हिमपातले शवको उद्धारमा ढिलाइ


मुगु ।

मुगु र हुम्लाको सीमाक्षेत्रमा जडीबुटी सङ्कलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएपछि उद्धारमा भएको ढिलाइले मृतकका आफन्त र बेपत्ताका परिवार १० दिनदेखि पीडामा छन् । झडपमा मृत्यु भएका एक जनाको शव सुरक्षाकर्मीले घटनास्थलमै फेला पारे पनि बाक्लो हिउँ र ञ विकटताका कारण शव सदरमुकाम ल्याउन सकिएको छैन । एक जना अझै बेपत्ता छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–९, पापु र छाइलाका स्थानीय कुट्की जडीबुटी सङ्कलनका लागि मुगु र हुम्लाको सीमाक्षेत्रमा पर्ने मिमी पाटन वनतर्फ गएका बेला असोज ११ गते दुई पक्षबिच झडप भएको थियो । झडपमा मुगुमकार्मारोङ गाउँपालिका–९, पापुका २२ वर्षीय गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

झडपपछि सोही गाउँका २६ वर्षीय अङ्क रोकाया र ३६ वर्षीय ललितजङ बडुवाल सम्पर्क विहीन भएका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि असोज १६ गते सुरक्षाकर्मी र स्थानीय युवाको टोली घटनास्थलतर्फ गएको थियो । तीन दिनको कठिन यात्रापछि घटनास्थल पुगेको टोलीले अङ्क रोकायाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकाले रोकायाको शव ल्याउन नसकिएको हो । उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेकाले बेपत्ता ललितजङ बडुवालको खोजीसमेत प्रभावकारी रूपमा अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक थपलियाले भन्नुभयो, “घटनास्थल अत्यन्तै विकट छ । चारदेखि पाँच फिटसम्म हिउँ जमेको छ । सुरक्षाकर्मी घटनास्थलसम्म पुगे पनि शव ल्याउने अवस्था नभएपछि फर्किनु परेको हो ।” उहाँका अनुसार घटनामा सहभागी १३ जनामध्ये १० जना भने सम्पर्कमा आएका छन् ।

मुगुमकार्मारोङ गाउँपालिका–९ का समाजसेवी पूर्णबहादुर रोकायाले समयमै उद्धारका लागि हेलिकोप्टरको व्यवस्था हुन सकेको भए मृतक र बेपत्ताको अवस्था फरक हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले समयमै हेलिकोप्टरको व्यवस्था गरिदिएको भए अङ्कबहादुर रोकाया र ललितजङ बडुवालको उद्धार सम्भव हुने थियो । दुर्गम जिल्लाका नागरिकप्रति राज्यको व्यवहार पनि दुर्गम जस्तै देखिएको छ ।”

मुगु र हुम्लाको सीमामा पर्ने मिमी पाटन राष्ट्रिय वन क्षेत्रमा पर्छ । हुम्लाको चङ्खेली गाउँपालिकाबाट पाटन पुग्न करिब दुई दिन र मुगुको पापुबाट एक दिन लाग्ने गर्छ । बहुमूल्य जडीबुटी पाइने भएकाले मुगुमकार्मारोङ गाउँपालिकाका वडा नं. ७, ८ र ९ तथा छायानाथ रारा नगरपालिका–१४ लगायतका स्थानीयले परापूर्वकालदेखि उक्त क्षेत्रमा जडीबुटी सङ्कलन गर्दै आएका छन् ।

मुगुमकार्मारोङ गाउँपालिका–९ का मृतक अङ्कबहादुर रोकायाका आफन्त लालबहादुर रोकायाले आफन्तको शव घर ल्याउन नसक्दा परिवार थप पीडामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाइको शव घटनास्थलमै छ । शव घर ल्याउन नसक्दा अहिलेसम्म घरमा चुलो बलेको छैन । गाउँ शोकमा डुबेको छ ।” उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न र बेपत्ता ललितजङ बडुवालको खोजी तथा मृतकको शव तत्काल उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण पाण्डेका अनुसार घटनास्थलमा अत्यधिक हिउँ जमेकाले जिल्लामा उपलब्ध सुरक्षासम्बन्धी उपकरणबाट उद्धार गर्न कठिनाइ भएको छ । उद्धारमा खटिएका केही सुरक्षाकर्मीसमेत बिरामी भएकाले अभियान प्रभावित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार मृतकको शव उद्धार तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपा?,lली सेनाको युनिफाइड कमान्ड परिचालन गर्ने निर्णय भएको छ ।