अझै सामान्य हुन सकेन शेख हसिनाको गृह जिल्ला गोपालगंज


काठमाडौँ।

प्रतिबन्धित अवामी लिगका नेता तथा कार्यकर्ताले गरेको विरोध प्रदर्शन र त्यसक्रममा भएका हिंसात्मक घटनापछि बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृह जिल्ला गोपालगञ्जको अवस्था अझै सामान्य हुन सकेको छैन।

सोमबार विरोध प्रदर्शन वा हिंसाका नयाँ घटना नभए पनि जिल्लाभरि तनावपूर्ण अवस्था कायम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सम्भावित घटनालाई ध्यानमा राख्दै महत्वपूर्ण चोक, सडक तथा संवेदनशील क्षेत्रमा प्रहरीसहितका सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

स्थानीय पत्रकारहरूका अनुसार सुरक्षा अवस्थाका कारण सर्वसाधारण आवश्यक कामबाहेक घरबाहिर निस्कन सकेका छैनन्। यसैबीच, स्थानीय बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता तथा कार्यकर्ताले आइतबार भएका आक्रमण र तोडफोडका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

जिल्ला बीएनपीका नेताहरूका अनुसार सम्भावित आक्रमणको डरले केही स्थानीय बासिन्दाले आफ्नो घर छाडेर सुरक्षित स्थानमा आश्रय लिएका छन्। आइतबारका घटनामा घर तथा पसलहरूमा आक्रमण र तोडफोड भएको उनीहरूको दाबी छ।

यसअघि नोभेम्बर १५ मा शेख हसिनाको पार्टी अवामी लिगका नेता तथा समर्थकले गोपालगञ्जमा विरोध प्रदर्शन गर्दै हिंसात्मक गतिविधि गरेपछि प्रहरी उपायुक्त र प्रहरी अधीक्षकलाई पदबाट हटाइएको थियो।

सरकारले सोही दिन अवामी लिगका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। त्यसयता जिल्लाको सुरक्षा अवस्था संवेदनशील रहँदै आएको छ।