एक समय क्रिकेट ‘जेन्टलम्यान’ खेलको रूपमा मात्र सीमित थियो । विश्वव्यापी ब्रिटिस औपनिवेशकालीन समयमा ब्रिटिसहरूबीच मात्र सीमित यो खेललाई विलासितासँग जोडेर हेरिन्थ्यो । दुवै पक्षले सेतो पोशाक लगाएर कयौं दिनसम्म ‘टेस्ट’ प्रारूपमा खेलिने यो खेलले अहिले आफ्नो घेरा धेरै फराकिलो बनाइसकेको छ । ५० ओभरको एक दिवसीय हुँदै केही घन्टाको २० ओभरको लिगसम्म आइपुग्दा आज यो खेल अर्बौं डलरको विश्वव्यापी उद्योग बनेको छ । मैदानमा ब्याट र बलको भिडन्त चल्दा पर्दापछाडि प्रसारण अधिकारको होडबाजी, कर्पोरेट लगानी र रणनीतिक योजनाको अर्को खेल चलिरहेको हुन्छ । फ्रेन्चाइज लिगहरूले जितहारको भावनालाई अर्थतन्त्र, पर्यटन र राष्ट्रिय पहिचानसँग जोडिदिएका छन् । तिनै लिगहरूको यात्रा हेर्दा एउटा सत्य छर्लङ्ग हुन्छ । त्यो हो, दूरदृष्टि, लगानी र जनताको साँचो माया मिले क्रिकेटले सानो देशलाई समेत विश्वको नक्सामा उभ्याउन सक्छ ।
यस यात्राको शिखरमा छ इन्डियन प्रिमियर लिग (आईपीएल) । सन् २००८ मा भारतीय क्रिकेट नियन्त्रण बोर्डले सुरु गर्दा यसले विश्व खेलकुदको परिदृश्य नै बदल्छ भनेर कमैले सोचेका थिए । अमेरिकी वित्तीय संस्था हुलिहान लोकीको सन् २०२६ को अध्ययनअनुसार आईपीएलको कुल व्यावसायिक मूल्य करिब २०.६ अर्ब अमेरिकी डलर पुगेको छ । यो नेपाली रुपियाँमा करिब २८ खर्ब हुन आउँछ र अघिल्लो वर्षभन्दा ११ प्रतिशतभन्दा बढी वृद्धि हो । प्रति महाखेलका आधारमा विश्वमा अमेरिकाको एनएफएल मात्र आईपीएलभन्दा अघि छ । रोयल च्यालेन्जर्स बेंगलुरुलाई ब्ल्याकस्टोनसहितको लगानीकर्ता समूहले करिब १.७८ अर्ब डलरको मूल्याङ्कनमा किनेको छ भने राजस्थान रोयल्सको सौदा १.६५ अर्ब डलरमा भएको छ । यो सफलताको जग १.४ अर्बभन्दा बढी जनसंख्या भएको देशको क्रिकेटप्रतिको जुनून, विश्वका दिग्गज र घरेलु प्रतिभाको संगम, र वर्षैभरि चल्ने कर्पोरेट संरचना हो ।
अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ले भने फरक बाटो रोज्यो । क्रिकेट अस्ट्रेलियाले सन् २०११–१२ मा सुरु गरेको यो लिगले गर्मीको विद्यालय बिदालाई पारिवारिक उत्सवमा बदलिदियो । रंगीन बत्ती, बालबालिकाका लागि मनोरञ्जन र उत्कृष्ट क्रिकेटको मिश्रणले गम्भीर खेललाई सबैको साझा मनोरञ्जन बनायो । यसको बजार मूल्यबारे विभिन्न संस्थाका अनुमान फरक–फरक छन्, तर एक अनुमानअनुसार यो करिब ११५ मिलियन अमेरिकी डलर हो । आईपीएलको तुलनामा सानो भए पनि अस्ट्रेलियाली खेल संस्कृतिमा यसको जरा गहिरो छ ।
पाकिस्तान सुपर लिग (पीएसएल) को कथा भने साहसिक छ । सन् २०१६ मा पाकिस्तान क्रिकेट बोर्डले लिग सुरु गर्दा देश सुरक्षा र राजनीतिक चुनौतीले गाँजिएको थियो । सुरुका संस्करण संयुक्त अरब इमिरेट्सका तटस्थ मैदानमा खेल्नुप¥यो । यही लिग क्रमशः आफ्नै भूमि फर्किंदा कराँची, लाहोर र रावलपिन्डीका रंगशाला दर्शकले भरिए, र धेरैका आँखा खुसीले रसाए । कडा बलिङ र चर्को प्रतिस्पर्धाका कारण पीएसएल राष्ट्रिय स्वाभिमानको प्रतीक बनेको छ ।
