एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट रोकाया सम्मानित


काठमाडौं, (नेस) ।

कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकायालाई एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गिहेन्द्र घिमिरेले रोकायालाई सम्मान गरेका हुन् । उनलाई सम्मानका साथ २ लाख ५० हजार प्रदान गरिएको हो । उनी कर्णाली याक्स हिरोजको रूपमा टिमको ब्रान्ड एम्बेसाडर रहने बताइएको छ ।

कठिन भुगोल र संघर्षलाई छिचोल्दै हरि बहादुर रोकायाले स्कुल जीवनदेखि दौड सुरू गरेका थिए । उनले १९८८ को सिओल र १९९२ को बार्सिलोना ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । कुल ११ राष्ट्रिय स्वर्ण पदक जितेका रोकायाले दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा कास्य पदक प्राप्त गरेका थिए ।

खेल जीवनपछि प्रशिक्षणमा होमिएका उनी कर्णालीमा हरि गुरूको रूपमा परिचित छन् । उनले जुम्लाबाट राष्ट्रलाई विश्वरूपा बुढा, राजन रोकाया, पुर्णलक्ष्मी, ट्रेल रनर सानुमाया बुढा र मिरा राई जस्ता खेलाडीलाई प्रशिक्षण दिएका छन् ।
सम्मानपछि कर्णाली याक्सलाई दिँदैं प्राप्त गर्ने रकम जुम्लाको खेलाडीको प्रशिक्षण लगायतमा प्रयोग गर्ने रोकायाले बताए ।