जिल्ला प्रशासनको सेवामा सहजता

0
Shares

स्याङ्जा ।

जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा सेवा लिन आउने नागरिकले विगतमा भोग्दै आएको लामो लाइन, एउटै कामका लागि विभिन्न कोठा धाउनुपर्ने झन्झट र दिनभर कार्यालयमै बिताउनुपर्ने बाध्यता अहिले धेरै हदसम्म हटेको छ । प्रशासनले सेवा प्रवाहको पुरानो ढाँचा परिवर्तन गर्दै एकद्वार सेवा प्रणाली लागू गरेपछि अधिकांश सेवा एउटै स्थानबाट सहजरुपमा उपलब्ध हुन थालेका छन् । नागरिकको समय, श्रम र खर्च बचाउने उद्देश्यले लागू गरिएको नयाँ प्रणालीपछि कार्यालयको सेवा प्रवाह व्यवस्थित बनेको प्रशासनको दाबी छ । अनावश्यक भीड, झन्झट र बिचौलियाको प्रभावसमेत घट्दै गएको बताइएको छ । एउटै कामका लागि सेवाग्राहीलाई एउटा कोठाबाट अर्को कोठा धाउन नपर्ने गरी कार्यालयको संरचना पुनः व्यवस्थित गरिएको छ । लामो लाइन, भनसुन र पटक–पटक कार्यालय धाउनुपर्ने पुरानो झन्झट हट्दै गएपछि प्रशासनप्रति नागरिकको भरोसा पनि बढ्न थालेको छ ।

कार्यालयमा टोकन प्रणाली सञ्चालनमा ल्याइएपछि सेवाग्राहीले मेसिनबाट टोकन लिएर एउटै सेवा कक्षबाट आवश्यक सेवा लिन सक्ने व्यवस्था गरिएको छ । सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरुमा कागजात रुजु गर्छन् । आवश्यक कागजात अपुग भए प्रक्रिया पूरा गर्न सुझाव दिइन्छ भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराई कुर्सीमा बसेर पालो कुर्ने व्यवस्था मिलाइएको छ । अशक्त, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा दिइने भएपछि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था हटेको छ ।

आधा घण्टामै नागरिकताको प्रतिलिपि

अर्जुनचौपारी गाउँपालिका–३ गहतेकी मिना क्षत्रीले प्रशासनको सेवा प्रवाहमा आएको परिवर्तनले आफू निकै खुशी भएको बताउनुभयो । उहाँले केही वर्षअघि पहिलोपटक नागरिकता बनाउन बिहान १० बजे प्रशासन पुगे पनि दिउँसो ३ बजेसम्म काम नसकिँदा गाउँ फर्कने बससमेत छुटेको अनुभव सुनाउनुभयो । तर यसपटक आफ्नै नागरिकताको प्रतिलिपि बनाउन आउँदा आधा घण्टाभित्रै काम सकिएको भन्दै नयाँ प्रणाली प्रभावकारी भएको बताउनुभयो । आँधीखोला गाउँपालिका–१ का शम्भु गुरुङले पनि सेवा प्रवाहमा आएको सुधारको प्रशंसा गर्नुभयो । विगतमा बिचौलियाले अनावश्यक दुःख दिएर सेवाग्राहीबाट रकम असुल्ने अवस्था अहिले क्रमशः अन्त्य हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आफ्नो पालो आउँछ र काम हुन्छ, यही नै सबैभन्दा ठूलो परिवर्तन हो ।’
यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन पुग्ने सेवाग्राहीले दिनभर लाइन बस्नुपर्ने, कागजात नमिल्दा फेरि फर्किनुपर्ने र कतिपय अवस्थामा सदरमुकाममै बस्नुपर्ने अवस्था थियो । अहिले टोकन प्रणाली लागू भएसँगै सेवा छिटो र व्यवस्थित हुन थालेको सेवाग्राहीको अनुभव छ ।

एउटै फ्लोरबाट सबैजसो सेवा

जिल्ला प्रशासन कार्यालयले पहिलाभन्दा अहिले व्यवस्थितरुपमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक दर्ता तथा वितरण, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक तथा वितरणलगायतका सेवा एउटै फ्लोरबाट उपलब्ध गराउन थालेको छ । सेवाग्राहीका लागि सुविधासम्पन्न वेटिङ हल, खानेपानी र निःशुल्क वाइफाइको समेत व्यवस्था गरिएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कार्यालयको प्रवेशद्वारमै सहायता कक्ष स्थापना गरिएको छ । सहजकर्तामार्फत राहदानी र राष्ट्रिय परिचयपत्रका लागि निःशुल्क अनलाइन आवेदन भर्ने, आवश्यक कागजात जाँच गर्ने, प्रमाणीकरण गर्ने तथा आवश्यक परामर्श दिने व्यवस्था मिलाइएको छ । कार्यालयसँग सम्बन्धित आवश्यक कागजातको फोटोकपीसम्मको सेवा पनि निःशुल्क उपलब्ध गराउन थालिएको छ । यसले सेवाग्राहीको अतिरिक्त खर्चसमेत घटाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले प्रक्रिया पुनःसंरचना गरिएकाले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई २० देखि ३० मिनेटभित्रै नागरिकता उपलब्ध गराउन सकिने अवस्था बनेको बताउनुभयो । त्यस्तै, नायब सुब्बा रामप्रसाद पौडेलका अनुसार दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीका कारण वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया अझ सहज बनेको छ ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने अभियान अघि बढाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउने लक्ष्यअनुसार एकद्वार सेवा प्रणाली लागू गरिएको बताउनुभयो । उहाँका अनुसार नागरिकले अनावश्यक झन्झट, बिचौलियाको प्रभाव र अतिरिक्त खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य गर्दै प्रशासनलाई प्रविधिमैत्री र सेवामुखी बनाउने कामलाई निरन्तरता दिइनेछ । भौगोलिक रुपमा विकट बस्ती रहेको स्याङ्जामा गाउँबाट सदरमुकाम पुग्न नागरिकले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एक दिनमै काम सकिने वातावरण बनेपछि टाढाबाट आउने सेवाग्राहीलाई ठूलो राहत पुगेको प्रशासनको विश्वास छ । सीमित स्रोत र जनशक्तिकै प्रयोगबाट सेवा सुधारको प्रयास सफल बन्दै गएको प्रशासनले जनाएको छ ।