लक्ष्मी सनराइज बैंक र आइएमएसबीच सम्झौता


काठमाडौं ।

लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.लि.बीच साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन अनुसार बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जा आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन्।

यो सुविधा लिनका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा तोकिएको मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्।

बैंकका अनुसार यस सहकार्यले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै डिजिटल प्रणाली अपनाउन प्रोत्साहन गर्नेछ। डेटा–आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया छरितो र पारदर्शी हुने विश्वास लिइएको छ।