काठमाडौं।
कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी उपयोग गर्न सके विकासशील देशहरूले परम्परागत रूपमा सय वर्ष लाग्ने विकासको गति एक दशकभित्र हासिल गर्न सक्ने सम्भावना रहेको विश्व बैंकले औंल्याएको छ । तर त्यसका लागि विद्युत्, इन्टरनेट, डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र सुदृढ संस्थागत क्षमता निर्माणमा तत्काल लगानी आवश्यक रहेको विश्व बैंकको निष्कर्ष छ ।
विश्व बैंकले सार्वजनिक गरेको विश्व विकास प्रतिवेदन २०२६ : ‘द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ले विकासशील अर्थतन्त्रका लागि एआईको सबैभन्दा ठूलो अवसर रोजगारी प्रतिस्थापनमा नभई श्रमिकको उत्पादकत्व अभिवृद्धिमा रहेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार उच्च आय भएका मुलुकमा १४.२ प्रतिशत रोजगारी जेनेरेटिभ एआईबाट स्वचालित हुने जोखिममा रहे पनि निम्न तथा मध्यम आय भएका देशमा यस्तो जोखिम ४.५ प्रतिशत मात्रै छ । अर्कोतर्फ विकासशील अर्थतन्त्रका १६.२ प्रतिशत रोजगारीमा एआईले प्रत्यक्ष रूपमा उत्पादकत्व बढाउन सक्ने देखिएको छ ।
प्रतिवेदनले विकासशील देशहरूमा व्यवसाय र सरकारी निकायहरूले एआई प्रयोग गरी समस्या समाधान, तथ्यांक विश्लेषण, पूर्वानुमान सुधार तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थालेको जनाएको छ । चिकित्सकलाई रोग पहिचान, किसानलाई बाली व्यवस्थापन, उद्योग–व्यवसायलाई उत्पादन क्षमता वृद्धि तथा सरकारलाई कर प्रशासन, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रमा एआई उपयोगी बन्न सक्ने उल्लेख गरिएको छ ।
विश्व बैंकका अनुसार विकासशील अर्थतन्त्रहरू अहिले तीन दशकयताकै कमजोर आर्थिक वृद्धिको चरणमा छन् । यद्यपि समयमै एआईको उपयोग र आवश्यक पूर्वाधार निर्माण गर्न सके दशकको अन्त्यसम्म आर्थिक वृद्धिमा उल्लेखनीय सुधार आउनुका साथै नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्ने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले अवसरसँगै चुनौतीबारे पनि चेतावनी दिएको छ। पर्याप्त विद्युत्, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, सीप र संस्थागत संरचना विकास नगरे एआईले देशहरूबीचको विकास अन्तर झन् बढाउने, असमानता गहिर्याउने, बजार शक्ति सीमित कम्पनीमा केन्द्रित गर्ने तथा सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउने जोखिम रहेको उल्लेख गरिएको छ। साथै व्यक्तिगत गोपनीयता, सुरक्षा र सामाजिक सद्भावमा समेत नकारात्मक असर पर्न सक्ने चेतावनी दिइएको छ ।
प्रतिवेदनले विकासशील मुलुकका लागि तीन चरणीय रणनीति अघि सारेको छ । पहिलो चरणमा उपलब्ध एआई प्रविधि अपनाउने, दोस्रो चरणमा त्यसलाई स्थानीय भाषा र आवश्यकताअनुसार अनुकूल बनाउने तथा तेस्रो चरणमा आवश्यक आधार तयार भएपछि उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। यसले पूर्वाधार तयार नगरी उन्नत प्रविधिको नक्कल गर्दा हुने अनावश्यक खर्च र असफलताबाट जोगाउन सहयोग पुग्ने विश्व बैंकको विश्वास छ ।
प्रतिवेदनले स्थानीय भाषामा डेटा उपलब्ध गराउने, कम्प्युटिङ क्षमता विस्तार गर्ने, नवप्रवर्तनशील कम्पनीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा एआई परियोजनाको परीक्षण, खरिद र मूल्यांकनका स्पष्ट मापदण्ड विकास गर्न सरकारलाई सुझाव दिएको छ ।











प्रतिक्रिया