काठमाडौँ ।
भदौ १० गते रसुवाको भोटेकोशीबाट सुरु भएर त्रिशूली नदी हुँदै तलतर्फ फैलिएको विनाशकारी बाढीले नेपाललाई मानवीय सङ्कटसँगै दशकौँसम्म सम्झनुपर्ने आर्थिक क्षति दिएको छ । बाढीले सडक, पुल, निजी आवास, सरकारी संरचना, जलविद्युत् आयोजना, प्रसारण लाइन, व्यापारिक पूर्वाधार र स्थानीय अर्थतन्त्रमा पु¥याएको क्षतिको प्रारम्भिक आकार नै अर्बौं रुपैयाँ पुगेको छ ।
सडक विभागको प्रारम्भिक आँकलनअनुसार रसुवागढीदेखि पृथ्वी राजमार्गसम्म सडक तथा पुलमा मात्रै करिब ३३ अर्ब रुपैयाँ बराबरको संरचनागत क्षति भएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गको बाढीले कटान गरेको क्षेत्रसम्मको प्रारम्भिक निरीक्षणका आधारमा प्रारम्भिक क्षतिको अनुमान गरिएको हो ।
तर यो क्षति तत्काल मर्मत गरेर सकिने प्रकृतिको छैन । सडक विभागले बाढीबाट ध्वस्त संरचना पुनर्निर्माण गर्दा करिब ५० अर्ब रुपैयाँ हाराहारी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको छ । नयाँ पुल निर्माण, सडकको नयाँ मार्ग निर्धारण, अग्ला तथा लामो पुल निर्माण, नदी नियन्त्रण र जोखिम अनुकूल पूर्वाधार विकास जोडिँदा पुनर्निर्माणको लागत अझ बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।
भोटेकोशी बाढीले रसुवातर्फको करिब ४० किलोमिटर सडक खण्डमा व्यापक क्षति पु¥याएको छ । गल्छी–बेत्रावती–रसुवागढी सडक सबैभन्दा बढी प्रभावित भएको छ । नेपाल–चीन व्यापार र उत्तरी रसुवाका बस्तीलाई देशका अन्य भागसँग जोड्ने यो सडकमार्ग अहिले कतिपय स्थानमा सडकभन्दा बढी बाढीले छाडेको घाउजस्तो देखिन्छ ।
बाढीले सडकको कालोपत्रे मात्रै उखेलेको छैन, कतिपय स्थानमा सडक रहेको जमिन नै काटेर नदीमा मिसाइदिएको छ । कतिपय ठाउँमा पहाडबाट झरेको माटो, ढुंगा र गेग्रानले सडक पुरिएको छ । नदीको धारसमेत कतिपय स्थानमा परिवर्तन भएकाले पुरानै रेखामा सडक बनाउने कि नयाँ मार्ग खोज्ने भन्ने प्रश्नसमेत उठेको छ ।
पृथ्वी राजमार्गको महेशदोभान–मुग्लिङ खण्डमा समेत बाढीको असर परेको छ । यसले रसुवाको समस्या केवल एउटा जिल्लाको यातायात सङ्कट नभएर काठमाडौँ उपत्यका, उत्तरी सीमा र देशको आन्तरिक आपूर्ति सञ्जालसँग जोडिएको राष्ट्रिय पूर्वाधार सङ्कट बनेको देखाएको छ ।
सडक विभागले तत्काल सडक सञ्चालनका लागि एक दर्जनभन्दा बढी उपकरण प्रभावित क्षेत्रमा परिचालन गरेको छ । तत्कालीन सडक खुलाउन ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेर काम अघि बढाइएको छ । तर तत्काल सडक खुलाउनु र स्थायी रूपमा सुरक्षित सडक निर्माण गर्नु दुई फरक चुनौती हुन् ।
बाढीले सडक विभाग मातहतका ३३ वटा पुल बगाएको पछिल्लो विवरण छ । कतिपय पुल पूर्णरूपमा ध्वस्त भएका छन् भने अन्य केही पुलमा क्षति पुगेको छ । केही स्थानमा तत्काल आवागमनका लागि बेलिब्रिज राख्ने तयारी गरिएको छ । यहाँ पुल मात्रै बगेनन्, उत्तरी व्यापारको ढोका पनि बन्द गरिदिएको छ ।
रसुवागढीको मितेरी पुलसहित टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती हुँदै त्रिशूली करिडोरका पुलहरूमा भएको क्षतिले चीनसँगको स्थल व्यापार र सीमावर्ती क्षेत्रको आवागमनमा प्रत्यक्ष असर पारेको छ । सडक विभागका महानिर्देशक जैसीले बाढीले जिल्ला सदरमुकाम जोड्ने पुल अझ अग्ला र लामो बनाउनुपर्ने पाठ दिएको बताएका छन् ।
