डब्लुएचओको क्षेत्रीय निर्देशकको उम्मेदवारमा डा. मिश्रा

विवादास्पद व्यक्तित्वलाई अघि सारेको भन्दै सरकारको निर्णयमाथि प्रश्न

376
Shares

काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदमा नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेपछि सरकारको निर्णयमाथि प्रश्न उठेको छ । सुशीला कार्की नेतृत्वको सरकारले स्वास्थ्य मन्त्री बनाउन लाग्दा पनि उहाँ विवादमा तानिनुभएको थियो ।

तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त पदमा सरकारले डा. मिश्रालाई अघि सार्ने तयारी गरेको हो । उहाँलाई उम्मेदवार बनाउन सरकारले सदस्य राष्ट्रहरूसँग कूटनीतिक समन्वय र समर्थन जुटाउने प्रक्रिया अघि बढाइसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

तर, आफैँ कार्यरत मन्त्रालयको मन्त्री र सचिव बन्न नपाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्नुभएकी डा. मिश्रालाई अहिले सरकारले डब्लुएचओ जस्तो अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाको क्षेत्रीय नेतृत्वका लागि अघि सारेपछि सरकारको निर्णयमाथि प्रश्न उठेको हो । मन्त्रालयभित्र ‘स्वदेशमा मन्त्री या सचिव बनाउन नहुने, अन्तर्राष्ट्रिय संस्थाको क्षेत्रीय निर्देशक चाहिँ बनाउन हुने ?’ भन्ने प्रश्नसमेत उठ्न थालेको छ । कतिपयले सरकारको पछिल्लो निर्णयलाई ‘सचिव पद नदिएर डब्लुएचओको क्षेत्रीय निर्देशकको उपहार’ दिन लागिएको भन्दै टिप्पणी गर्न थालेका छन् ।

डा. मिश्राले आफूभन्दा कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्त गरिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । सोही मुद्दा विचाराधिन अवस्थामा रहेकै बेला कार्की नेतृत्वका सरकारमा उहाँलाई स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस गरिए पनि विरोधपछि नियुक्ति रोकिएको थियो ।

सर्वोच्चले सरकारको निर्णय सदर गर्दै मुद्दाको किनारा लगाएपछि उहाँ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत रहनुभएको छ । यसअघि उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नेतृत्वसमेत गरिसक्नुभएको छ ।

डा. मिश्राको डब्लुएचओको क्षेत्रीय निर्देशक पदको उम्मेदवारीसँगै उहाँसँग जोडिएको अर्को विषय उहाँविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा पनि हो । स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिदसम्बन्धी अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मिश्रासहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले उक्त मुद्दामा डा. मिश्रालाई सफाइ दिएको छ । अदालतबाट सफाइ पाइसक्नुभएकी डा. मिश्रालाई अहिले सरकारले डब्लुएचओको क्षेत्रीय निर्देशकका लागि उम्मेदवार बनाउने तयारी गरेको हो ।

सरकारले भने डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय उहाँको लामो प्रशासनिक अनुभव, स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदान र अन्तर्राष्ट्रिय स्वास्थ्य नीतिबारेको अनुभवका आधारमा गरिएको दाबी गरेको छ ।

नेपालले यसअघि पनि डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा उम्मेदवारी दिएको थियो । सन् २०२३ मा नेपालका तर्फबाट डब्लुएचओ मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बन्नुभएको थियो । तर, उक्त निर्वाचनमा बंगलादेशकी साइमा वाजेदले आठ मत प्राप्त गर्नुभएको थियो भने डा. आचार्यले दुई मत मात्रै पाउनुभएको थियो । त्यसबेला नेपालको कमजोर कूटनीतिक तयारी र सदस्य राष्ट्रसँग प्रभावकारी समन्वय हुन नसकेको भन्दै आलोचना भएको थियो ।

यसपटक भने सरकारले सुरुदेखि नै कूटनीतिक पहल अघि बढाउने तयारी गरेको छ । नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन् । दक्षिण–पूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र रहे पनि यसपटक १० देशले मात्रै मतदान गर्न पाउने अवस्था रहेको बताइएको छ । सन् २०२१ को सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसंघीय प्रतिबन्धमा रहेको म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ । यस निर्वाचनमा भारतको समर्थन महत्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ ।