–हेलिकोप्टरको आवाजले मात्रै भंग गर्छ सन्नाटा
–रसुवागढीदेखि बेत्रावतीसम्म मृत्युको मौनता
–बस्ती बगरमा परिणत, सडकविहीन गाउँ ‘नाकाबन्दी’मा
बाढीको छैटौँ दिन : घरमा भोटेताल्चा, गोठमा भोकाएका पशु, नदी किनारमा आफन्त खोज्दै एकोहोरो आँखा
रसुवागढी ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको छैटौं दिनसम्म पनि रसुवागढीको जनजीवन सामान्य हुन सकेको छैन । बाढीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहसनहस बनाएपछि रसुवागढी, टिमुरे र स्याफ्रुवेँसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ ।
सोमवार हेलिकोप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किंदा देखिएको दृश्यले बाढीको क्षति जमिनबाट अनुमान गरिएभन्दा निकै ठूलो रहेको देखाएको छ । नदी किनारका बस्ती, सडक, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीले पु¥याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन ।
आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ । सडक भएको ठाउँमा हिलो र ढुङ्गाको थुप्रो छ । पुल रहेका स्थानमा नदीको धार मात्रै देखिन्छ । कतिपय घर उभिएका छन् तर मानिस छैनन् । ढोकामा भोटेताल्चा झुन्डिएका छन् ।
बाढीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँलगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमाक्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ ।
अहिले त्यहाँ हेलिकोप्टरको आवाज सुनिन्छ । त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ । रसुवागढीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिशूली नदी आसपासको भूगोलमा बाढीले पु¥याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन । बाढीले राज्यको नियमित पहुँचका आधारहरू सडक, पुल, सञ्चार र आपूर्ति प्रणालीसमेत गम्भीर रूपमा प्रभावित बनाएको छ ।
नदी किनारका बस्तीहरू प्रत्यक्ष रूपमा बाढीको चपेटामा परेका छन् । तीमध्ये कतिपय बस्तीमा घर तथा संरचनाको नामोनिसानसमेत छैन । तर नदीभन्दा माथिल्लो क्षेत्रमा रहेका बस्तीहरूमा पनि सङ्कट बढ्दै गएको छ ।
घरहरू छन्, मानिसहरू छन्, खेतबारी छन्, बाढीबाट ज्यान जोगाएर मानिसहरू सुरक्षित स्थानतर्फ गए । तर उनीहरूले घरमा छाडेका पशुहरू भने अझै जोखिममा छन् । सुनसान घर र गोठबाट गाईवस्तु कराएको आवाज सुनिन्छ । खान नपाएका पशुहरूका लागि तत्काल उद्धार वा खाद्यान्नको व्यवस्था गर्नुपर्ने अवस्था छ ।
गोल्जुङका श्याम घलेका अनुसार अहिले घरपालुवा जनावरको उद्धार गर्नसमेत कठिन छ । घरपालुवा जनावरको उद्धार गर्ने अवस्था नै नभएको उहाँ बताउनुहुन्छ । उद्धार टोलीका लागि अहिले प्राथमिकता मानव जीवन बचाउनु हो । तर त्यससँगै घरमा छाडिएका पशुहरूको व्यवस्थापन पनि चुनौती बन्दै गएको छ ।
बेत्रावतीमा भेटिएका वीरेन्द्र सापकोटा बाढीपछि लगातार त्रिशूली नदीतर्फ हेरेर बसिरहनु भएको छ । उहाँको परिवारका १८ जना सदस्य तथा आफन्त बाढीमा बगेका छन् । उहाँ भने बाँच्न सफल हुनुभयो । तर बाँच्नुको खुसी उहाँको अनुहारमा छैन । ‘श्रीमतीसहित १८ जना आफन्त बगे । म बाँचेको छु । आफन्त भेटिन्छन् कि भनेर कुरेको आज छ दिन भयो । न सास फेला परेको छ, न लास,’ सापकोटा भन्नुहुन्छ । छ दिनदेखि उहाँको कुनै आफन्त जीवित फेला पर्छ कि अथवा कम्तीमा शव भेटिन्छ कि भन्ने प्रतीक्षामा हुनुहुन्छ । उहाँले भन्नुभयो– ‘अब म बाँच्नुको अर्थ पनि देख्न छाडेँ ।’ बाढीले सिर्जना गरेको मानवीय क्षतिको गहिराइ बुझाउन पर्याप्त उहाँको भनाइ थियो– ‘हामीले जमिन, आफन्त सबै गुमायौँ । अब हामीसँग केही पनि बाँकी छैन । बाँकी छ केवल हाम्रो जीवन, आफन्त भेटिने आश पनि मारिसकेका छौँ । सरकारले बाँचेका मानिसलाई मर्नबाट जोगाओस् भन्ने मात्रै हाम्रो माग हो ।’
हेलिकोप्टरबाहेक पहुँच कठिन
