–हिमकुण्ड बढ्दै, हिमनदी घट्दै
–नेपालका २१ सम्भावित जोखिमयुक्त हिमतालमध्ये केहीमा उच्च निगरानी आवश्यक
काठमाडौँ ।
नेपालले अब बाढीलाई केवल मनसुनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन । हिमालमा जमेको बरफ घटिरहेको छ, हिमनदी पछाडि हटिरहेका छन्, नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन् । अर्कोतर्फ तीव्र पहिरो, हिम–चट्टान खस्ने घटना, प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो बहाव आउने जोखिमसमेत बढ्दै गएको छ ।
यही बदलिँदो हिमाली भूगोलबीच करिब छ वर्षअघि पहिचान गरिएको ४७ सम्भावित जोखिमयुक्त हिमतालको सूची अहिले फेरि गम्भीर रूपमा चर्चामा आएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीसँग सम्बन्धित ४७ सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ नेपालमा, २५ चीनको तिब्बत क्षेत्रमा र एउटा भारतमा रहेको अध्ययनले देखाएको थियो । ४७ मध्ये ४२ वटा कोशी नदी प्रणालीमा परेका थिए ।
यसलाई नयाँ सूची वा पछिल्लो वर्ष मात्रै गरिएको अध्ययनका रूपमा बुझ्न नहुने विज्ञहरूले चेतावनी दिएका छन् । कारण, हिमालयको भौगोलिक तथा जलवायु अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रमका अनुसार नेपालमा करिब १,४६६ हिमताल पहिचान गरिएको सूचीमा २१ वटा सम्भावित रूपमा खतरनाक मानिएका छन् । जसमध्ये छवटा उच्च जोखिम समूहमा राखिएको थियो ।
भोटेकोशीले फेरि देखायो, हिमाली विपद् एउटै कारणबाट आउँदैन । रसुवामा भदौ १० मा आएको विनाशकारी बाढीले यही जोखिमलाई नयाँ कोणबाट देखाएको छ । तर यस घटनालाई सिधै ‘हिमताल विस्फोटबाट आएको बाढी’ भनेर निष्कर्ष निकाल्नु वैज्ञानिक रूपमा हतार हुने विज्ञहरूले बताएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक विश्लेषणअनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको चीन सीमातर्फको क्षेत्रमा हिमनदी समेटिएको तीव्र ढलान भासिनुबाट माटो, ढुंगा र गेग्रानसहितको बाढी र बाढीको घटना सुरु भएको हुनसक्ने देखिएको छ । उक्त बहाव ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदी प्रणालीमा करिब १ सय किलोमिटर तलसम्म पुगेको प्रारम्भिक आँकलन छ । तर सुरुआती घटना हिमनदीको भाग भासिएको हो वा हिमनदी समेटिएको ठूलो पहिरो हो भन्ने विषय अझै स्पष्ट नभएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले पनि रसुवाको घटनालाई ठूलो अचानक आएको मलबेसहितको बाढीका रूपमा वर्णन गर्दै भोटेकोशी र त्रिशूली प्रणालीमा पानी, माटो तथा ठूला ढुंगाको तीव्र बहाव गएको जनाएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले २०२६ मार्चमा सार्वजनिक गरेको नयाँ अध्ययनले हिन्दुकुश हिमालयका हिमनदीमा भइरहेको परिवर्तनबारे अझ गम्भीर तस्बीर प्रस्तुत गरेको छ । अध्ययनअनुसार सन् २००० पछि यस क्षेत्रमा हिमनदीको बरफ गुमाउने दर दोब्बर भएको छ । सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइमा २७ मिटरसम्म कमी आएको तथ्यसमेत अध्ययनले प्रस्तुत गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले २०२६ अगस्टमा सार्वजनिक गरेको क्षेत्रीय हिममण्डल रणनीतिले हिमनदी, हिउँ र स्थायी जमेको माटोको अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको तथा नदीको बहाव थप अनिश्चित बन्दै गएको जनाएको छ ।