त्यस्तै, सन् २०१३ मा सुरु भएको क्यारिबियन प्रिमियर लिग (सीपीएल) ले क्रिकेटमा संगीत, नृत्य र उत्सवको रङ भ¥यो । यसले आफूलाई ‘खेलकुदको सबैभन्दा ठूलो पार्टी’ भनेर चिनाएको छ । रसेल, पोलार्ड र गेलजस्ता विस्फोटक खेलाडीको भूमि वेस्ट इन्डिजका साना अर्थतन्त्रका लागि यो लिग पर्यटन र रोजगारीको आधार पनि हो । बंगलादेश प्रिमियर लिग (बीपीएल) ले घरेलु प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चम्कने अवसर दिएको छ । दक्षिण अफ्रिकाको एसए–२० सन् २०२३ मा सुरु भएको नयाँ लिग हो, जसका छ वटै टोली आईपीएल फ्रेन्चाइज मालिकहरूको स्वामित्वमा छन् । त्यही लगानी र दक्षिण अफ्रिकाको क्रिकेट पूर्वाधारले यसलाई छोटो समयमै विश्वभरका खेलाडीको रोजाइ बनाएको छ ।
यी स्थापित लिगहरूका बीच नेपाल प्रिमियर लिग (एनपीएल) को कथा अलि फरक र निकै प्रेरणादायी छ । यो आईपीएल वा बीबीएलजस्तो अर्बौँको लिग होइन । यदाकता यसको मूल्य १० करोड डलर पुगेको भन्ने दाबी प्रमाणित छैन । तथ्य यो हो कि सन् २०२४ मा आठवटै फ्रेन्चाइज टिम करिब १६ करोड ८९ लाख रुपियाँमा तयार भएका थिए । तर, त्यहाँबाट तीन वर्षमै लिग यति बढेको छ कि यसको तेस्रो संस्करणमा क्रिकेट संघले १ अर्ब ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष व्यापार हुने अनुमान गरेको छ । प्रत्येक टोलीको औसत खर्च १० करोडबाट १५ करोड रुपियाँ पुग्ने अपेक्षा छ र विजेताले १ करोड ५० लाख रुपियाँ पाउनेछ । दर्जनौँ कर्पोरेट ब्रान्डहरू जोडिएका छन् र सिद्धार्थ बैंकजस्ता संस्थाले लिगलाई पर्यटन, लगानी र अन्तर्राष्ट्रिय ब्रान्डिङको माध्यमका रूपमा हेरेका छन् । विश्वका नामी खेलाडी हिमालको देशमा आएर खेल्न थालेका छन् । भौतिक पूर्वाधार र सीमित स्रोतका बाबजुद त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा उर्लिने दर्शकको उत्साहले नै यो लिगको सबैभन्दा ठूलो सम्पत्ति बनेको छ ।
त्यसैले एनपीएलको कथा आँकडामा होइन, सम्भावनामा लेखिएको छ । आईपीएलले अर्बौँको साम्राज्य खडा ग¥यो, पीएसएलले कठिनाइबीच आत्मसम्मान जोगायो, सीपीएलले उत्सवबाट अर्थतन्त्र चलायो । एनपीएलले पनि प्रमाणित गर्न थालेको छ कि सपना ठूलो र नीति स्पष्ट भए सानो देशले पनि उत्कृष्ट गन्तब्य बनाउन सक्छ । ब्याटबाट निस्कने हरेक चौका–छक्का र विकेट गिर्दा बज्ने हरेक ताली मनोरञ्जन मात्र होइन, युवाको भविष्य, रोजगारी र राष्ट्रिय गौरवको आधार पनि हो । अब चुनौती यही सफलतालाई पारदर्शी व्यवस्थापन र दिगो लगानीमार्फत टिकाउनु हो ।








तपाईंको विचार लेख्नुहोस्