जार कथासँगै प्राविधिकरुपमा बलियो


आगामी वैशाख २६ गते रिलीजमा आउने फिल्म जारले नेपाली फिल्मलाई उचाइ दिलाउने दाबी यसको निर्माण पक्षले गरेको छ।
फिल्म विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाको दाबी छ।

‘विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ। त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु’ निर्देशक लामा भन्छन् ‘प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ। प्राविधिक पक्ष बलियो होस् भनेर पोस्ट प्रोडक्सनको कतिपय काम हामीले भारतमा गरेका छौँ।’ बजारमा को कलाकार कस्तो छन् भन्दा पनि कथाले कस्तो पात्र माग्छ त्यसका आधारमा कलाकार छनोट गरिएको र उनीहरुको प्रस्तुति अब्बल रहेको पनि निर्देशक लामाले बताए।


होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा फेरि टेल पिक्चर्सको व्यानरमा निर्मित जार साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो। फिल्मले सन् १८ सयको दशकमा नेपाली समाजमा भएका यथार्थ घटनालाई समेट्ने निर्देशक लामा बताउँछन्। ‘इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ। त्यसैले कथा जति राम्रो छ, त्यो भन्दा सिनेमा भिजोअल ल्याङ्वेजमा थप बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ। यो फिल्ममात्रै नभएर नेपाली समाजको दस्तावेज पनि हुनेछ’ लामाको भनाई छ। फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

गीताञ्जली थापा लायर्स डाइसबाट भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री हुन्। सिक्किममा छायांकन गरिएको फिल्ममा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेका छन्। नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलीज हुने फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, सरवानन इलावार्सुको छायांकन र अखिलेश राईको सम्पादन रहेको छ।