धादिङ।
खानेपानी आयोजनाको निर्माण कार्य अनुगमनका क्रममा सरकारी प्राविधिक टोलीमाथि आक्रमण गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित पौवा क्षेत्रमा संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएको प्राविधिक टोलीमाथि कुटपिट गर्ने ४० वर्षीय सञ्जीव मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार धादिङवेशी सह–लगानी खानेपानी आयोजना तथा इजारा खानेपानी आयोजनाको निर्माण प्रगति निरीक्षण र सुपरिवेक्षणका लागि गएको टोलीले स्थानीय स्तरमा ढलान गरिएको बाटो प्रयोग गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। सोही क्रममा मल्लले प्राविधिक कर्मचारीहरूमाथि आक्रमण गरेका थिए।
घटनामा सब–इन्जिनियर सुरेश आले मगर सामान्य घाइते भएका थिए भने सुपरभाइजर हवेन्द्र कुमार यादव गम्भीर घाइते भएका थिए। यादवको टाउको तथा अनुहारमा गम्भीर चोट लागेपछि धादिङ अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि ललितपुरस्थित वि एण्ड वि अस्पतालमा रिफर गरिएको थियो। उनी हाल पनि उपचाररत रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमणका रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। सार्वजनिक विकास आयोजना अनुगमनमा खटिएका कर्मचारीमाथि भएको उक्त आक्रमणपछि दोषीलाई कानुनी दायरामा ल्याउन खोजी तीव्र पारिएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार पक्राउ परेका मल्लविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उत्तेजनामा आई कुटपिट गरेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
सरकारी आयोजना निरीक्षणमा खटिएका प्राविधिकमाथि भएको आक्रमणले सार्वजनिक विकास निर्माण तथा सेवा प्रवाहमा खटिने कर्मचारीको सुरक्षाबारे समेत प्रश्न उठाएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।











प्रतिक्रिया