गरिखाने शिक्षा अबको आवश्यकता

0
Shares

नेपाल सम्भावनै सम्भावनाले भरिएको देश हो । हाम्रो देशमा जल, जमिन र जडीबुटी प्रकृतिका अमूल्य वरदानका रूपमा रहेका छन् । यी स्रोतको सही सदुपयोग गर्न सक्ने हो भने नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन सकिन्छ । तर प्राकृतिक स्रोत र सम्भावना भएर मात्र देश समृद्ध हुँदैन । त्यसका लागि श्रम गर्नुपर्छ, उत्पादन गर्नुपर्छ र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक हुन्छ । त्यसैले आजको नेपालको सबैभन्दा ठूलो आवश्यकता हो– गरिखाने शिक्षा ।

हामीले वर्षौंदेखि शिक्षालाई किताब, परीक्षा र प्रमाणपत्रसँग मात्र जोडेर हेर्दै आएका छौँ । विद्यार्थीले धेरै कुरा पढ्छ, परीक्षा दिन्छ र प्रमाणपत्र प्राप्त गर्छ । तर उसले आफ्नो जीवनमा आवश्यक पर्ने सीप, श्रम, उद्यम र उत्पादनको ज्ञान कति पायो ? यही प्रश्न आज गम्भीररूपमा उठाउनुपर्ने बेला आएको छ ।

विद्यार्थीलाई किताबको भारी मात्र होइन, सीप र दक्षताको खानी बोकाऔँ । किनकि विद्यालय तहदेखि नै गरिखाने शिक्षा नीति लागू गर्नुपर्छ । शिक्षा यस्तो हुनुपर्छ, जसले विद्यार्थीलाई जागिर खोज्ने मात्र होइन, आफैँ काम सिर्जना गर्न सक्ने बनाओस् । हातमा सीप, दिमागमा ज्ञान र मनमा देशप्रतिको जिम्मेवारी भएको जनशक्ति उत्पादन गर्न सके मात्र देशले नयाँ गति लिन सक्छ ।

आज ठूलो संख्यामा युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । आफ्नै देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता विकास हुँदै गएको छ । तर वास्तविकता के हो भने, नेपालमा गर्न सकिने कामको कमी छैन । कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी, पशुपालन, उद्योग, सूचना प्रविधि, हस्तकला तथा अनेकौँ क्षेत्रमा अपार सम्भावना छन् । समस्या सम्भावनाको कमी होइन, सम्भावनालाई उत्पादनमा बदल्ने नीति, प्रविधि, सीप र इच्छाशक्तिको कमी हो ।

त्यसैले काम ठूलो वा सानो हुँदैन । कामप्रतिको हाम्रो चेतना ठूलो हुनुपर्छ । श्रमलाई सम्मान गर्ने संस्कार विद्यालयदेखि नै विकास गर्नुपर्छ । विद्यार्थीलाई खेतबारी, उद्योग, प्रविधि, व्यवसाय र उत्पादनसँग जोड्नुपर्छ । पढाइसँगै प्रयोगात्मक काम, सीपमूलक तालिम र उद्यमशीलताको अभ्यास गराउनुपर्छ ।

‘गफ जोतेर देश बन्दैन, बाँझिएको खेतबारी जोतौँ, देश आफैँ बन्छ ।’ यो भनाइ केवल नारामा सीमित हुनुहुँदैन । यसलाई व्यवहारमा उतार्नुपर्छ । आफ्नो माटोमा श्रम गर्ने संस्कार विकास गर्नुपर्छ । अरूको आशामा बस्ने होइन, आफ्नै श्रम र क्षमतामा विश्वास गर्न सिक्नुपर्छ ।
श्रम पिता हर्कराज राईज्यूको हर्कवादले पनि यही सन्देश दिन्छ– आफ्नो देश आफैँ बनाऔँ, श्रम गरौँ, उत्पादन गरौँ र स्वावलम्बी बनौँ । हर्कवादको मूल भावलाई व्यवहारमा उतार्ने हो भने शिक्षा प्रणालीलाई पनि उत्पादनमुखी बनाउन आवश्यक छ ।

हामीले विद्यालयमा देशभक्ति पनि पढाउनुपर्छ । नेपालकै माटो चिन्न सिकाउनुपर्छ । आफ्नै गाउँ, आफ्नै खेत, आफ्नै नदी, आफ्नै वन, आफ्नै जडीबुटी र आफ्नै सम्भावनाबारे विद्यार्थीलाई ज्ञान दिनुपर्छ । शिक्षाले आफ्नै देशमा भविष्य देख्ने आत्मविश्वास पैदा गर्नुपर्छ ।

हाम्रो शिक्षा आयातमुखी उपभोगको मानसिकता विकास गर्ने खालको होइन, उत्पादनमुखी र स्वावलम्बी बनाउने खालको हुनुपर्छ । आफूले खाने अन्न, सागसब्जी र आवश्यक खाद्यवस्तु उत्पादन गर्ने संस्कारलाई प्रोत्साहन गर्नुपर्छ । कृषि उत्पादनमा आधुनिक प्रविधि र वैज्ञानिक ज्ञान जोड्नुपर्छ । विषादीयुक्त खाद्यवस्तुको निर्भरता घटाउँदै स्वस्थ र स्वच्छ उत्पादनतर्फ अघि बढ्नुपर्छ ।

युवालाई विदेश जानै पर्ने बाध्यता सिर्जना गर्ने होइन, स्वदेशमै अवसर खोज्न सक्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यसका लागि युवामैत्री व्यावसायिक शिक्षा, सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, प्रविधिमा पहुँच, बजारको सुनिश्चितता र उत्पादनमा आधारित नीति आवश्यक छ ।

हामीले अब शिक्षा र रोजगारीलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्नुहुँदैन । शिक्षा नै रोजगारी र उत्पादनको आधार बन्नुपर्छ । विद्यालयबाट निस्किँदा विद्यार्थीले एउटा प्रमाणपत्र मात्र होइन, एउटा सीप, एउटा दक्षता र एउटा सम्भावित उद्यम लिएर निस्कनुपर्छ ।
मैले धेरैपटक भन्दै आएको छु– ‘गरिखाने शिक्षा अबको आवश्यकता हो ।’ यो आवाज म आज पनि उठाइरहेको छु र देश समृद्धिको बाटोमा नदौडिएसम्म उठाइरहनेछु । किनकि देश भाषणले मात्र बन्दैन, योजना मात्र बनाएर पनि बन्दैन । देश श्रमले बन्छ, उत्पादनले बन्छ, इमानदार प्रयासले बन्छ ।

अब हामीले अरूको आशामा बाँच्ने मानसिकता त्याग्नुपर्छ । आफ्नै देशमा काम गरौँ, श्रम गरौँ, उत्पादन गरौँ र स्वावलम्बी बनौँ । विदेशमा गुलाम बनेर पसिना बगाउनुभन्दा आफ्नै देशको माटोमा श्रम गरेर आत्मसम्मानका साथ बाँच्ने वातावरण निर्माण गरौँ ।
आफ्नो देश आफैँ बनाऔँ । आफ्नो माटो आफैँ चिनौँ । श्रमलाई सम्मान गरौँ । उत्पादन बढाऔँ । युवालाई स्वदेशमै रोकौँ । र, विद्यालयदेखि नै गरिखाने शिक्षा लागू गरौँ । किनकि अबको आवश्यकता केवल पढ्ने शिक्षा होइन, गरिखाने शिक्षा हो ।