७ हजार ५७० घरमा क्षति, १२ अर्बको आवासीय नोक्सानी
सडक र पुलपछि बाढीको सबैभन्दा ठूलो प्रहार निजी आवासमा परेको छ । सहरी विकास तथा भवन निर्माण विभागको मंगलवारको प्रारम्भिक तथ्याङ्कअनुसार भोटेकोशी बाढीबाट पाँच जिल्लामा ७ हजार ५७० निजी आवासमा क्षति पुगेको छ । यसमध्ये नुवाकोटमा ३ हजार ९७७, धादिङमा ३ हजार ४५१, रसुवामा १ हजार ७७९, गोरखामा २६३ र चितवनमा ६१ घर क्षतिग्रस्त भएका छन् । निजी आवासमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कतिपय स्थानमा घरसँगै जग्गा नै असुरक्षित बनेको छ । नदीले धार परिवर्तन गर्दा पुरानो बस्तीमा घर पुनःनिर्माण गर्न नमिल्ने अवस्था सिर्जना भएको छ । यसले सरकारलाई क्षतिग्रस्त घर बनाउनेभन्दा ठूलो चुनौती, विस्थापित परिवारका लागि सुरक्षित नयाँ बस्ती कहाँ बनाउने भन्ने चिन्ता थपिदिएको छ ।
भवन निर्माण विभागले बाढी प्रभावितका लागि अस्थायी आवास निर्माणको तयारी गरेको छ । करिब ३ हजार ४५० जना अहिले विद्यालय तथा सामुदायिक भवनमा आश्रित रहेको प्रारम्भिक विवरण छ ।
निजी घरसँगै सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । भवन निर्माण विभागका अनुसार प्रारम्भिक रूपमा ४५ वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक वा पूर्ण क्षति पुगेको छ । यसको आर्थिक भार करिब साढे ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
विद्यालय, स्वास्थ्य संस्था र स्थानीय प्रशासनिक संरचना क्षतिग्रस्त हुँदा विपद्पछिको पुनःस्थापना अझ जटिल हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बाढीले प्रभावित क्षेत्रमा तीन स्वास्थ्यचौकी पूर्णरूपमा क्षतिग्रस्त भएका छन्, एउटा अस्पतालमा आंशिक क्षति पुगेको छ र दुई अस्पतालसम्मको पहुँचसमेत प्रभावित भएको छ । करिब १० हजार घरपरिवारलाई तत्काल राहत आवश्यक रहेको प्रारम्भिक मानवीय आँकलन छ ।
भोटेकोशी–त्रिशूली करिडोर नेपालको जलविद्युत् उत्पादनको महत्वपूर्ण केन्द्र हो । यही क्षेत्रमा आएको बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनालाई गम्भीर क्षति पु¥याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै ५ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना गरी २३६ मेगावाट क्षमता र ३ वटा निर्माणाधीन आयोजना गरी ३४२ दशमलव ४२ मेगावाट क्षमता प्रभावित भएका छन् । आयोजनाका बाँध, मुहान, विद्युत्गृह, पहुँचमार्ग, प्रसारण संरचना तथा निर्माण सामग्रीमा क्षति पुगेको छ ।
क्षतिको वास्तविक हिसाब अझै बाँकी
अहिले सार्वजनिक भएका सबै तथ्याङ्कलाई जोड्दा सडक तथा पुलमा करिब ३० अर्ब, निजी आवासमा करिब १२ अर्ब र सरकारी तथा सार्वजनिक संरचनामा साढे ४ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति देखिन्छ । यसकारण सडक विभागले गरेको करिब ५० अर्ब रुपैयाँ पुनर्निर्माण अनुमान अहिलेको क्षतिको अन्तिम बिल नभएर प्रारम्भिक संरचनागत पुनर्निर्माणको आँकलन हो ।












प्रतिक्रिया