मिति फेरबदलको अराजकताले बक्सिंग रिङबाहिरै थन्किए प्रतिभा


कविरस शर्मा

नेपाली खेलकुदको व्यवस्थापन कतिसम्म गैरजिम्मेवार, दिशाहीन र खेलाडीविरोधी बन्दै गएको छ भन्ने ताजा र लज्जास्पद प्रमाण हो हजारौँ माइल पार गरेर आफ्‌नै देशको राष्ट्रिय खेलकुद खेल्न आएका एक स्वर्ण पदक विजेता बक्सरलाई रिङबाहिरै थन्क्याइनु । सातौँ राष्ट्रिय खेलकुदमा कांस्य र आठौँमा १९ वर्षकै उमेरमा एपीएफबाट स्वर्ण पदक जित्दै एक बहादुर घले, दिनेश श्रेष्ठ र सनिल शाही जस्ता दिग्गजलाई पराजित गरिसकेका बक्सर प्रकाश लिम्बू इजम जब आफ्‌नै माटोमा अपमानित भएर रमिते बन्न बाध्य हुन्छन्, तब आयोजकको सफलताको दाबी खोक्रो र हास्यास्पद साबित हुन्छ । एक तथ्याङ्क अनुसार झन्डै ७०–८० लाख नेपालीले विदेशमा श्रम गर्छन र उनीहरुको प्रतिनिधित्व गर्ने साझा संस्थाको रुपमा एनआरएनए रहेको छ । पारिवारिक बाध्यताले परदेशिनु परे पनि बहराइन डिफेन्स फोर्समा आबद्ध भई ओलम्पिक कांस्य पदक विजेता, ओलम्पियन प्रशिक्षक, एआईबीए थ्री स्टार कोच तथा टोनी डेभिस जस्ता उच्चस्तरीय प्रशिक्षकको निगरानीमा पूर्णकालीन अभ्यास गरिरहेका र ओलम्पिक छनोटसमेत खेलिसकेका खेलाडीलाई त्यही लाखौं परदेशीको प्रतिनिधित्व गर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) टोलीबाट खेल्न आएकालाई स्वागत र प्रोत्साहन गर्नुको साटो प्रशासनिक बेथितिले पन्छाइनु अक्षम्य अपराध सरह हो । आगामी दक्षिण एसियाली खेलकुदमा देशको झन्डा फहराउने सपना बोकेर पसिना बगाइरहेका खेलाडीको मनोबल गिराउने यस्तो रवैयाले खेलकुद नेतृत्वको नियत र क्षमतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

यस प्रकरणमा आयोजक र नेपाल बक्सिङ महासंघले देखाएको हचुवापनको जति निन्दा गरे पनि कम हुन्छ । एकातिर मध्यपूर्व र बहराइनमा युद्धको त्रास, ड्रोन आक्रमणको जोखिम र राष्ट्रिय सुरक्षाको आपत्कालीन अवस्थाका कारण सेनामा कार्यरत खेलाडीलाई अचानक बिदा सार्न असम्भव थियो, नेपाल दूतावास, बहराइन दूतावास र एनआरएनएको दौडधुपसमेत समयको साँघुरो घेरामा निष्प्रभावी बन्यो । तर, त्यो बाह्य बाध्यताभन्दा कैयौँ गुणा खतरनाक र निन्दनीय पक्ष त स्वदेशी खेलकुद निकायको चरम लापरबाही हो । मंसिर १६ देखि २७ सम्म १०औं बृहत राष्ट्रिय खेलकुद हुने भनेर आधिकारिक प्रचार गर्ने, सोही मितिको निम्तो पठाउने र खेलाडीले १० गते आइपुग्ने गरी टिकट काटेर तौल घटाउने तथा मानसिक तयारी गरिसकेपछि एकाएक मंसिर ९ गतेबाटै खेल सुरु गर्नु कस्तो प्रशासनिक अराजकता हो ? बक्सिङ जस्तो संवेदनशील खेल, जहाँ महिनौँको कठोर बन्द प्रशिक्षण र तौल सन्तुलन अनिवार्य हुन्छ, त्यहाँ निम्तो र वास्तविक खेल मितिबीच एक हप्ताको अन्तर पार्नुले आयोजकहरू खेलको प्राविधिक मर्मबाट पूरै अनभिज्ञ वा उदासीन रहेको पुष्टि गर्छ ।

