देशको राजनीतिक अवस्था अस्थिर र तरल रहेकाले जनताले अपेक्षा गरेअनुसार विकास, सुशासन, भ्रष्टाचारमुक्त समाज हुन सकेको छैन । देशमा राजनीतिक समझदारी कायम गरी विकास निर्माण र आर्थिक सुधार हुनुपर्नेमा हुन सकेको छैन। विकसित मुलुक निर्माण गर्ने लक्ष्य र योजना सरकार एवं राजनीतिक दलको हुनुपर्नेमा राजनीतिक दलहरु सरकार सञ्चालन र सरकारमा सहभागी हुनेमा मात्र लागिपरेको देखिएकाले जनताको अपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको चाहना पूरा हुन सकेको छैन।
नेपाली कांग्रेस देशकै ऐतिहासिक पार्टी भएको हुनाले देश र जनताको लागि यो पार्टी थप जिम्मेवार हुन जरुरी छ । कांग्रेसले राणा शासन, पञ्चायती व्यवस्थाको विरुद्धमा आन्दोलन गरी लोकतन्त्र स्थापना गर्नका लागि प्रमुख दलको हैसियतले नेतृत्व गरेको थियो। त्यस्तै २०४७ सालको संविधान निर्माण गर्न र २०६२/६३ सालको जनआन्दोलनको नेतृत्व गरी नेपाली जनताको चाहनाअनुसारको व्यवस्था ल्याउन कांग्रेसले नै प्रमुख भूमिका खेलेको थियो। लोकतान्त्रिक संविधान ल्याउन पनि कांग्रेसकै भूमिका रहेको थियो । यति बेला भएको नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समीकरण पनि स्वागतयोग्य छ। अब देशका लागि आवश्यक संविधान र कानुन संशोधनका लागि यो गठबन्धन सक्रिय रहनु आवश्यक छ। चुनावअघिदेखि कांग्रेसले सरकारको नेतृत्व लिने भएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ।
देशको अप्ठ्यारो तथा कठिन अवस्थाको नेतृत्व गरी संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गर्ने प्रमुख भूमिका पनि नेपाली कांग्रेसकै नेतृत्वमा सम्भव भएको हो । देशमा व्याप्त रहेको राजनीतिक द्वन्द्व, माओवादीको जनविद्रोहबाट देशमा ठूलो अशान्ति सृजना भएको बेला पनि देशमा शान्ति स्थापना गर्न कांग्रेसकै प्रमुख नेतृत्व रहेको थियो। आजसम्म आइपुग्दा देश र जनताले कांग्रेसकै नेतृत्व खोजिरहेको हुनाले देशको विकास, सुशासन, जनताको आर्थिक उन्नति गर्नका लागि अनि राजनीतिक स्थायित्वका लागि पनि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था र आवश्यकता छ। देशमा विकास र समृद्धि पूरा हुन नसकेको प्रमुख कारणमध्ये भ्रष्टाचार हो । त्यसैले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका कर्मचारीदेखि राजनीतिज्ञको समेत सम्पत्ति छानबिन गरी स्रोत नखुलेको सम्पत्ति जफत गरेर विकास निर्माणमा लगाउनुपर्छ।
