डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठक सम्पन्न : ‘सबैका लागि स्वास्थ्य’ अभियानलाई तीव्र बनाउने सहमति


काठमाडौं।

श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार सम्पन्न भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औं बैठकले ‘सबैका लागि स्वास्थ्य’ सुनिश्चित गर्न ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेको छ । तीन दिन चलेको सो बैठकमा सदस्य राष्ट्रहरूले गर्दै एक दर्जनभन्दा बढी प्रस्तावहरू पारित गरेका छन् ।

बैठकले सन् २०५० सम्म दोब्बर हुने वृद्ध जनसंख्याको स्वास्थ्य र कल्याणलाई लक्षित गर्दै ‘सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वस्थ बुढ्यौली’ शीर्षकमा कोलम्बो घोषणापत्र पनि जारी गरेको छ । मन्त्रीस्तरीय गोलमेचमा सर्वसम्मत रूपमा स्वीकृत उक्त घोषणाले दीर्घकालीन स्वास्थ्य सुरक्षा र वृद्धअनुकूल स्वास्थ्य प्रणाली विकासमा जोड दिएको डब्लूएचओ दक्षिण पूर्वी एसियाद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विश्वव्यापी रूपमा बढ्दै गएको एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) विरुद्ध लड्न बहुक्षेत्रीय सहकार्य सुदृढ गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैठकले सदस्य राष्ट्रहरूलाई राष्ट्रिय कार्य योजना अद्यावधिक गर्न, घरेलु लगानी बढाउन र डब्लूएचओको जन–केन्द्रित दृष्टिकोणअनुसार प्राथमिक स्वास्थ्य प्रणालीमा मुख्य हस्तक्षेपहरू कार्यान्वयन गर्न आह्वान गरेको छ ।

डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमका अनुसार एन्टिमाइक्रोबियल प्रतिरोधले मौन महामारीको रूप धारण गर्दैछ र यसलाई रोक्न सरकारहरू बीचको साझा प्रतिवद्धता अनिवार्य भएको छ ।

सदस्य राष्ट्रहरूले महामारी, प्राकृतिक विपत्ति र अन्य स्वास्थ्य आपतकालका जोखिमलाई सम्बोधन गर्न ‘आपतकालीन तयारी, प्रतिक्रिया र पुनर्लाभ’सम्बन्धी प्रस्ताव पनि पारित गरेका छन् । यसले आपतकालीन चिकित्सा टोली, क्षेत्रीय समन्वय र समयमै उपचार पहुँचमा लगानी बढाउन सिफारिस गरेको छ ।
बैठकले सन् २०२६–२०२७ देखि लागू हुने दक्षिण–पूर्वी एसिया स्वास्थ्य आपतकालीन कोषका लागि अद्यावधिक नीति र कार्यपद्धति स्वीकृत गरेको छ । सन् २००८ देखि यो कोषमार्फत १० देशमा ४९ वटा स्वास्थ्य आपतकालीन अवस्थाहरूमा सहयोग पु¥याइएको थियो ।

बैठकले नयाँ निकोटिन उत्पादन र सुपारीको प्रयोगमा रोक लगाउने क्षेत्रीय रणनीतिक रूपरेखा पनि पारित गरेको छ । यसले धुम्रपानरहित सुर्ती, ई–सिगरेट र सुपारीको उत्पादन, बिक्री, विज्ञापन र प्रवद्र्धनमा कडाइ गर्न सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुका साथै धुम्रपान रोकथाम परामर्श सेवा र शिक्षा क्षेत्रमा सचेतना कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।

सदस्य राष्ट्रहरूले जलवायु जोखिम पहिचान गर्न र सबैका लागि, विशेषगरी जोखिममा रहेका समुदायका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रमाण–आधारित नीति उपकरणहरू अपनाउने र आप्रवासीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न नयाँ प्रस्ताव स्वीकृत गर्दै आप्रवासी–संवेदनशील स्वास्थ्य प्रणाली विकास गर्न, सीमापार सहकार्य सुदृढ गर्न र स्वास्थ्य बिमा तथा सेवामा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा विद्यालय स्वास्थ्य प्रवद्र्धनका लागि विश्वव्यापी मापदण्ड कार्यान्वयन, नागरिक दर्ता तथा महत्वपूर्ण तथ्यांक प्रणाली (सीआरभीएस) सुदृढीकरण, शारीरिक गतिविधि प्रवद्र्धन, र स्वास्थ्य व्यावसायिक शिक्षामा ‘स्वास्थ्य मानविकी’ विषय समावेश गर्ने निर्णयसमेत गरिएको पनि उल्लेख छ ।
त्यसै गरी, सिअहर्टस नामक मुटु रोग नियन्त्रण पहललाई सन् २०३० सम्म विस्तार गर्ने निर्णय गरिएको छ, जसले यस क्षेत्रमा बढ्दो हृदय रोगको बोझ घटाउने लक्ष्य राखेको छ ।

बैठकको समापन सत्रमा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दक्षिण–पूर्वी एसियाका देशहरूले स्वास्थ्यलाई दया होइन, अधिकारका रूपमा सम्बोधन गर्ने दृष्टिकोण देखाएको भन्दै सदस्य राष्ट्रहरूको एकता र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।