काठमाडौं।
नेपाली औषधि उद्योगका लागि गौरवको विषय बनेको छ। नेपाली औषधि उत्पादक कम्पनी म्याग्नस फर्मा प्रालि ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्वालिटी अचिभमेन्ट अवार्ड २०२६ प्राप्त गरेको छ।
गुणस्तर व्यवस्थापन, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताका आधारमा प्रदान गरिने उक्त अवार्ड युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च ले बेल्जियमको राजधानी ब्रसेल्स मा आयोजित विशेष समारोहमा प्रदान गरेको हो। सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले अवार्ड ग्रहण गरेका थिए।
अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै मास्केले यो सम्मान केवल म्याग्नस फर्माको उपलब्धि मात्र नभई समग्र नेपाली औषधि उद्योगको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठासँग जोडिएको विषय भएको बताए। उनका अनुसार यसले नेपालमा उत्पादित औषधिको गुणस्तरप्रति विश्व समुदायको विश्वास अझ मजबुत बनाएको छ।
कम्पनीका अनुसार उक्त अवार्ड गुणस्तर सुनिश्चितता, नवप्रवर्तन तथा औषधि उत्पादन प्रक्रियामा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता हो। सन् २००७ मा स्थापना भएको म्याग्नस फर्माले सुरुवातदेखि नै आधुनिक सोच, गुणस्तरीय उत्पादन र अनुसन्धानमुखी अभ्यासलाई प्राथमिकतामा राख्दै आएको छ।
वीरगञ्जको रामपुर टोकनीस्थित उत्पादन केन्द्रमार्फत कम्पनीले नेपाली बजारका लागि विभिन्न समूहका औषधि उत्पादन गर्दै आएको छ। विश्व स्वास्थ्य संगठन बाट निर्धारित WHO-GMP मापदण्ड तथा ISO प्रमाणन प्राप्त गरेको कम्पनीले अन्तर्राष्ट्रिय स्तरअनुसारको उत्पादन प्रक्रियालाई निरन्तर सुदृढ बनाउँदै आएको जनाएको छ।
नेपालमै पहिलोपटक केही महत्वपूर्ण औषधि उत्पादन गरी बजारमा ल्याउने प्रयासले पनि म्याग्नस फर्मालाई स्वदेशी औषधि उद्योगमा विशिष्ट पहिचान दिलाएको छ। प्रारम्भिक चरणमा ट्याब्लेट र क्याप्सुल उत्पादनबाट यात्रा सुरु गरेको कम्पनीले हाल छालासम्बन्धी क्रीम, आँखामा प्रयोग हुने औषधि, नाकमा हालिने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल औषधिसमेत उत्पादन गर्दै आएको छ।
स्वदेशी बजारमा सीमित नरही कम्पनीले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गरेको छ। भेनेजुएला र मौरिसस लगायतका देशमा औषधि निर्यात गर्दै म्याग्नस फर्माले नेपाली औषधि उद्योगको क्षमता विश्वसामु प्रस्तुत गरेको छ।
नेपालमा औषधि आत्मनिर्भरता अझै चुनौतीका रूपमा रहेको अवस्थामा स्वदेशी उत्पादनको विस्तार र गुणस्तर अभिवृद्धिमा म्याग्नस फर्माको योगदान महत्वपूर्ण मानिएको छ। प्रबन्ध निर्देशक मास्केले गुणस्तर, अनुसन्धान, उत्पादन विविधीकरण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा केन्द्रित कम्पनीको निरन्तर प्रयासले नेपाललाई औषधि उत्पादनमा थप आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यो सम्मानले नेपाली औषधि उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्ने क्षमता राख्छ भन्ने सन्देश दिएको छ। साथै, स्वदेशी उद्योगप्रति उपभोक्ताको भरोसा बढाउँदै नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ सम्भावनातर्फ अघि बढाउने अपेक्षासमेत गरिएको छ।











प्रतिक्रिया