नयाँदिल्ली —
रक्षाबन्धन नजिकिँदै गर्दा भारतमा गाईको गोबरबाट बनाइएका राखी सामाजिक सञ्जालमा भाइरल बनेका छन्। वातावरणमैत्री र जैविक रूपमा नष्ट हुने दाबी गरिएका यी राखीले एकातर्फ मानिसको ध्यान खिचेका छन् भने अर्कोतर्फ सामाजिक सञ्जालमा तीव्र आलोचना र व्यंग्यको विषय बनेका छन्।
‘वैदिक राखी’ र ‘इको–फ्रेन्ड्ली राखी’का रूपमा प्रचार गरिएका यी राखी प्रशोधित गाईको गोबरबाट बनाइन्छन्। राखीभित्र विभिन्न बिरुवाका बीउसमेत राखिने भएकाले प्रयोगपछि माटोमा राख्दा त्यसबाट बिरुवा उम्रन सक्ने बताइएको छ।
भारतका उत्तराखण्ड र ओडिशाका केही क्षेत्रमा यस्ता राखी बिक्री भइरहेका छन्। निर्माताहरूका अनुसार मुम्बई, नोएडा र जयपुरजस्ता सहरबाट समेत यसको माग आएको छ। भुवनेश्वरमा बिक्री भइरहेका यस्ता राखीको मूल्य १५ देखि ७५ भारतीय रुपैयाँसम्म रहेको बताइएको छ।
सामाजिक सञ्जालमा भने यसको चर्चा सकारात्मकभन्दा बढी व्यंग्यात्मक देखिएको छ। केही प्रयोगकर्ताले ‘गोबरप्रतिको यस्तो मोह किन ?’ भन्दै प्रश्न गरेका छन् भने कतिपयले यसलाई अनौठो उत्पादन भन्दै मजाक गरेका छन्।
तर, यस्ता राखीका समर्थकहरूले भने यसलाई परम्परा र वातावरण संरक्षणलाई जोड्ने नयाँ प्रयासका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार सामान्य प्लास्टिक वा सजावटी सामग्रीबाट बनेका राखी फोहोर बन्न सक्छन्, जबकि बीउ राखिएका गोबरका राखी प्रयोगपछि माटोमा मिसिएर बिरुवाका रूपमा विकसित हुन सक्छन्।
उत्तराखण्डका सामाजिक अभियन्ता अजय प्रकाश बडोलाले विगत पाँच वर्षदेखि यस्तो राखी बनाउँदै आएको बताएका छन्। उनका अनुसार महिलाहरूलाई राखी निर्माणको तालिमसमेत दिइएको छ, जसबाट उनीहरूले आम्दानी गर्ने अवसर पाएका छन्। बिक्रीबाट हुने नाफाको २० प्रतिशत विपन्न बालबालिकाको सहयोगमा प्रयोग गरिने दाबीसमेत गरिएको छ।
यसरी गाईको गोबरबाट बनेका राखी अहिले भारतमा रक्षाबन्धनको नयाँ र अनौठो आकर्षण बनेका छन्। वातावरणमैत्री विकल्पका रूपमा यसको चर्चा भए पनि सामाजिक सञ्जालमा उठेको व्यंग्यले भने यो उत्पादनलाई अझै भाइरल बनाइदिएको छ।













प्रतिक्रिया