काठमाडौं ।
हलिउडका चर्चित अभिनेता जोनी डेप आफ्नो अनौठो अभिनय र जीवनशैलीका कारण चर्चामा आइरहन्छन्। तर, उनको करिअरको सुरुवाती दिनसँग जोडिएको एउटा रोचक घटना अहिले फेरि चर्चामा आएको छ। नयाँ जीवनी पुस्तकले डेपले टेलिभिजन सिरिज ‘२१ जम्प स्ट्रिट’बाट बाहिरिनका लागि सुटिङ सेटमै अनेक अनौठा गतिविधि गरेको दाबी गरेको छ।
लेखक मार्क सिलको नयाँ पुस्तक ‘द मेनी फेस अफ जोनी डेप’मा उल्लेख भएअनुसार सन् १९८७ देखि १९९० सम्म प्रसारण भएको उक्त सिरिजमा अफिसर टम ह्यान्सनको भूमिका निभाएका डेप आफ्नो भूमिकाप्रति खुसी थिएनन्। टेलिभिजनले आफूलाई गम्भीर अभिनेता भन्दा पनि किशोरीहरूबीच लोकप्रिय ‘टिन आइडल’का रूपमा प्रस्तुत गरेको उनलाई मन परेको थिएन।
पुस्तकमा गरिएको दाबीअनुसार डेप एक दिन महात्मा गान्धीको भेषमा सुटिङ सेटमा पुगेका थिए। त्यतिमात्र होइन, आफ्नो ट्रेलर सफा नगरिएको विरोधमा उनले आफ्नै अन्डरवेयरमा आगोसमेत लगाएका थिए। क्यामेरामा आफ्नो चर्चित अनुहार नदेखियोस् भनेर अनुहारमा ब्यान्डेज लगाएर पनि सुटिङमा पुगेको पुस्तकमा उल्लेख छ।
डेपले सिरिजको सम्झौताबाट मुक्त हुन आफू निःशुल्क काम गर्नसमेत तयार रहेको बताएका थिए। विद्यालयभित्र प्रहरी अधिकारीलाई गुप्त रूपमा परिचालन गर्ने कथावस्तुप्रति पनि उनको असन्तुष्टि थियो। सन् १९९० को एक अन्तर्वार्तामा उनले विद्यालयमा प्रहरी परिचालन गर्ने अवधारणालाई नैतिक रूपमा गलत र फासीवादसँग नजिक रहेको टिप्पणी गरेका थिए।
सिरिजमा डेपसँगै अभिनय गरेकी अभिनेत्री होली रोबिन्सन पीटे पनि उनको व्यवहारबाट असन्तुष्ट भएको पुस्तकमा उल्लेख छ। डेपको लोकप्रियताप्रतिको असन्तुष्टि आफूले बुझ्ने भए पनि कामप्रति उनको नकारात्मक व्यवहारले अन्य कलाकारलाई समस्या परेको उनले बताएको पुस्तकमा उद्धृत गरिएको छ।
सन् १९८७ मा सुरु भएको ‘२१ जम्प स्ट्रिट’ले डेपलाई किशोर पुस्तामाझ निकै लोकप्रिय बनाएको थियो। सिरिजको पहिलो सिजनमा प्रतिएपिसोड ६ हजार अमेरिकी डलर पाउने उनको पारिश्रमिक तेस्रो सिजनसम्म पुग्दा ४५ हजार डलर पुगेको बताइएको छ। उनले चार सिजनमा अभिनय गरेपछि सिरिज छाडेका थिए।
डेपको यो व्यवहारबारे अहिले सार्वजनिक भएका विवरण नयाँ जीवनी पुस्तकमा आधारित दाबी हुन्। यसबारे डेपको प्रतिनिधिबाट प्रतिक्रिया आएको विवरण सार्वजनिक भएको छैन।








तपाईंको विचार लेख्नुहोस्