विश्वकप खेलाउन हिँडेका रेफ्री अध्यागमनबाटै फर्काइए


काठमाडौं ।  

फिफा विश्वकपको इतिहासमा पहिलो सोमाली रेफ्री बनेर नयाँ कीर्तिमान रच्ने तयारीमा रहेका ओमार अब्दुलकादिर अर्टानलाई अमेरिकाले प्रवेश अनुमति नदिएपछि उनी आसन्न विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् । 

सन् २०२५ का ‘अफ्रिकन रेफ्री अफ दि इयर’ घोषित अर्टान वैध भिसा र कूटनीतिक राहदानी (डिप्लोम्याटिक पासपोर्ट) सहित टर्कीको इस्तानबुलबाट म्यामी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । तर, अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) विभागले अतिरिक्त जाँचबुझ र ‘क्रस-भेटिङ’ को कारण देखाउँदै उनलाई देश भित्रिन अयोग्य ठहर गरी इस्तानबुल नै फिर्ता पठाइदिएको हो । अमेरिकी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै स्पष्ट विवरण नखुलाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमालियासहित केही देशहरूमाथि लगाएको कडा ‘भ्रमण प्रतिबन्ध’ (ट्राभल ब्यान) का कारण उनलाई रोकिएको बुझिएको छ । ह्वाइट हाउसको विश्वकप कार्यदलका सल्लाहकार एन्ड्रु जिउलियानीले अध्यागमनको यो निर्णय सही भएको भन्दै यसको खुला समर्थन समेत गरेका छन् ।

यस संवेदनशील घटनाप्रति फुटबलको सर्वोच्च निकाय फिफाले अर्टान अब २०२६ को विश्वकपमा सहभागी हुन नसक्ने कुराको औपचारिक पुष्टि गरेको छ । फिफाले आयोजक राष्ट्रको अध्यागमन र भिसा प्रक्रियामा आफ्नो कुनै हस्तक्षेप नहुने र कसलाई देश भित्रिन दिने भन्ने अन्तिम अधिकार सम्बन्धित सरकारकै हुने भन्दै लाचारी व्यक्त गरेको छ । उता, सोमालियाको खेलकुद मन्त्रालय र फुटबल संघले आफ्ना उत्कृष्ट रेफ्रीमाथि भएको यो व्यवहारप्रति कडा आपत्ति जनाउँदै खेलकुदमा राजनीतिकरण नगर्न फिफासँग स्पष्टीकरण माग गरेका छन् । सन् २०१८ देखि फिफाको सूचीमा रहेका र अफ्रिका कप अफ नेसन्स जस्ता ठूला प्रतियोगिता सफलतापूर्वक खेलाइसकेका अर्टानले भने यो ठूलो अवसर गुम्दा पनि धैर्यता देखाउँदै आफ्ना रेफ्री साथीहरूलाई विश्वकपको शुभकामना दिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपमा यो घटनाले राजनीतिक तथा कडा अध्यागमन नीतिहरूले विश्वव्यापी खेलकुद र खेलाडीको भावनामा कस्तो गम्भीर असर पार्न सक्छ भन्ने नयाँ बहस छेडिदिएको छ ।