देशमा भएका भ्रष्टाचार नै ठूला आयोजनाहरु, राष्ट्रिय स्तरका योजना र कुनै पनि विकास निर्माण समयमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण हो। भ्रष्टाचार मौलाएकै कारणले आर्थिक, सामाजिक विकास, सुशासन कायम गर्न सकिएको छैन। यसलाई सम्बोधन गर्न नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। साथै आम नेपालीलाई महसुस हुने गरी कानुन, नीति निर्माण गरेर जनतामा भरोसा हुने गरी कार्य गर्नुपर्दछ । अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकायलाई सफल र सक्षम बनाउनुपर्दछ । भ्रष्टाचार हरेक निकायमा सेटिङको प्रक्रियाबाट हुने भएको हुनाले भ्रष्टाचार हुने क्रियाकलाप पहिला बन्द गर्नुपर्दछ । लोक सेवामा प्रवेश गरी मालपोत, भन्सार, राजस्वमा संलग्न भई भ्रष्टाचारमा संलग्न रहेको व्यक्ति पनि अख्तियार र सम्पत्ति शुद्धीकरण कार्यालयमा आउन मिल्ने कानुनको कारण भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । त्यसैले नेपाली कांग्रेसले नै यस्ता बाध्यकारी कानुन संशोधन गर्न प्रमुख भूमिका निर्वाह गर्न जरुरी छ ।
देशभरि फैलिरहेको महँगीलाई नियन्त्रण गर्न औद्योगिक कानुन, ऐन, नियम व्यवस्थित गरिनुपर्छ । आम युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्नुपर्छ । उद्योग व्यवसाय र उत्पादनमा युवाहरुलाई जोड्नुपर्छ। देशमा उत्पादन कम हुँदै गएकोले महँगी बढ्दै गएको हो। खेतीपातीमा काम गर्ने युवाहरु विदेशिएपछि उत्पादनमा कमी आउनु स्वाभाविक हो। विदेशबाट सामान ल्याउनुपरेपछि महँगी बढ्दै जानु स्वाभाविक नै हो ।
यसै मेसोमा भन्नुपर्दा नेपाली कांग्रेस संसदीय व्यवस्था र लोकतन्त्रको पहिलो पहरेदार हो । अहिले पनि देशको प्रमुख पार्टी पनि कांग्रेस नै रहेको छ। सोहीबमोजिम देशको आर्थिक अवस्था सुधार गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनताले चाहेको सुशासन, आर्थिक उन्नतिमा कांग्रेसले विश्वासयोग्य वातावरण सृजना गर्नुपर्छ । आगामी निर्वाचनमा राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेसलाई बहुमतका साथ जनताले जिताउने नै छन् भन्ने हामीले विश्वास लिएका छौँ ।
त्यसका लागि कांग्रेसले पूर्वतयारी गर्नु आवश्यक छ। पार्टीका भ्रातृ संगठनहरुलाई नियमितरुपमा सक्रिय गरी आम नागरिक र समाजमा कांग्रेसप्रतिको विश्वास अनि भरोसा कायम गर्ने वातावरण निर्माण गर्नुपर्छ। यो पृष्ठभूमिमा र कांग्रेसले गरेको जनपक्षीय कार्यले आगामी निर्वाचनमा कांग्रेसको शानदाररुपमा बहुमत आउने अवस्था छ।
नेपालमा कांग्रेसमा प्रजातान्त्रिक र विधिअनुसार वडा समितिदेखि केन्द्रीय स्तरसम्म नेतृत्व गर्ने परम्परा रहिआएको छ। केन्द्रदेखि तल्लो तहका निकायसम्म कार्यकारिणी पद दुईपल्टको मात्र हुने व्यवस्थाले युवाहरुसमेत नेतृत्वदायी भूमिकामा पुग्ने अवस्था सृजना भएको छ। देशमा आर्थिक, सामाजिक विकासका लागि सरकारको नेतृत्व युवाहरुबाट समेत हुने अवस्था सृजना गर्न राजनीतिक पदहरु राष्ट्रपति एक व्यक्ति एकपटक मात्र हुनुपर्ने, प्रधानमन्त्री पनि एक व्यक्ति एकपटक मात्र हुने र पूरै कार्यकाल प्रधानमन्त्री पद सञ्चालन गरेको व्यक्तिले मात्र पुनः एकपटक प्रधानमन्त्री बन्न पाउने कानुन निर्माण गरी दुुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ। यस्तै स्थानीय निकायको प्रमुख, प्रदेशसभा प्रमुखदेखि प्रतिनिधिसभामा समेत एक व्यक्ति दुईपटकभन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था हुनुपर्छ ।
