काठमाडौं।
किया नेपालले नेपाली बजारमा अल न्यु किया के३ सेल्टोस सार्वजनिक गरेको छ। काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहबीच कम्पनीले तेस्रो पुस्ताको यो एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार नयाँ के३ प्लेटफर्ममा आधारित अल न्यु किया के३ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम तथा कार्यक्षमतामा व्यापक सुधार गरिएको छ। ठूलो तथा बलियो बडी संरचनासहित आएको यस एसयूभीले फराकिलो क्याबिन, उच्चस्तरीय आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी गरिएको छ।

भारतस्थित कियाको अत्याधुनिक उत्पादन प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ।
नयाँ सेल्टोसमा लेभल–२ एडास (ADAS), २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले तथा प्यानोरामिक सनरुफजस्ता आधुनिक विशेषताहरू समावेश छन्। कम्पनीका अनुसार यी सुविधाले यसलाई आफ्नो वर्गकै सबैभन्दा सुविधासम्पन्न एसयूभीमध्ये एक बनाएको छ।
सुरक्षातर्फ पनि यो मोडलले उच्च मूल्यांकन प्राप्त गरेको छ। अल न्यु किया के३ सेल्टोसले बीएनसीएपी (BNCAP) सुरक्षा परीक्षणमा ८१ मध्ये ७६.७ अंक हासिल गर्दै फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले उन्नत प्रविधि, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षामार्फत नेपाली ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गर्ने कियाको प्रतिबद्धता नयाँ सेल्टोसमा झल्किएको बताउनुभयो।

कम्पनीले नयाँ के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा थप विकल्प उपलब्ध गराउने विश्वास कम्पनीको छ।
अल न्यु किया के३ सेल्टोस हाल देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
मूल्य सूची :
HTK (O) : रु. ६८ लाख ९० हजार
HTK (O) IVT : रु. ७५ लाख ९० हजार
HTX (A) IVT : रु. ८५ लाख ९० हजार
X-Line (A) DCT : रु. ९५ लाख ९० हजार











प्रतिक्रिया