प्रदेश अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्र चुनौतीपूर्ण


काठमाडौं।

प्रदेशको समग्र अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रमा चुनौतीपूर्ण अवस्था देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार बागमती प्रदेशको कृषि क्षेत्रमा खाद्य बाली लगाइएको क्षेत्रफल ५.३ प्रतिशतले घटेको छ र उत्पादन पनि ४.३ प्रतिशतले घटेको देखिएको छ। मुख्य अन्नबाली जस्तै धान, मकै, कोदो, गहुँ र जौको उत्पादनमा गिरावट आएको छ। यद्यपि, फापरको उत्पादन ४.४ प्रतिशतले र तरकारी उत्पादन २१.८ प्रतिशतले वृद्धि भएको छ।

पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन २.२ प्रतिशत, मासुको ३.१ प्रतिशत र अण्डाको उत्पादन ०.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट कृषिमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेर १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ, जसमा काठमाडौँ जिल्लाको हिस्सा ४८.५६ प्रतिशत रहेको छ।

त्यस्तै उद्योग क्षेत्रमा औसत उत्पादन क्षमता उपयोग ३३.८ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४१ प्रतिशतभन्दा कम हो। जलविद्युत उद्योगले सबैभन्दा बढी ९९.९ प्रतिशत उत्पादन क्षमता उपयोग गरेको छ भने औषधि उत्पादन (ओइन्टमेन्ट) गर्ने उद्योगमा यो मात्र ७ प्रतिशत रहेको छ। यद्यपि, बियर, हल्का पेय पदार्थ, विद्युत, पशु दाना र चुरोट उत्पादन उद्योगमा उत्पादन बढेको छ।

उद्योग क्षेत्रमा प्रवाहित कर्जा ३६.६ प्रतिशतले बढेर ११ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जसमा काठमाडौँ जिल्लाले ९२.४ प्रतिशत हिस्सा ओगटेको छ। सेवा क्षेत्रमा समेटिएका होटलहरूको औसत अकुपेन्सी रेट ५१.४ प्रतिशत रहेको छ । उद्योग क्षेत्रमा प्रवाहित कर्जा ३६.६ प्रतिशतले बढेर ११ खर्ब ७९ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जसमा काठमाडौँको हिस्सा ९२.४ प्रतिशत रहेको देखिन्छ।

बागमती प्रदेशको कूल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा २२ खर्ब ३० अर्ब २३ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ। यस आधारमा बागमती प्रदेशको राष्ट्रिय अर्थतन्त्रमा योगदान ३६.५२ प्रतिशत रहेको छ ।

प्रदेशको गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.०१ प्रतिशत छ भने कृषि क्षेत्रले ११.८ प्रतिशत र उद्योग क्षेत्रले ११.१ प्रतिशत योगदान गरेका छन्।
यसैगरी सेवा क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेर १९ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। प्रदेशमा संकलन भएको कुल निक्षेप ७.९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाहमा १९.३ प्रतिशतको वृद्धि देखिएको छ ।
यसैबीच कोशी प्रदेशको कृषि तथा औद्योगिक क्षेत्रमा मिश्रित परिणाम देखिएको छ। नेपाल राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनअनुसार समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.८ प्रतिशतले घटेको छ। कोदो, फापर, जौ, सुर्ती, आलु र मकैको क्षेत्रफलमा कमी आएको हो। यद्यपि, कुल उत्पादनमा भने २.०३ प्रतिशत वृद्धि देखिएको छ। खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २ प्रतिशत, तरकारी ५.४ प्रतिशत, फलफूल २.९ प्रतिशत, चिया ०.८ प्रतिशत र कफी १.६ प्रतिशतले बढेको छ। मसलाको उत्पादन भने ९.९ प्रतिशतले घटेको छ।

सिँचाइ सुविधा हाल कुल खेतीयोग्य क्षेत्रफलको ४०.८ प्रतिशतमा पुगेको छ। पशुपालनतर्फ दूध, मासु, अण्डा र माछाको उत्पादनमा वृद्धि भए पनि ऊन उत्पादन २.२ प्रतिशत र काठ उत्पादन ११.९ प्रतिशतले घटेको छ। औषधिजन्य र अन्य वनजन्य उत्पादन क्रमशः २६.१ र ४ प्रतिशतले बढेका छन्।
उता, कृषि क्षेत्रमा प्रवाहित कर्जा ५.०२ प्रतिशतले घटेको छ र कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.७ प्रतिशतमा झरेको छ।

उद्योगतर्फ, नमुना उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ४८.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४१.७ प्रतिशतभन्दा राम्रो हो। भटमास तेल उद्योगले १०७.१ प्रतिशत उत्पादन क्षमताको उपयोग गर्दै उत्पादनमा ६४१.१ प्रतिशतको वृद्धि गरेको छ। तर, घरेलु धातु उत्पादन उद्योगको क्षमता उपयोग ४.३ प्रतिशतमा झरेको छ र उत्पादन ७९.५ प्रतिशतले घटेको छ।

यस अवधिमा उद्योगहरूमा कार्यरत श्रमिक संख्या २ प्रतिशतले घट्दै १७,३६२ मा सीमित भएको छ। कुल औद्योगिक रोजगारमध्ये ९१.६ प्रतिशत स्वदेशी र ८.४ प्रतिशत विदेशी कामदार रहेको प्रतिवेदनले जनाएको छ। औद्योगिक कर्जा भने ५.६ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।