यति बेला नेपालमा देखिएको सहकारी समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्वभित्र रहनुपर्छ। लाखौँ जनताको बचत सुरक्षा हुनुपर्छ। जुन सहकारीमा समस्या देखिएका छन्, ती सहकारीहरुको बचतकर्ता, ऋणी, सञ्चालक समिति, विभिन्न उपसमितिहरुसमेत सहकारीकै सदस्य रहने हुनाले सहकारीलाई समस्याबाट मुक्त गर्न नसकिएको देखिन्छ। त्यसैले उपयुक्त नियम कानुन परिपालन गराई, सहकारीका विकृति–विसंगति हटाई, देशको आर्थिक अवस्था सुधार गर्नका लागि तीनखम्बे अर्थनीति अभिलम्बन गरी, किसान श्रमिक र उद्योगीको हितको लागि सहकारीको पूँजी परिचालन गरी, देशको आर्थिक व्यवस्था सुधार्नसमेत सहकारीमार्फत गर्न सकिन्छ। कुनै पनि देशमा चर्को ब्याज लिने–दिने क्रियाकलापले आर्थिक उन्नति र उत्पादन बढ्न सक्दैन।
बचतकर्ताहरुलाई १० देखि २४ प्रतिशतसम्म बचतमा ब्याज दिई सञ्चालन गरेकोलाई अवैध घोषणा गर्नुपर्छ । साथै उत्पादन र व्यवसायमा अवैध कारोबार रोक्ने उपाय अवलम्बन गर्नुपर्छ। १० प्रतिशतभन्दा बढी ब्याजको कारोबारलाई अवैध घोषणा गर्नुपर्छ। ऋण लगानी, चक्रवर्ती ब्याजमा लगानी चेकमार्फत गर्ने गरिएकोले चेकको कारोबार फौजदारी ऐनअन्तर्गत राखिएकोले त्यसलाई हटाउनुपर्छ। भ्रष्टाचारी, तस्करीको समेत रकमको लेनदेन चेकमार्फत गर्ने गरिएकोले तत्कालै त्यसलाई देवानी ऐनअन्तर्गत राख्ने ऐन कानुन बनाउनुपर्छ । बचतमा अधिकतम ८ प्रतिशत मात्र ब्याज दिनुपर्ने, ऋण लगानीमा अधिकतम १० प्रतिशत मात्र लिने व्यवस्था गरी नेपालमै सहकारीमार्फत सामूहिक कृषि, पर्यटन र उद्योगमा लगानी गरेर रोजगारी एवं सुदृढ आर्थिक अवस्था सृजना गर्नुपर्दछ ।
देशमा भइरहेको अस्थिर राजनीतिका कारणले जनताको विकास, समृद्धि, सुशासनको चाहना पूरा गर्न नसक्दा हालको व्यवस्था, राजनीतिक दल, नेताप्रति जनआकर्षण घट्दै गइरहेको छ। आम जनतामा राजनीतिप्रति निराशा पैदा भएको हुनाले सरकार र प्रमुख राजनीतिक दलहरु पद र पावरको लागि मात्र हाबी भइरहेको अवस्थाले आम नेपाली जनता आजित छन्। सबै पार्टीहरु मिलेर विकास निर्माण गर्नुपर्दछ। राजनीतिक द्वन्द्व न्यूनीकरण गर्न पनि प्रमुख दलहरु नै संगठित हुनुपर्ने अवस्था छ। मुलुकको यो अवस्थामा राजनीतिक निकास दिने प्रमुख शक्ति भनेको नेपाली कांग्रेस भएकोले यो पार्टीमा एकताबद्ध र संगठित हुन आम जनतालाई अपिल छ ।
(लेखक श्रेष्ठ नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १० ‘ख’ का सभापति हुनुहुन्छ ।)











प्रतिक्रिया