बाढीपछि नदी किनारका धेरै क्षेत्रमा जमिनबाट पुग्नसमेत कठिन भएको छ । कतिपय ठाउँमा दलदल र हिलो छ । कतै भत्किएको सडक छ । कतै नदीको धारले पुरानो भूगोल नै परिवर्तन गरेको छ । मानव शरीर रहेको आशङ्का गरिएका कतिपय स्थानमा समेत उद्धार टोलीलाई हेलिकोप्टरको साहारा लिनुपर्ने अवस्था छ । यसले खोज तथा उद्धार कार्यलाई थप जटिल बनाएको छ ।
आफन्त गुमाएका परिवारहरू भने नदी किनार आसपासमा आफ्ना मान्छेको खोजीमा छन् । उनीहरूलाई सरकारी तथ्याङ्कभन्दा पहिले आफ्ना आफन्तको अवस्था जान्नु छ । जीवित छन् भने भेट्न चाहन्छन् । नभए शव पाएर अन्तिम संस्कार गर्न चाहन्छन् । तर बाढीले दुवै सम्भावनालाई कठिन बनाएको छ ।
क्षतिको वास्तविक तथ्याङ्क अझै अन्योलमा
भोटेकोशी बाढीले रसुवागढीदेखि बेत्रावतीसम्म पु¥याएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । बाढीको बहावले मानिस, घर, सवारी साधन, संरचना र अन्य सामग्री बगाएर तल्लो तटीय क्षेत्रसम्म पु¥याएको छ । कतिपय शव फेला परिरहेका छन् । कतिपय मानिस अझै बेपत्ता छन् । तर बाढीको प्रभाव क्षेत्र ठूलो भएकाले क्षतिको वास्तविक आकार निर्धारण गर्न समय लाग्ने देखिन्छ । हेलिकोप्टरबाट हेर्दा पनि क्षतिको सम्पूर्ण विवरण तत्काल निकाल्न सकिने अवस्था छैन ।
भौगोलिक कठिनाइका कारण प्रत्येक प्रभावित स्थानमा पुगेर विवरण सङ्कलन गर्न चुनौती छ । रसुवामा अहिले राहत आवश्यक छ । तर राहतभन्दा ठूलो प्रश्न राहत कसरी पु¥याउने ? भन्ने बनेको छ । सडक छैन,पुल छैन,अधिकांश क्षेत्रमा क्षेत्रमा यातायात अवरुद्ध छ । यस अवस्थामा हेलिकोप्टरमार्फत राहत पु¥याउनु महँगो र सीमित विकल्प हो ।
तर तत्कालका लागि जोखिममा रहेका बस्तीमा खाद्यान्न, औषधी, पानी र अत्यावश्यक सामग्री पु¥याउन वैकल्पिक हवाई तथा पैदल आपूर्ति प्रणाली विकास गर्नुपर्ने देखिन्छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी प्राथमिकताका आधारमा राहत तथा उद्धार गर्नुपर्ने आवश्यकता छ ।
उद्धारको प्रयास प्रशंसनीय
भोटेकोशीको बाढीले बाटो, पुल र बस्तीसमेत तहसनहस पारेको अवस्थामा पनि उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका टोलीको प्रयास भने प्रशंसनीय देखिन्छ । जमिनबाट पुग्नै कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत उद्धार तथा खोजी अभियान सञ्चालन गर्नु, जोखिम मोलेर नदी किनार र प्रभावित क्षेत्रमा पुग्नु तथा सुरक्षित स्थानमा जीवित उद्धार गरिएकालाई तत्काल स्थानान्तरण गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । बाढीपछि भौगोलिक अवस्था नै बदलिएको र कतिपय स्थानमा दलदल तथा पहिरोको जोखिम कायम रहे पनि सुरक्षाकर्मीहरू लगातार खोज तथा उद्धारमा परिचालित छन् ।
विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी र प्राविधिक टोलीले गरिरहेको प्रयास अझ संवेदनशील छ । त्रिशूली–३ ‘ए’ को सुरुङमा ठूलो सङ्ख्यामा मानिस रहेको आशङ्का गरिएपछि सुरुङ ‘ब्रेक थ्रु’ गरी जीवित उद्धार गर्ने प्रयास दिनरात जारी छ । बाहिर नदीको बहाव र भत्किएको भूगोल तथा भित्र सुरुङको कठिन अवस्थाबीच उद्धार टोलीले जीवन खोजिरहेको छ । अपेक्षित समयमा सुरुङसम्म पुग्न नसकिए पनि प्रयास नरोकिनु अहिलेको अवस्थामा आशाको एउटा आधार बनेको छ ।
सुरुङभित्र जीवन खोज्दै सेना
बाढीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौतीमध्ये एक बनेको छ,जलविद्युत् आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा मानिस थुनिएको आशङ्का गरिएको छ । नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा ४० देखि ५० जनासम्म मानिस रहेको अनुमान गरिएको छ । उद्धार टोली सुरुङमा पुग्ने र ‘ब्रेक थ्रु’ गर्ने प्रयासमा लगातार खटिएको छ । ‘आजसम्म यो सुरुङ ब्रेक थ्रु हुन्छ भन्ने थियो, तर त्यो सम्भव भएन,’ बरालले भन्नुभयो । सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ । बाहिर नदीले बाटो काटेको छ । भित्र सुरुङले मानिसको बाटो रोकेको छ । बीचमा उद्धार टोली जीवन खोजिरहेको छ । समय भने निरन्तर बितिरहेका












प्रतिक्रिया