयको सम्भावनाले त्रसित बनाएको छ । डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर ह्रास आइरहेको छ ।

अब उनको समर्थनमा बडो मुस्किलले ३६ प्रतिशत अमेरिकी मतदाताहरु होलान्, जब कि ६० प्रतिशतभन्दा पनि बढी मतदाता उनको नीतिबाट प्रभावित छैनन्, सहमत पनि छैनन् । सम्भवतः यिनै कारणले होला ट्रम्पले चुनावमा नगद उपहार योजना ल्याएका हुन सक्छन् । दक्षिण एसियाका केही देशमा चुनावको मुखमा आएर नगदै उपहार दिने गरिन्छ । केही विकासशील देशहरुमा समेत नगद उपहारको चुनावी रणनीति सफल हुँदै आएको छ तर के अमेरिकाजस्तो विकसित देशमा पनि नगद उपहारको राजनीति सफल होला त ? यद्यपि अमेरिकाका विपक्षी नेताहरु खासगरी डेमोक्र्याट्स समर्थकहरुले यसलाई खोक्रो चुनावी नाराको संज्ञा दिएका छन् ।

कतिपयको विचारमा त यो प्रतिबद्धता अथवा योजना कानुनी रुपमा सफल मानिने छैन, किनभने अमेरिकी सर्वोच्च अदालतमा यसको वैधता र व्यवहारिकतामाथि प्रश्न उठ्नेछ । यदि साँच्चिकै ट्रम्पले यस्तो प्रतिबद्धता गरे भने अमेरिकी लोकतन्त्रको इतिहासमा यो सबैभन्दा ठूलो र महँगो उपहारको चुनावी घोषणा हुनेछ । किनभने अमेरिकाका झन्डै २७ करोड बालिग प्रत्येक व्यक्तिलाई पाँच–पाँच हजार डलर अर्थात् नेपाली मुद्रामा साढे सात लाख जति उपलब्ध गराइनेछ । ट्रम्पले यसमा भेदभाव गरेका छैनन् । धनी, गरिब प्रत्येकलाई समान चुनावी उपहार दिने घोषणा गरेका छन् । सम्भवतः यसमा एउटा यो सर्त थपिन सक्छ कि यस पैसाको उपयोग अथवा खर्च अमेरिकामै हुनुपर्छ । यसबाट अमेरिकी अर्थव्यवस्थालाई पनि लाभ मिल्नेछ । त्यहाँ मागमा वृद्धि आउनेछ । अमेरिकामा अहिले महँगी पनि बढेको छ, खासगरीकन फेब्रुअरीमा इरानमाथिको आक्रमण पछि ।

हुन त, ट्रम्पले ट्यारिफबाट हुने कमाइमा बाँडफाँड गर्ने विषयमा पहिले नै चर्चा गरिसकेको छ । पहिला यो २ हजार डलरको चर्चा थियो, अब ५ हजार डलरको चर्चा छ । स्वास्थ्य बिमामा पनि करिब १० लाख अमेरिकीहरुलाई छुट दिने चर्चा छ । यो छुट अथवा सुविधा अमेरिकाका कम्तीमा पनि ३० वटा राज्यमा चुनावअघि प्राप्त हुनसक्छ । यदि अमरिकामा यस्तो परम्पराको थाली भयो भने पूरै संसारमा यसको प्रभाव पर्नेछ । अमेरिकी सरकारले आफ्ना जनतालाई सित्तैमा केही पनि सुविधा दिएको छैन, दिँदैन ।

उदाहरणको निम्ति त्यहाँका बेरोजगार युवाहरुलाई अथवा कुनै कारणवश मानिस बेरोजगार भएमा नेपाली ६० हजार रुपैयाँसरहको राशी भत्ता दिने गर्दछ । स्वास्थ्य बिमामा पनि लाभ दिन्छ तर यो पहिलोपटक भइरहेको छ । जब कुनै राजनीतिक दल चुनाव जित्नको निम्ति उपहारको सहारा लिइरहेको छ । यदि अमेरिकामा यो चुनावी दाउ सफल रह्यो भने लोकतन्त्र भलै बलियो नहोस्, तर चुनावी राजनीतिको लोकप्रियता अवश्य नै बढ्नेछ ।

अमेरिकामा सन् २०२६ को मध्यावधि निर्वाचनका लागि सेप्टेम्बरदेखि प्रत्यक्ष र अग्रिम मतदान शुरु भइसकेको छ, जुन आउँदो ३ नोभेम्बरसम्म हुनेछ । अमेरिकामा राष्ट्रपति कार्यकालको ठीक आधा समय (दुई वर्ष) पछि कांग्रेस (प्रतिनिधिसभा र सिनेट) को निम्ति र सिनेटको एक तिहाइ सिटको निम्ति मतदान भइरहेको छ ।

