काठमाडौँ ।
बाढीले बगाएका मानिसको खोजी जारी छ । तर खोजीमा भेटिने शवको सङ्ख्या पनि बढिरहेको छ । नेपाल प्रहरीले शनिवार बेलुकासम्म ६६९ जनाको शव फेला परेको जनाएको छ । तीमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।
त्यसैगरी विभिन्न स्थानबाट २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरी तथ्याङ्क छ । रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६ सय २२ र धादिङबाट तीन जनाको उद्धार गरिएको जनाइएको छ ।
अब राज्यले के सुधार्नुपर्छ ?
भोटेकोशी बाढीले उद्धार प्रणालीका केही कमजोरी सतहमा ल्याएको छ । पहिलो,एकद्वार प्रणालीलाई सहायता रोक्ने होइन, सहायता समन्वय गर्ने प्रणाली बनाउनुपर्ने आवाज तीव्र रूपमा उठेको छ ।
दुर्गम क्षेत्रमा राहतको ‘आवश्यकता नक्सा’ बनाएर कुन ठाउँमा खाद्यान्न, औषधी, पानी र हेलिकोप्टर आवश्यक छ भन्ने वास्तविक समयको विवरण सार्वजनिक गर्नु पर्ने, निजी हेलिकोप्टर, गैरसरकारी संस्था, स्वयंसेवक र स्थानीय स्रोतलाई स्पष्ट प्रोटोकल बनाएर परिचालन गर्नुपर्ने, बेपत्ता व्यक्तिको एकीकृत विवरण सार्वजनिक र अद्यावधिक गर्नुपर्ने, फेला परेका प्रत्येक शवको वैज्ञानिक अभिलेख, डीएनए नमुना र फोटो सुरक्षित राखिनुपर्ने आवाज पनि उठेको छ ।
सरकारले ‘हामीले धेरै गरिरहेका छौँ’ भन्ने तथ्याङ्कसँगै ‘कहाँ कमी भयो’ भन्ने आत्मसमीक्षा पनि सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ । स्याफ्रुबँेसीमा हेलिकोप्टरको आवाज सुन्दा पीडितहरू आकाशतिर हेर्छन् । सायद राहत आउँदै छ कि, औषधी आउँदै छ कि, आफ्ना आफन्त खोज्न टोली आउँदै छ कि, अब आफूलाई पनि कसैले सम्झिएको छ कि भन्ने आशमा रहेका छन् ।
चितवनमा शव राख्ने ठाउँसमेत अभाव
बाढीले बगाएर ल्याएका शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ । चितवनमा मात्रै त्रिशूली र नारायणी नदीबाट भेटिएका सयौँ शव व्यवस्थापन गर्नुपरेको छ । यसअघि शवगृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नुपरेको थियो । पछिल्लो विवरणअनुसार चितवनमा सङ्कलित २३३ शवमध्ये आठ वटा पहिचान भएका छन्, बाँकी शवको पहिचान प्रक्रिया जारी छ ।
पहिचान हुन नसकेका तथा बेवारिसे शवलाई व्यवस्थापन गर्नुअघि डीएनए नमुना सङ्कलन, सङ्केत नम्बर र अभिलेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ । त्यसपछि देवघाट क्षेत्रमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय भएको छ । यो निर्णय आफैँमा भावनात्मक रूपमा अत्यन्त कठिन छ ।
किनकि आज ‘बेबारिसे’ भनिएको शव भोलि कसैको छोरा, कसैको बुबा, कसैकी आमा वा कसैको श्रीमान् हुन सक्छ । त्यसैले शव व्यवस्थापन केवल स्वास्थ्य वा प्रशासनिक काम होइन, यो हराइरहेका परिवारको भविष्यसँग जोडिएको अन्तिम आशा हो ।
डीएनए नमुना, फोटो, ट्याग, पहिचान नम्बर र सुरक्षित अभिलेख अनिवार्य राखिनु यही कारणले महत्वपूर्ण छ । पछि कुनै परिवारले आफ्नो सदस्यको खोजी गर्दा राज्यसँग प्रमाण हुनुपर्छ । चितवन प्रशासनले शवको वीभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । यस्तो सामग्रीले मृतकका परिवारलाई थप पीडा दिने र सामाजिक त्रास बढाउने प्रशासनको भनाइ छ ।











प्रतिक्रिया