काठमाडौं।
नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीन चिकित्सक नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, प्रा.डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। चिकित्सकका पेशागत हकहित, स्वास्थ्य नीति तथा स्वास्थ्य सेवा सुधारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका तीनै जना चिकित्सक कांग्रेसको राजनीतिमा समेत आबद्ध छन्।
पार्टीको केन्द्रीय नेतृत्वमा चिकित्सकको प्रतिनिधित्व बढाउने उद्देश्यसहित उनीहरू महाधिवेशनको प्रतिस्पर्धामा उत्रिएका हुन्। डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन्। दुवै चिकित्सक लामो समयदेखि कांग्रेसको संगठन र स्वास्थ्यसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन्। डा. केदारनरसिंह केसी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी कांग्रेसको स्वास्थ्यसम्बन्धी गतिविधिमा सक्रिय छन्। कांग्रेसले हालै गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारीसमेत उनलाई दिएको छ।
चिकित्सकको पेशागत हकहितसँगै स्वास्थ्य नीति र स्वास्थ्य सेवाका विषयमा पार्टीभित्र आफ्नो भूमिका बढाउँदै आएका डा. केसी यसपटक खुलातर्फबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा छन्। डा. मुक्तिराम श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ पनि खुलातर्फबाट केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा छन्। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरेको अनुभव भएका श्रेष्ठ कांग्रेसको स्वास्थ्य विभागमा समेत रहेर काम गरिसकेका छन्।
श्रेष्ठले यसअघि कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनी थोरै मतले पराजित भएका थिए। यसपटक भने उनी खुलातर्फबाट केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। प्रा.डा. अञ्जनीकुमार झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा भने मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा छन्। मधेश भूगोलबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। क्यान्सर रोग विशेषज्ञ डा. झा चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्षसमेत हुन्।
स्वास्थ्य शिक्षा, अनुसन्धान र चिकित्सा क्षेत्रका नीतिगत विषयमा लामो अनुभव भएका झा कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्। उनले कांग्रेसको १४औँ महाधिवेशनमा पनि मधेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला ८०२ मत पाए पनि उनी निर्वाचित हुन सकेका थिएनन्। नेपाल चिकित्सक संघको नेतृत्व गरिसकेका तीन चिकित्सक एकैपटक कांग्रेसको केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा रहेकाले यसपटकको महाधिवेशनमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्वसमेत चासोको विषय बनेको छ। चिकित्सकीय पेशाको अनुभव, स्वास्थ्य नीति निर्माण र पार्टी संगठनमा सक्रियताको पृष्ठभूमि भएका उनीहरूको उम्मेदवारीले कांग्रेसको आगामी स्वास्थ्य नीति निर्माणमा चिकित्सकको भूमिकाबारे बहससमेत बढाएको छ।











प्रतिक्रिया