बहराइनस्थित अमेरिकी सैन्य बेसमा ६ ड्रोन प्रहार गरेको इरानको दाबी


काठमाडौं।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले बहराइनको अल–रिफा हेलिकप्टर बेसमा रहेको अमेरिकी वायु रक्षा प्रणालीको राडारलाई लक्षित गरी ६ वटा ड्रोन प्रहार गरेको जनाएको छ।

इरानी पक्षले उक्त आक्रमणलाई अमेरिकाको पछिल्लो सैन्य गतिविधिको जवाफस्वरूप गरिएको कारबाही भनेको छ। आक्रमणबाट लक्ष्यमा सटीक प्रहार भएको र बहराइनका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको पनि इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि बहराइनको गृह मन्त्रालयले सम्भावित सुरक्षा जोखिमबारे नागरिक तथा त्यहाँ बसोबास गर्ने व्यक्तिहरूलाई सचेत गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। मन्त्रालयले शान्त रहन र सुरक्षासम्बन्धी निर्देशन पालना गर्नसमेत अनुरोध गरेको थियो।

यसैबीच, बहराइनका अधिकारीहरूले आफ्नो हवाई रक्षा प्रणालीले इरानी हवाई आक्रमणहरू रोकेको जनाएका छन्। तर इरानले दाबी गरेअनुसार अमेरिकी राडारमा क्षति पुगेको विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यसअघि नोभेम्बर १३ मा पनि इरानले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडारमा आक्रमण गरेको दाबी गरेको थियो। तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गर्दै बहराइनतर्फ आएका दुईवटा इरानी ड्रोन खसालेको र कुनै क्षति वा मानवीय हताहती नभएको जनाएको थियो।

बहराइनमा पछिल्लो घटनाक्रमसँगै अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यमा बढ्दो तनावले समेत खाडी क्षेत्रको सुरक्षा अवस्थालाई प्रभावित पारिरहेको छ। -बीबीसी