अनमोल केसी स्टारर फिल्म बाटुलो जूनको टिजरले सार्वजनिक भएको तीन दिनमै युट्यूबको फिल्म चार्टमा नेपालतर्फ शीर्ष स्थान हासिल गरेको छ।
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्मको टिजर नेपालसँगै एक दर्जनभन्दा बढी देशमा ट्रेन्डिङमा परेपछि फिल्मको चर्चा थप चुलिएको छ। गत शुक्रवार सार्वजनिक गरिएको टिजरले रिलिजको पहिलो तीन दिनमै युट्यूबको फिल्म चार्टतर्फ नेपालमा पहिलो स्थान हासिल गरेको हो। सामाजिक सञ्जालमा समेत टिजरले राम्रो चर्चा पाइरहेको छ।
भुवन केसीको निर्देशनमा बनेको फिल्मले ३० को दशकमा आधारित प्रेमकथा प्रस्तुत गर्छ। आदर्श प्रेमलाई केन्द्रमा राखिएको फिल्ममा तत्कालीन नेपाली समाजको परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।
प्रविधिमैत्री बन्दै तीव्र गतिमा बदलिएको पछिल्लो पुस्ताको प्रेमकथाभन्दा फरक समयको प्रेमलाई पर्दामा उतार्ने प्रयास फिल्ममा गरिएको छ। तत्कालीन सामाजिक परिवेश र त्यसबेलाको प्रेम गर्ने तौरतरिकालाई कथानकमा समेटिएको निर्माण पक्षले जनाएको छ।
टिजर सार्वजनिक भएपछि अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयको चर्चा भइरहेको छ। फिल्ममार्फत डेब्यू गर्न लागेकी प्रिन्सी खतिवडाको उपस्थितिले पनि दर्शकको ध्यान तानेको छ। अनमोलसँगै प्रिन्सी फिल्मका प्रमुख कलाकार हुन्।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको बाटुलो जून आगामी कार्तिक २६ गते रिलिजमा आउँदैछ। जिया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पाश्र्व संगीत रहेको छ। फिल्ममा विवेक थापा सह–निर्माता छन्।











प्रतिक्रिया