चामल–दालमोठ होइन, अब खानेपानी चाहियो

0
Shares

धादिङ गल्छी ।

रसुवाको भोटेकोशी नदीमा हिमपहिरोपछि आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति गरायो । बाढीका कारण गल्छी क्षेत्रमा २७९ परिवार विस्थापित भए भने ११४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की पुल र छवटा झोलुङ्गे पुल बाढीले बगाएको छ । सडक तथा यातायात संरचनामा समेत ठूलो क्षति पुगेपछि बाढी प्रभावित बस्तीमा राहत तथा उद्धार सामग्री पु¥याउनसमेत चुनौती देखिएको थियो ।

विपद्पछि प्रभावित क्षेत्रसम्म पुग्ने सडक खुलाउने कामलाई प्राथमिकतामा राखियो । गाउँपालिकाले बाढी प्रभावित परिवारलाई दोस्रो दिन नै प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गरायो । विभिन्न संघसंस्था, राजनीतिक दल, स्थानीय समूह तथा व्यक्तिहरूबाट राहत वितरणको क्रम पनि चल्यो । प्रभावित परिवारका घरघरमा तीन बोरा चामल पुगे । दालमोठ, चिउरा, नुनतेललगायतका खाद्य सामग्री पनि वितरण गरिए । कतिपय परिवारलाई भाँडाकुँडासमेत उपलब्ध गराइएको छ ।

तर बाढीपछि जीवन धान्न सबैभन्दा अत्यावश्यक बनेको खानेपानीतर्फ भने पर्याप्त ध्यान पुग्न सकेको छैन । राहतका रूपमा चामल, दालमोठ र चिउरा पाए पनि अहिले बैरेनीका बाढी प्रभावितको एउटै माग छ– ‘हामीलाई खानेपानी चाहियो ।’

बाढीले गल्छी–६ बैरेनी बजारलाई समेत नराम्ररी प्रभावित बनाएको छ । बजारका खानेपानीका धारा, पाइप, वितरण लाइन र शौचालयमा क्षति पुगेको छ । बाढीका कारण गत १० गतेदेखि बैरेनी बजारमा खानेपानी आपूर्ति बन्द छ । बजारमा रहेका करिब २५० घरधुरीले प्रयोग गर्दै आएका तीनवटा खानेपानी आयोजनामा क्षति पुगेपछि अहिले बैरेनीमा खानेपानीको हाहाकार भएको छ ।

बैरेनी बजार खानेपानी आयोजना, जिन्टेटार डिप बोरिङ र जुडिखोला–बैरेनी बजार खानेपानी आयोजनाबाट स्थानीयले पानी उपभोग गर्दै आएका थिए । यी तीनै प्रणालीमा बाढीले क्षति पु¥याएपछि नियमित पानी आपूर्ति हुन सकेको छैन । बाढी प्रभावित परिवार मात्र होइन, बैरेनी बजारका अधिकांश बासिन्दा नै खानेपानीको अभावमा परेका छन् । पानी खानसमेत नपाउने अवस्था आएपछि स्थानीयवासी छट्पटिन थालेका छन् ।

‘राहतमा चामल र दालमोठ धेरै आयो, चिउरा पनि आयो । तर अहिले हामीलाई सबैभन्दा बढी चाहिएको पानी हो’, स्थानीयवासी गोविन्द पौडेलको भनाइ छ– ‘खानेपानी नहुँदा चामल भए पनि के गर्ने ?’

खानेपानी मानिसको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवार अस्थायी आश्रयमा बसिरहेका बेला खानेपानीको अभावले उनीहरूको दैनिकी थप कष्टकर बनेको छ । पिउनका लागि मात्र होइन, खाना पकाउन, शौचालय प्रयोग गर्न, हातमुख धुन तथा सरसफाइका लागि समेत पानी आवश्यक पर्छ । लामो समयसम्म स्वच्छ पानीको व्यवस्था हुन नसकेमा दूषित पानी तथा अस्वच्छ वातावरणका कारण विभिन्न प्रकारका रोग तथा महामारी फैलिन सक्ने जोखिमसमेत बढेको छ ।

बाढीले खानेपानीको मूल, पाइपलाइन, धारा तथा वितरण प्रणालीमा क्षति पु¥याएकाले पुरानो प्रणाली तत्काल सञ्चालनमा ल्याउन सहज भने छैन । बैरेनी बजार खानेपानी आयोजनाका अध्यक्ष गोकर्ण दहालका अनुसार खानेपानी आपूर्ति पुनः सञ्चालन गर्न कनेक्सन जोड्ने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम सुरु गरिएको छ । तर बाढीबाट धेरै ठाउँमा क्षति भएकाले मर्मत तथा पुनःस्थापनामा समस्या भइरहेको उहाँले बताउनुभयो । ‘पानी सञ्चालन गर्न कनेक्सन जोड्ने काम सुरु गरेका छौँ । तर बाढीले धेरै ठाउँमा संरचना क्षति भएकाले तत्काल सबै ठाउँमा पानी पु¥याउन समस्या छ’ –दहालले बताउनुभयो ।

स्थानीय तहले भने खानेपानीको समस्या बाढीपछि नै पहिचान गरेको जनाएको छ । गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले बैरेनी क्षेत्रमा खानेपानीका पाइप, धारा तथा वितरण लाइनमा क्षति पुगेको जानकारी तीन दिनअघि नै सम्बन्धित निकायलाई गराइएको बताउनुभयो । खानेपानी पुनः सञ्चालनका लागि तत्काल पहल आवश्यक रहेको उहाँको भनाइ छ ।

विपद्का बेला राहतको प्राथमिकता खाद्यान्नमा केन्द्रित हुनु स्वाभाविक भए पनि प्रभावित क्षेत्रमा खानेपानी र सरसफाइलाई बेवास्ता गर्न नहुने स्थानीयको भनाइ छ । राहत सामग्रीको थुप्रो लागे पनि पानीको एउटा बोतलका लागि भौँतारिनुपर्ने अवस्थाले विपद् व्यवस्थापनको प्राथमिकतामाथि नै प्रश्न उठाएको छ ।

बाढीपछि जिल्लामा विपद् व्यवस्थापनअन्तर्गत खानेपानी तथा स्वच्छता क्लस्टरसमेत सक्रिय रहेको भए पनि बैरेनी बजारमा देखिएको खानेपानी संकटलाई सम्बोधन गर्न प्रभावकारी पहल भएको देखिएको छैन । प्रभावित क्षेत्रमा तत्काल अस्थायी रूपमा सुरक्षित खानेपानी पु¥याउने, क्षतिग्रस्त पाइपलाइन तथा धाराको मर्मत गर्ने र दीर्घकालीन रूपमा खानेपानी प्रणाली पुनःनिर्माण गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय नरेश खतिवडाको माग छ । ‘चामल–दालमोठ हामीले पायौँ, अब पानी चाहियो’ स्थानीयवासीको यो माग अहिले बैरेनीको साझा आवाज बनेको छ ।