धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुने

भदौ १ देखि ओपीडीमा मात्रै


काभ्रे।

डेढ महिनादेखि स्थगित रहेको धुलिखेल अस्पतालको स्वास्थ्य बीमा सेवा आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालले हालका लागि बहिरङ्ग (ओपीडी) सेवामा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने जनाएको छ ।

स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन गर्नेबारे जानकारी गराउन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक प्रा. डा. बलराम मल्लले नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले आर्थिक स्रोतको सीमितताका कारण स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधामा परिमार्जन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार भदौ १ गतेदेखि शनिबार, आइतबार तथा सार्वजनिक बिदाबाहेकका दिनमा अस्पतालको ओपीडी सेवामा स्वास्थ्य बीमा अन्तर्गत २५ हजार बराबरको सुविधा उपलब्ध हुनेछ ।

प्रा. डा. मल्लले नयाँ आर्थिक वर्षदेखि लागू भएको संशोधित व्यवस्थाअनुसार नेपाल सरकारअन्तर्गतका अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवामार्फत उपचार लिन चाहने सेवाग्राहीले प्रथम सेवा केन्द्रबाट अनिवार्य रूपमा रिफरल (सिफारिस) लिएर मात्र सेवा लिन सक्ने बताउनुभयो । सेवाग्राहीलाई नयाँ व्यवस्था बुझेर आवश्यक प्रक्रिया पूरा गर्न र एकैपटक भिडभाड नगर्न उहाँले आग्रह गर्नुभयो ।

अस्पतालका प्रशासकीय निर्देशक डा. बिराज कर्माचार्यले अस्पतालको आर्थिक अवस्थाबारे सरकारलाई लिखित जानकारी गराउँदै स्वास्थ्य बीमा बोर्डसँग पटक–पटक छलफलपछि डेढ महिनादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालका लागि ओपीडी सेवा मात्रै सञ्चालन गरिनेछ ।

अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले स्वास्थ्य बीमा सेवाबाट उपचार लिन आउने बिरामीले नयाँ रिफरल अनिवार्य रूपमा ल्याउनुपर्ने बताउनुभयो । उहाँका अनुसार बीमामार्फत २५ हजार रुपैयाँसम्मको ओपीडी सेवा उपलब्ध हुनेछ । नियमित औषधि सेवन गर्ने बिरामीले पनि स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको मापदण्डअनुसार मात्रै औषधि पाउनेछन भने शल्यक्रिया लगायतका भर्ना सेवा स्वास्थ्य बीमाबाट उपलब्ध नहुने जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी, अस्पतालका फार्मेसी विभाग प्रमुख हिरा श्रेष्ठले अस्पतालले स्वास्थ्य बीमाबाहेकका औषधिसमेत बाहिरी फार्मेसीको तुलनामा सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । अस्पतालले खरिद मूल्यमा १२ प्रतिशत मात्रै थप शुल्क लिए औषधि उपलब्ध गराउने भएकाले बिरामीलाई राहत मिलिरहेको उहाँको भनाइ थियो ।

निर्देशक डा. मल्लका अनुसार धुलिखेल अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट एक वर्षको करिब ७० करोड रुपैयाँ प्राप्त गर्नुपर्नेमा हाल १७ देखि २० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ । बीमा बोर्डबाट समयमै भुक्तानी नहुँदा आपूर्तिकर्ताले मुटु तथा मस्तिष्कको शल्यक्रियामा प्रयोग हुने अत्यावश्यक सामग्रीदेखि सामान्य पञ्जासम्म उपलब्ध गराउन छाडेपछि अस्पताल स्वास्थ्य बीमा सेवा स्थगित गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

“स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दा अस्पताललाई आर्थिक लाभभन्दा बढी तनाव थपिएको छ । तर राज्यको नीति, कानुनको पालना र नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने दायित्वका कारण हामीले सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेका हौँ,“ डा. मल्लले भन्नुभयो ।

उहाँले सरकारी अस्पतालहरूलाई सरकारले तलब, औषधि, उपकरण तथा पूर्वाधारका लागि प्रत्यक्ष बजेट उपलब्ध गराउने भए पनि धुलिखेल अस्पताल त्यस्तो पूर्ण सरकारी अनुदानमा सञ्चालन नहुने उल्लेख गर्दै औषधि, उपकरण र शल्यक्रियासम्बन्धी खर्चको विषयमा स्वास्थ्य बीमा बोर्डसँग थप छलफल आवश्यक रहेकाले तत्कालका लागि ओपीडी सेवा मात्र सञ्चालन गर्ने सहमति भएको र आउदो भदौं अन्त्य सम्म बाँकी बकौता पनि चुक्ता गरिसक्ने सहमती भए अनुरुप विहिवार ८ करोड भुक्तानी भएको स्पष्ट पार्नुभयो ।