कोशीमा सबैभन्दा ठूलो जोखिम
४७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी नदी प्रणालीमा रहेको अध्ययनले देखाएको तथ्य आफैँमा गम्भीर छ । कोशी प्रणालीमा पर्ने हिमतालबाट आउने बहावले उच्च हिमाली क्षेत्र हुँदै पहाडी र तराईसम्म असर पार्ने बताइएको छ । यसबीचमा नेपालका धेरै महत्वपूर्ण जलविद्युत् आयोजना, सडक, पुल, बजार र नदी किनारका बस्ती छन् ।
नेपालले पछिल्ला वर्षमा जलविद्युत् विकासलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाएको छ । तर जलविद्युत् आयोजना नदी प्रणालीसँग जोडिएकाले हिमाली बाढी, पहिरो र लेदोको बहावको जोखिमलाई आयोजनाको डिजाइनमै समावेश गर्नुपर्ने आवश्यकता बढेको छ ।
विश्व बैंकले समेत नेपालमा बाढी, पहिरो र हिमनदी पग्लिनेजस्ता जलवायुजन्य जोखिम बढ्दै गएको र जलविद्युत् जस्ता प्रकृतिमा निर्भर क्षेत्र विशेष रूपमा जोखिममा रहेको जनाएको छ । सन् २०२५ मा हरित जलवायु कोषले नेपालका हिमतालजन्य बाढीको जोखिम घटाउन ३ करोड ६१ लाख अमेरिकी डलरको अनुदान स्वीकृत गरेको थियो ।
यो कार्यक्रमअन्तर्गत थुलागी, तल्लो बरुण, लुम्दिङ त्सो र होङ्गु–२ गरी चार उच्च जोखिमयुक्त हिमतालमा पानीको सतह घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने, नदी किनार संरक्षण गर्ने तथा स्थानीय र राष्ट्रिय निकायको क्षमता बढाउने योजना छ । कार्यक्रमबाट २२ लाखभन्दा बढी मानिस लाभान्वित हुने लक्ष्य राखिएको छ ।
पूर्वसूचना अब साइरनमा मात्र सीमित हुनु हुँदैन
सोलुखुम्बुको थामेमा २०२४ मा भएको हिमताल विस्फोटले नेपाललाई पूर्वसूचनाको महत्व देखाइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार थामे खोलामा दुई जोडिएका हिमताल अचानक फुटेपछि बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको थियो । घटनापछि विभागले करिब १ लाख ४२ हजार मानिसलाई निःशुल्क पूर्वसूचना सन्देश पठाएको थियो ।
पालको नदीको मुहान सीमापार छ । त्यहाँ बन्ने हिमतालको जोखिम नेपालभित्र बसेर मात्रै व्यवस्थापन गर्न नसकिने सरकारले स्वीकार गरेको छ । यसका लागि नेपाल–चीनबीच नियमित सूचना आदानप्रदान, उपग्रह तथ्याङ्क साझेदारी, सम्भावित जोखिमको संयुक्त अध्ययन र आकस्मिक सूचना प्रणाली आवश्यक रहेको बताइएको छ ।
नेपालको भविष्यमा दुई विपरीत सङ्कट
हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ । अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा बहाव बढ्न सक्छ । हिमताल विस्तार हुन सक्छ । त्यसले आकस्मिक बाढीको जोखिम बढाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको बहाव घट्ने र खानेपानी, कृषि तथा जलविद्युत्मा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् २०२६ को हिम–हिउँसम्बन्धी प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशत कम भएको र लगातार चौथो वर्ष औसतभन्दा कम हिउँ परेको जनाएको छ । यसले यस क्षेत्रबाट उत्पन्न हुने १२ प्रमुख नदी प्रणालीमा निर्भर करिब दुई अर्ब मानिसको पानी सुरक्षामा चिन्ता बढाएको छ ।












प्रतिक्रिया