अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहने गरी फिल्म जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ।
फिल्मको फस्टलुक सार्वजनिक गर्दै जारी २ को निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ।
सङ अफ च्याब्रुङ स्लोगन राखिएको जारी २ २०८० सालको ब्लकबस्टर फिल्म जारीका निर्देशक उपेन्द्र सुब्बाकै लेखन र निर्देशनमा बन्ने छ। कवि उपेन्द्र सुब्बाको डेब्यु निर्देशन गरेको जारीले बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।
वैशाख तेस्रो साताबाट सुटिङ प्mलोरमा जाने फिल्ममा दयाहाङ, विजय र मिरुनाका साथमा ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखुलगायतले अभिनय गर्नेछन्।
बाँसुरी फिल्म्स् र कबड्डी फिल्म्स्को ब्यानरमा रामबाबु गुरुङले निर्माण गर्ने फिल्मको सम्पूर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिने जनाइएको छ। फिल्म यही वर्षको दशैँमा रिलिज गरिने जनाइएको छ।
प्रतिक्रिया