फुटबल महाशक्तिलाई नवप्रवेशीको चुनौती

(जर्मनी विरुद्ध कुराकाओ, खेल : आइतबार राति : १०ः४५ बजे)


समूह ‘ई’ मा चारपटकको विश्व च्याम्पियन जर्मनीले कुराकाओ जस्तो नयाँ टोलीसँग खेलेर विश्वकप २०२६ को थालनी गर्नेछ । कुराकाओ यस विश्वकपमा सहभागीमध्ये सबैभन्दा सानो टोलीसमेत हो । साथै टोलीको यो पहिलोपटकको विश्वकप सहभागिता पनि हो । यही कारणले गर्दा जर्मनीको लागि कुराकाआलाई हराउनु त्यति कसरत गर्न नपर्ला ।

पछिल्ला दुई विश्वकपमा जर्मनीको प्रदर्शन निकै भयानक भएको थियो । रुस (२०१८) र कतार (२०२२) का प्रतियोगितामा सम्ुह चरणबाटै बाहिरिनु परेको जर्मनीसँग नमीठो अनुभव छ । यसैले जर्मनीले यो खेलमा सानदार जित हासिल गर्न नै खोज्नेमा कुनै शंका रहँदैन । त्यसो त जर्मनीको यूरो २०२४ मा यात्रा क्वार्टरफाइनलसम्म रहेको थियो । जुन खेलमा स्पेनसँग २–१ ले पराजित भएको थियो ।

तर, यो खेलमा जुलियन नागेल्स्म्यानको टोलीले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि हार बेहोर्नु परेको थियो । त्यस्तै, विश्वकप क्वालिफाइंगमा पनि स्लोभाकियासँग अवे खेलमा २–० मा हारेको जर्मनीले घरेलु मैदानमा ६–० ले हराएर स्लोभाकियासँग मीठो बदला लिएको थियो । यही जितले जर्मनीलाई लगातार १९ औं पटक विश्वकपमा छनोट पनि बनायो । स्लोभाकिया भने विश्वकपमा पुग्न सकेन ।

क्यारिबियन राष्ट्र कुराकाओले २०२५ को कन्काकाफ गोल्डकपमा तीनै खेलमा जित्न विफल भएको थियो । तर, विश्वकप छनोटमा भने समूह बी मा कुराकाओ शीर्ष स्थानमा रहेको थियो । पछिल्ला ठूला खेलमा यो टोली चीनसँग २–०, अस्टे«लियासँग ५–१ र स्कल्यान्डसँग ४–१ ले हारेको थियो । तर स्कटल्यान्डको खेलमा भने टाहिथ चोंगले १७ औं मिनेटमा गरेको गोलमा टोलीले अप्रत्यासिकत रुपमा अग्रता बनाएको थियो ।