काठमाडौँ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् । शुक्रवार अपराह्न भएको प्रेस बिफिङमा उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । उनले भने ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन् । केवल पाकिस्तानमा रहेका आतङ्कवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।’
दुई साताअघि भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा एक नेपाली र २६ भारतीय नागरिकको ज्यान लिने गरी आतङ्कवादी हमला भएको थियो । त्यसको जिम्मेवारी ‘द रेसिसटेन्स फ्रन्ट’ नामक धार्मिक कट्टरपन्थी समूहले लिएको थियो ।
‘यो समूह पाकिस्तानमा रहेको चिरपरिचित आतङ्कवादी समूह लश्कर ए तोइबाको एक मोर्चा हो भन्ने प्रसङ्ग मैले हिजो पनि कोट्याएको थिएँ’, उनले भने, ‘हामी चाँडै नै अनुगमन टोलीसँग फेरि भेट्दैछौं र यसअघि हामीले उपलब्ध गराएको जानकारीमा नयाँ कुराहरू समेट्दै साझा गर्नेछौँ ।’
पहलगाम घटनाको जवाफ भन्दै भारतले तीन दिनअघि पाकिस्तानका ९ स्थानमा हवाई कारबाही गरेको थियो । त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो क्रममा छ ।
प्रेस ब्रिफिङमा मिस्रीले सीमापारबाट धेरै निराधार जानकारीहरु बाहिर ल्याएको भन्दै भने , ‘मैले हिजोकै कुरालाई आंशिक रुपमा दोहो¥याएँ मलाई लाग्छ पाकिस्तानको छवि एउटा विश्वव्यापी आतङ्कवादको केन्द्रबिन्दु रहेको भन्ने कुराको कैयौँ उदाहरण रहेका छन्, जसबारे ठोस प्रमाणहरू भारतमा मात्र नभई विश्वभरका सरकार, अधिकारी र निकायसँग उपलब्ध छन् ।’
प्रतिक्रिया