प्रेम, कौडा र पितृसत्ताको कथा सिन्दुरे जात्रा


प्रेममा सबै कुरा अनुकूल हुँदैनन्। कहिलेकाहीँ एउटा खेलले सम्बन्धको दिशा नै बदलिदिन्छ भने कहिलेकाहीँ कसैको अहंकारले प्रेमलाई नियतिको कठघरामा उभ्याउँछ। यस्तै प्रेम, अवरोध र सामाजिक बन्धनको कथा बोकेको निर्देशक सरोज पौडेलको नयाँ फिल्म सिन्दुरे जात्राको ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीवार काठमाडौँको बिग मुभिजमा आयोजित कार्यक्रममा सार्वजनिक चार मिनेटको ट्रेलरले बाबुराम र लक्ष्मीको प्रेमकथालाई केन्द्रमा राख्दै उनीहरूको सम्बन्धमा आइपर्ने उतारचढाव र त्यसको प्रमुख कारणका रूपमा कौडाको खेललाई अगाडि सारेको छ। फिल्ममा विजय बराल बाबुराम र अञ्जना बराइली लक्ष्मीका रूपमा देखिएका छन्। उनीहरूको प्रेममा विनोद न्यौपानेको डिल्लीराम पात्र बाधक बनेर उभिएको छ।

डिल्लीरामको हस्तक्षेपले प्रेमिल जोडीको जीवनमा कस्तो परिस्थिति सिर्जना गर्छ भन्ने प्रश्न ट्रेलरले छाडेको छ। पिरियड ड्रामाको जनरामा निर्माण भएको फिल्म केवल प्रेमकथामा सीमित छैन। तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक सामाजिक व्यवस्थाले महिलालाई कसरी आप्mनो इच्छा र निर्णयविपरीत जीवन बिताउन बाध्य बनाउँथ्यो भन्ने पक्षलाई पनि फिल्मले उठाएको छ। प्रेम, विवाह र सामाजिक मान्यताबीच महिलाले भोग्नुपर्ने नियति फिल्मको अर्को महत्वपूर्ण पाटोका रूपमा देखिन्छ।

पूर्णबहादुरको सारंगीबाट दर्शकमाझ स्थापित निर्देशक पौडेल र अभिनेता विजय बरालको यो दोस्रो सहकार्य हो। सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका छन्। फिल्ममा विजय, अञ्जना र विनोदका अतिरिक्त उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायतका कलाकारले अभिनय गरेका छन्।

सारंगी फिल्म्स्को ब्यानरमा नेम महर्जनद्वारा निर्मित फिल्ममा राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट प्रड्युसर, अनिश अधिकारी लाइन प्रड्युसर र दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्। आगामी १८ गते रिलिजमा आउने फिल्ममा विशाल घिमिरे क्रिएटिभ डाइरेक्टर छन् भने प्रशान्त सिवाकोटीको संगीत, पदमबहादुर श्रेष्ठ (बाबु) को छाया“कन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।