नाडा अटो शो २०२५ का लागि स्टल स्थान तोक्ने कार्यक्रम उत्साहपूर्वक सम्पन्न


काठमाडौं
नेपाल अटोमोबाइल व्यवसायी महासङ्घ (नाडा) द्वारा आयोजना हुने बहुप्रतीक्षित नाडा अटो शो २०२५ को स्टल स्थान तोक्ने कार्यक्रम (एलोकेसन) उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । देशकै सबैभन्दा ठूलो मोटर प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

वि.सं. २०५५ सालदेखि सुरु भएको यो अटो शो अहिले सम्म आइपुग्दा नेपाली सवारी उद्योगको प्रमुख प्रविधि तथा नवप्रवद्र्धनको मञ्च बनेको छ । अटो क्षेत्रमा नवीनतम प्रविधिको प्रदर्शन, व्यापार प्रवद्र्धन तथा नीति संवादमा यसको योगदान उल्लेखनीय रहँदै आएको छ ।

प्रमुख सहभागीहरू

चार पाङ्ग्रे सवारी ब्रान्डहरूमा डिपाल, अभातर, डोङफेङ नाम्मी, सेरिस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेंग, रिड्डारा, स्काइ वेल, बिवाइडी, फोटोन, बिएडब्लु ब्रुम्बी, जेटवाइ एयर, ब्लाभाल, एलएस अटो, जिनपेङलगायतको सहभागिता रहनेछ । त्यस्तै, दुई पाङ्ग्रे सवारीमा हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा रहनेछन् । हल्का व्यावसायिक सवारी (लाइट कमर्सियल भेहिकल) तर्फ न्यू गोनो, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सिजी केवाइसी÷किङलङ, मोन्ट्रा, स्काइवर्थ, काइनिउ, कावेइ÷नाभेको, सन् लङ लगायतका १३ वटा स्टल रहनेछन् । अटो पार्टपुर्जा तथा सहायक उपकरणहरू (कम्पोनेन्ट) मा एसियन, गल्फ, डकह्याम्स, एटीएस एलजिआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स÷कुरुमा, मास्सिमो नेपाल, मिकेलिन, लिक्वी मोली, एसटीसी राइड÷इनर्जी, सिएट टायर, जेके÷गुड टायर, स्पाइसर, भल्कन, आईटिआर÷एटीएफ÷युएसबी÷होबे, सीवाईजी, केपीआई एन्ड कोहिनूर, म्यानाटेक, बिद्युत सवारी चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टड्स÷एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पिएलओ आदि कम्पनीको व्यापक उपस्थिति रहने नाडाले जनाएको छ। यसका लागि ४० भन्दा बढी स्टल रहनेछन् ।

विशेष आकर्षणहरू

यस वर्षको अटो शोमा मेड इन नेपाल प्याभिलियन, विन्टेज कार प्याभिलियन, अटो संवाद (नीति तथा प्रवृत्तिसम्बन्धी छलफल), इटेरी र क्याफे विशेष आकर्षण हुनेछन्। साथै, एक विशेष प्रदर्शनी छिट्टै सार्वजनिक गरिने नाडाले जनाएको छ । यस संस्करणको प्रमुख प्रायोजक एमएडब्ल्यू समूह हुनेछ, जसले एक नवीन तथा प्रतियोगिताबिहीन उत्पादनमार्फत प्रदर्शनीमा सहभागिता जनाउनेछ । नाडा अटो शो २०२५ सवारीसाधनप्रतिको जनचासो, प्रविधिको भविष्य र नेपालको नवप्रवद्र्धनको उत्सवको रूपमा मनाइने अपेक्षा आयोजकले राखेको छ ।