पाँच पाण्डवमा इभाको द्रौपदी अवतार


महाभारतका पाँच पाण्डवको बिम्बलाई समकालीन नेपाली समाजको कथासँग जोडेर निर्माण भइरहेको फिल्म पाँच पाण्डवमा मोडल तथा अभिनेत्री इभा गिरीले निर्वाह गरेको चरित्र सार्वजनिक गरिएको छ।

पोस्टरमा इभालाई द्रौपदीको भूमिकामा प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा इभा रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी छन्। हल्का गहनामा सजिएकी उनको लुक्सले महाभारतकी द्रौपदीको झल्को दिन्छ। पहिलो पोस्टरमा पाँच पाण्डवका पात्रलाई प्रस्तुत गरेको निर्माण टिमले दोस्रो पोस्टरमा द्रौपदीलाई अगाडि सारेको छ।

पोस्टरको पृष्ठभूमिमा पाँच पाण्डवलाई देखाइएको छ। पहिलो पोस्टरमा रथमा बसेका पाँच पाण्डवलाई नै दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर फिल्मका प्रमुख पात्रहरूबीचको सम्बन्ध र चरित्रलाई जोड्ने प्रयास गरिएको छ। फिल्मको फस्र्टलुकमा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिग्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको भूमिकामा सार्वजनिक भएका थिए।

निर्देशक वसन्त निरौलाले इभाको द्रौपदी लुक्स दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन्। युवा पुस्तामाझ लोकप्रिय रहेकी इभा फिल्मको चरित्रमा पनि दर्शकको रोजाइमा पर्ने निर्देशक निरौलाको विश्वास छ। तिहारको छेको पारेर कार्तिक २० गते रिलीजमा आउने तयारीमा छ। अहिले फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको निर्माण टिमले जनाएको छ। फिल्मको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार पारिएको छ। दर्शकले फिल्म हेर्दा फूल डल्बी एटमस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन्।

काली रानी फिल्म्स्को ब्यानरमा काली रानी श्रेष्ठद्वारा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकारदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्मको अभिनय रहेको छ। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा रहेको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल रितेशजंग खत्रीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष लाज शरणम् नामक फिल्म निर्माण गरेका थिए। फिल्ममा कथा, पटकथा र संवाद सुशील पौडेलको रहेको छ। पौडेलले पा“च पाण्डवलाई सोसल ड्रामा भनेका छन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत, गम्भीर विस्ट र विक्रम स्वा“रको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले देशव्यापी वितरण गर्नेछ।