अझ लाजमर्दो तथ्य त के छ भने मंसिर १६ देखि २७ भनिएको प्रतियोगिताअन्तर्गत बक्सिङ मंसिर ९ देखि १४ सम्म सञ्चालन गर्ने अन्तिम निर्णय मंसिर ५ मा मात्र गरियो, जसमा सुरुमा ९ देखि १३ गतेसम्मको तालिका तोकेर पछि १४ गतेसम्म तन्काइएको देखियो । खेल सुरु हुनुभन्दा मात्र चार दिनअघि तालिका फेर्ने यस्तो केटाकेटीपनले विदेशमा पसिना बगाएर देश सम्झिने खेलाडीको समय, श्रम र आर्थिक लगानीलाई सिधै रद्दीको टोकरीमा मिल्काइदिएको छ । ६५ केजी तौल समूहमा प्रतिस्पर्धीको भीड नरहेको र खेलाडी १० वा ११ गते बिहान आइपुग्ने स्पष्ट जानकारी हुँदाहुँदै पनि १२ गतेबाट खेल सुरु गराउने न्यूनतम विवेकसमेत महासंघले किन प्रयोग गर्न सकेन ? के महासंघलाई सक्षम खेलाडी रिङमा उत्रिएको देख्न नचाहने स्वार्थले गाँजेको हो, कि आफ्‌नै अव्यवस्था लुकाउन खेलाडीको भविष्य बलि चढाउन तयार भएको हो ? यदि नेतृत्वमा अलिकति पनि संवेदनशीलता र खेलभावना हुँदो हो त मिति समायोजन गर्नु कुनै महाभारत थिएन, तर यहाँ त खेलाडीको सपनाभन्दा प्रशासनिक सुविधा र हतारोलाई सर्वोपरि ठानियो ।

यस्तो बेथितिले राष्ट्रिय खेलकुदको औचित्यमाथि नै कालो धब्बा लगाएको छ । देशको कुनाकाप्चा र प्रवासमा छरिएका प्रतिभालाई समेटेर बलियो राष्ट्रिय टोली निर्माण गर्नुपर्ने निकायहरू नै आज प्रतिभावान खेलाडीलाई खेल्नबाट वञ्चित गराएर ‘सफल आयोजना’ को झुटो तक्मा भिर्न तल्लीन छन् । मिति कहिले एकथरी, कहिले अर्कोथरी हुने, निम्तो र मैदानको यथार्थ नमिल्ने यस्तो लथालिंग प्रणाली कायम रहेसम्म न त खेलाडीको आत्मसम्मान जोगिन्छ, न त अन्तर्राष्ट्रिय पदकको आशा नै गर्न सकिन्छ । प्रतिभावान बक्सरलाई रिङबाहिरै रोकेर आयोजकले आफ्‌नो प्रशासनिक जित त मनाउलान्, तर त्यसको भारी मूल्य भने सिंगो नेपाली खेलकुद र राष्ट्रले चुकाउनुपर्नेछ । अब पनि यस्तो गैरजिम्मेवार निर्णय गर्ने पदाधिकारीलाई जवाफदेही नबनाउने र तालिकाको अराजकता अन्त्य नगर्ने हो भने राष्ट्रिय खेलकुद प्रतिभा प्रस्फुटनको थलो होइन, खेलाडीको सपना मार्ने कारखानामा रूपान्तरण हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।