डोनाल्ड ट्रम्पको प्रशासन र नीतिहरुको निम्ति यो चुनाव एउटा ठूलो राजनीतिक चुनौती मानिदै छ । अमेरिकी मिडियाहरुमा हालै भएका सर्वेक्षणहरुमा घरेलु एवं अन्तर्राष्ट्रिय मुद्दाहरु (जस्तो कि इरानसँगको तनाव) का बीच राष्ट्रपति ट्रम्पको लोकप्रियतामा ह्रास आएको छ । यदि यस चुनावमा डेमोक्र्याटिक पार्टी कांग्रेसमाथि नियन्त्रण प्राप्त गर्न सफल रहन्छ भने ट्रम्प प्रशासनको निम्ति आउँदा दिनमा नयाँ कानुन पारित गराउन गाह्रो हुनेछ र राजनीतिक संघर्ष बढ्न सक्छ । चुनावी सर्वेक्षणहरुमा डेमोक्र्याटिक पार्टीको जीतको सम्भावना बढी देखिन्छ । तर उहाँमाथि महाभियोगको प्रक्रिया शुरु हुन पनि सक्नेछ । प्रतिनिधिसभामा बहुमत गुम्दैमा उनले राष्ट्रपतिको पदबाट राजीनामा गर्नुपर्दैन । उनीमाथि महाभियोग लगाउन सिनेटमा दुई तिहाइ बहुमत हुनु आवश्यक छ । यदि महाभियोग पारित हुने अवस्था आउँछ भने उपराष्ट्रपति जेडीवांसले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवस्था आउन पनि सक्छ ।

मध्यपूर्वमा उत्पन्न अशान्तिबीच डोनाल्ड ट्रम्पले घरेलु स्तरमा पनि लोकप्रियता गुमाइरहेको अवस्था छ । रुस–युक्रेन युद्धमा ट्रम्पले चाहेर पनि युक्रेनलाई खासै बढी मद्दत गर्न सकेनन् । रुसमाथि प्रतिबन्ध लगाएर उसलाई कमजोर बनाउने ट्रम्पको प्रयास पनि खासै सफल हुन सकेन । ट्रम्पले भारतमाथि पनि भन्सार शुल्क बढाए तर भारतलाई खासै असर परेन र उसको आर्थिक प्रगतिको यात्रा जारी छ । एसियामा रुस, भारत र चीनको घनिष्टताले अमेरिकाको रणनीति र कूटनीतिलाई खासै सफल हुन दिएजस्तो देखिँदेन । ट्रम्पको अहंकारले अमेरिकालाई ठूलो हानि पु¥याइरहेको छ ।

एनबीसी न्युजको एक नयाँ सर्वेक्षणअनुसार मध्यावधि चुनावलाई लिएर अमेरिकी मतदाताको एउटा ठूलो वर्ग ट्रम्पको विरुद्धमा उभिएको छ । न्युयोर्कस्थित उक्त टीभी च्यानलका अनुसार करिब ३० वर्षको मध्यावधि निर्वाचन सर्वेक्षणमा सबैभन्दा बढी आश्चर्यजनक परिणाम यसपटकको सर्वेक्षणमा आएको छ । च्यानलका अनुसार यसपटकको आँकडा अहिलेसम्मकै सबैभन्दा उच्चत्तम स्तरमा छ ।

सर्भेअनुसार पञ्जीकृत मतदाताहरुमध्ये ४३ प्रतिशतले उनको मतपत्र ट्रम्पको विरोधमा हुने र २७ प्रतिशतले ट्रम्पलाई समर्थन गर्ने मनसाय प्रकट गरे । २८ प्रतिशतले आफ्नो कुनै विशेष चाहना रहेको बताएनन्, जबकि स्वतन्त्र मतदाताहरुमध्ये ४६ प्रतिशत विरोधमा र १० प्रतिशतले समर्थनमा चाहना व्यक्त गरे । २० सेप्टेम्बरमा जारी गरिएको यस सर्भे परिणाममा अमेरिकी अर्थव्यवस्था, अमेरिकाको जीवनयापन लागत र इरानसँगको संघर्षलगायतका विषयमा प्रश्न मतदाताहरुसित सोधिएको थियो ।

४१ प्रतिशतले ट्रम्पले देश चलाउने तरिकालाई ठीक र ४६ प्रतिशतले गलत बताए । अमेरिकी अर्थव्यवस्थाप्रति त्यहाँका मतदाता बढी चिन्तित देखिए । ५५ प्रतिशत अमेरिकीको विचारमा ट्रम्पको नीतिको नकारात्मक प्रभाव अर्थव्यवस्थामाथि परेको छ, मार्चमा यो प्रतिशत ४८ थियो । २६ प्रतिशतले यसलाई सकारात्मक रुपमा लिएका छन् । महँगी, जीवनयापन लगायतका मुद्दा नै मुख्य रुपमा अहिले चिन्ताका विषय बनेका छन् । ६२ प्रतिशत मतदाता इरानसँग युद्धको विपक्षमा र ३३ प्रतिशत पक्षमा देखिए । सम्भवतः यिनै कारणले होला, ट्रम्पले आर्थिक उपहार दिने घोषणा गरेका हुन सक्छन् ।