एजेन्सी।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका छन् । पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिनले जनाएको छ ।
“रुसी पक्षले विजय दिवसको ८० औँ वार्षिकोत्सवको अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ। यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,” क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गरी उल्लेख गरेको छ ।
किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लङ्घनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
“युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ। यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लङ्घन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,” विज्ञप्तिमा भनिएको छ।
पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेका थिए । तर, उक्त युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौं पटक उल्लङ्घन गरेको आरोप लगाएका थिए।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका चार वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ र सन् २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।
प्रतिक्रिया