पर्यटन प्रवद्र्धनसँगै सामाजिक सेवामा युवा

0
Shares

स्याङ्जा । पर्यटकीय क्षेत्रको प्रवद्र्धन, संरक्षण तथा सामाजिक सेवा र विकासमा स्थानीय युवाहरु सक्रिय भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाका युवाहरु ‘द राइजिङ्ग ग्रुप’ मार्फत पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै संरक्षण तथा सामाजिक सेवा र विकासमा सक्रिय भएका हुन् । नगरभित्रका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार, सरसफाइमा एकजुट देखिएका युवाले सामाजिक सेवाका गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्रिय युवाले स्थानीयको आयआर्जन वृद्धिमा जोड दिँदै नियमित रुपमा पुनर्मिलन, खेलकुद, सडक सुरक्षाको मापदण्ड र लागूऔषध विरुद्धको अभियान चलाएका छन् ।

रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका युवालाई समन्वय गर्दै स्थानीय युवाले पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै संरक्षणमा महत्वपूर्ण टेवा पु¥याएको चापाकोट नगरपालिका नगरप्रमुख देवबहादुर खाँण ‘ईश्वर’ ले बताउनुभयो । पर्यटन विकासका गतिविधिसँगै युवाहरुले सञ्चालन गरेका सामाजिक र मानवीय सेवा, खेलकुद, सडक सुरक्षा र लागूऔषध विरुद्ध चलाएको अभियानमा नगरपालिकाले क्षमताअनुसार सहयोग र साथ दिएको प्रमुख खाँणको भनाइ छ ।

नगरपालिकाका पर्यटकीय स्थल आँधीघाट, दिसिङ्कोट, पीपलडाँडा, कोटकालिका मन्दिर, सेखामको मनकामना मन्दिर, रामडाँडा, साँखरको केलादीधाम, रामघाट, जामनुडाँडा, पुरकोट, रत्नपुरको मणिमुकुन्देश्वर, खोरियाघाट, उत्तरगंगा र जोगिकुटीको प्रवद्र्धन गर्दै आएका युवाले नियमित सरसफाइस्वरुप फोहोर व्यवस्थापनमा डस्बिन हस्तान्तरण गरेका छन् । मठमन्दिर, प्रतीक्षालय, पाटीपौवा, पार्क, बगैंचा र पुराना तथा ऐतिहासिक चौतारी मर्मत तथा संरक्षणमा स्थानीय तहसँगै सहकार्य गरेको राइजिङ्ग ग्रुपले जनाएको छ ।

तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा प्रचुर सम्भावना रहेको चापाकोट उपत्यका क्षेत्रभित्र पर्यटन आकर्षणका थुप्रै स्थल रहेको ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले बताउनुभयो । ‘स्थानीयसँग सहकार्यमा पर्यटकीय स्थलको थप प्रवद्र्धन गर्न सके आन्तरिक र बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने थियो’, अध्यक्ष घर्तीले भन्नुभयो, ‘पर्यटक बढेसँगै आम्दानी बढ्ने र प्याराग्लाइडिङ क्षेत्रको विस्तार तथा नगरभित्रका होमस्टेको क्षमता वृद्धि गर्न सकेमात्रै रोजगारी सिर्जना गर्न सकिन्छ ।’

मानवीय सेवा र सामाजिक विकासतर्फ युवाले प्रहरीसँग हातेमालो गर्दै सडक सञ्जालभित्र नगरका प्रमुख चोक, घनाबस्ती र विद्यालय परिसरमा जेब्रा क्रसिङ निर्माण, युवा तथा विद्यार्थीलाई लक्षित गरी क्लब, आमा समूह र विद्यालय तहमा लागूऔषध दुव्र्यसनी विरुद्ध अभियान चलाउँदै आएका छन् । चाडपर्व केन्द्रित उत्सव, मनोरञ्जन, सांस्कृतिक र खेलकुदका नियमित कार्यक्रम सञ्चालन गरेका युवाले टोलटोल र गाउँगाउँमा पुनर्मिलनका गतिविधिलाई निरन्तरता दिएका छन् ।

युवाहरुको साझा प्रयासमा विगत ७ वर्षदेखि पर्यटकीय स्थलको प्रवद्र्धन, संरक्षण तथा मानवीय र सामाजिक सेवाका गतिविधि सञ्चालन गरेको ग्रुपका सचिव तथा स्थानीय युवा गोपीकृष्ण रेग्मीले बताउनुभयो । युवाले गर्दै आएका अधिकांश कामहरु सेवामुखी रहेको बताउँदै सचिव रेग्मीले आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी स्थानीय विकास निर्माणमा साझेदारी गरिने योजना रहेको सुनाउनुभयो ।

पर्यटकीय स्थलमा सञ्चालित होमस्टे, होटल तथा रेस्टुरेन्टमा व्यापार फस्टाउँदै गएको छ भने मनोरञ्जन तथा खेलकुदका गतिविधिले आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् । युवाहरुको प्रयासमा भएका विभिन्न कार्यक्रमले चहलपहल बढेको तथा स्थानीयको व्यापार व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, रोजगारीमा बाहिर रहेका र स्थानीय युवाहरुकै सहयोगमा रचनात्मक काम गरेको ग्रुपले आफ्ना कामलाई स्थायित्व दिन कोष निर्माण अनिवार्य भएको जनाएको छ । साना र सेवामुखी कामहरु सहयोगकै भरमा चलाउन सकिने भए पनि ठूला र विकास निर्माणका कार्य गर्न कोषको आवश्यक रहेको गु्रपको बुझाइ छ । स्थानीय सरकार र दातासँग मिलेरै कोष व्यवस्थापनको नीति लिएको ग्रुपले जनाएको छ ।