न्युजिल्यान्डका एन्डरसन अमेरिकी टोलीमा



लन्डन । 
अलराउन्डर कोरी एन्डरसनले यस पटक विश्वकप टी २० क्रिकेटमा अमेरिकाबाट खेल्ने भएका छन् ।

३३ वर्षीय एन्डरसनले अमेरिकाका लागि गत महिना डेब्यु गरेका थिए । न्युजिल्यान्डका नागरिक एन्डरसन अमेरिकामा बसोबास गर्दै अमेरिकाका नागरिक बनेका हुन् । यसपछि उनले यही वर्ष मार्चमा क्यानडाविरुद्धको घरेलु शृंखलामा अमेरिकाको प्रतिनिधित्व गरे । उनले टी २० शृंखलामा अमेरिकाका लागि अन्तिम खेलमा ४८ बलमा ५५ रन बनाएका थिए ।

एन्डरसनले न्युजिल्यान्डका लागि २०१२ देखि २०१८ सम्म गरी ९३ खेल खेलेका थिए । उनले न्युजिल्यान्डको तर्फबाट पनि तीन विश्वकप खेल्न पाएका थिए । २०१५ को एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्ड उपविजेता बन्दा उनी त्यस टोलीका प्रमुख खेलाडी थिए । यस्तै उनले न्युजिल्यान्डका लागि टी २० विश्वकपमा २०१४ र २०१६ का संस्करणमा खेलेका थिए ।

टी २० क्रिकेटमा दुई राष्ट्रबाट खेल्नेमध्ये एन्डरसन १९ औं खेलाडी हुन् । सहआयोजक राष्ट्र अमेरिकाले आगामी टी २० विश्वकपअन्तर्गत समूहमा पाकिस्तान, भारत, आयरल्यान्ड र क्यानडासँग खेल्नेछ । पहिलो खेल क्यानडासँग खेल्नेछ ।

सन् २०२० मा न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट संन्यास लिएका एन्डरसनले २०२२ मा अमेरिकाका लागि खेल्ने इच्छा गरेका थिए । उनले २०२३–२४ सिजनमा बीबीएलमा आबद्ध भए । २०१४, १ जनवरीमा एन्डरसनले एकदिवसीय क्रिकेटमा ३६ बलमा शतक प्रहार गरेर छिटो शतक बनाउने खेलाडीको श्रेय पाएका थिए ।

एन्डरसनले वेस्ट इन्डिजविरुद्ध १ सय ४१ बनाएर पाकिस्तानी खेलाडी शाहिद अफरिदीले श्रीलंकाव्रिरुद्ध ३७ बलमा शतक बनाएको विश्व कीर्तिमान तोडेका थिए । एक वर्षपछि दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले सन् २०१५ मा एन्डरसनको विश्व कीर्तिमान तोडे । डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक प्रहार गरेर छिटो शतकको विश्व कीर्तिमान रचे ।

प्रतिक्रिया दिनुहोस्